बाँके : कारागार र जिप्रकामा कैदी, थुनुवा कोचाकोच

दैनिक नेपालगन्ज

बाँकेका कानून ब्यवसायीहरुले कारागार कार्यालय बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको अनुगमन गरेका छन् । नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्द, अधिवक्ताहरु वसन्त गौतम, बिश्वजित तिवारी र चित्र बहादुर शाही सम्मिलित कानून ब्यवसायीहरुको टोलीले कारगार र हिरासतमा रहेका कैदी बन्दी र थुनुवाको अवस्थाका बारेमा जानकारी लिएका थिए ।

 

अनुगमनबाट कारागार र हिरासतमा क्षमता भन्दा बढी थुनुवाहरु रहेको पाइएको अनुगमनमा संलग्न अधिवक्ता वसन्त गौतमले जानकारी दिए । ४०० क्षमता भएको कारागार कार्यालय बाँकेमा हाल ६५५ जना कैदी बन्दी रहेका छन् । जसमा ५६ महिला र ५९९ जना पुरुष रहेको पाइएको गौतमले बताए ।

 

प्रहरीमा कोचाकोच थुनुवा

प्रहरी हिरासतमा पनि कोचाकोच थुनुवा रहेको पाइएको छ । २४ जना थुनुवाको क्षमता भएको पुरुष थुनुवा कक्षाका ३ वटा कोठामा जम्मा ५३ रहेका छन् भने ३ जना महिला थुनुवा गरी जम्मा ५६ जना थुनुवाहरु रहेका छन् । ५६ थुनुवाहरु मध्ये लागु औषध मुद्दाका मात्रै २३ थुनुवाहरु रहेको प्रहरी उपरिक्षक टेक बहादुर तामाङ्गले जानकारी दिए । त्यसपछि सार्वजनिक अपराधमा १३, मानव, चोरीमा ३, मानव बेचबिखनमा २, जवरजस्ती करणी उद्योगमा २, ठगी २ र ज्यान मार्ने उद्योग, सवारी ज्यान लगायतका मुद्दाका थुनामा रहेको नेपालगन्ज उच्च बार एशोसिएसनका अध्यक्ष बल बहादुर चन्दले जानकारी दिए ।

 

यसैबीच, हिरासत भ्रमणका क्रममा कानून ब्यवसायीले हिरासत निरिक्षक गर्नुका साथै हिरासत ब्यवस्थामा देखिएका कमी कमजोरी सुधार्न प्रहरी प्रमुखलाई आग्रह गरिएको अनुगमन टोलीले जनाएको छ । अनुगमनका क्रममा अधिवक्ताहरु बल बहादुर चन्द, वसन्त गौतम, बिश्वजित तिवारी र चित्र बहादुर केसीको टोलीले हिरासतको सरसफाई, शौचालय, खानेपानी, खानामा थुनुवाहरुले गुनासो गरेकाले त्यसको गुणस्तर सुधार्न प्रहरी प्रमुखलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया