लेनदेन विवादमा अपहरण !

भारतीय क्षेत्रमा प्रहरीले छापा मारेर पीडितलाई अपहरण मुक्त गराउन सफल भएको दाबी गरिएको छ

समाचारदाता
दैनिक नेपालगन्ज

अवैध बाटो भएर विदेश जाने चलनले गर्दा उत्पन्न भइरहेको समस्या अपहरणसम्म पुगेको छ । बाँके नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया स्थित नयाँ बस्तीमा बस्ने केशव गोडिया खाडी मुलुकमा रोजगारीका लागि जानु पर्ने भन्दै भारतीय नागरिक भारत श्रावस्ती घोडदौरिया बस्ने सलीम भन्ने नानु गुज्जरलाई ९० हजार रुपैयाँ बुझाएका थिए ।
एक महिना अघि बुझाएको रकम पछि पनि सलीमले विदेश नपठाएको विषयमा विवाद उत्पन्न भयो । भारतीय क्षेत्रबाट सलिमलाई पक्राउ गर्न सजिलो नभएका कारण केशवले सलीमको मोटरसाइकल नियन्त्रणमा लिए ।

 

एकसाता अघि मोटरसाइकल नियन्त्रणमा लिएको घटना सेलाउन नपाउँदै केशव अचानक हराएपछि परिवारमा खैलाबैला मच्यो । आइतबार दिउँसोबाट फोन सम्पर्क पनि हुन नसकेका केशवलाई इलाका प्रहरी कार्यालय भगवानपुरको टोलीले भारत पुगेर उनलाई अपहरण मुक्त गरायो ।

 

नेपालगन्ज आएका बेला सलीम र उनका ४ जना सहकर्मीको फन्दा परेका केशव गोडियालाई रकम फिर्ता गर्ने बहानामा बोलाएर भारत लगेको पीडितले दैनिक नेपालगन्जलाई बताए । ‘ज्यान लिनेसम्मको प्रयास भएको थियो’, केशवले भने, ‘मैले मोटरसाइकल नियन्त्रणमा लिएको र सो फिर्ता दिने र रकम फिर्ता लिने सहमति अनुसार भारत पसेको हुँ ।’ उनले भने, ‘अपहरण गर्ने विषय मेरो मनमा पनि आएन ।’ श्रावस्ती जिल्लाको घोडदौरियामा अपहरण गरि राखिएका केशवलाई मोटरसाइकल फिर्ता दिए मात्र छाड्ने विषय अघि सरेपछि सलीमका सहयोगी नरैनापुर गाउँपालिका वडा नं.४ बस्ने नन्कुने खाँले उनको घरमा पुगेर मोटरसाइकल फिर्ता लगेका थिए ।

 
प्रहरीका अनुसार, घटनामा नन्कुनेको पनि संलग्नता देखिएकोले सो तर्फ पनि कारवाहीका लागि अनुसन्धान बढाइएको छ । अपहरण कार्यमा संलग्नहरुको खोजी गर्न प्रहरीले सादा पोशाकको टोली परिचालन गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका सहायक प्रहरी निरीक्षक तथा निमित्त इन्जार्च परसुराम चौधरीले घटना बारे सबै अनुसन्धानहरु जिल्ला प्रहरी कार्यालय बाँकेबाट भइरहेको जानकारी दिए ।

 
घटना लेनदेन विवादको कारण भएको देखियो, सोमवार अपहरण मुक्त गराउन अप्रेशनमा खटिएका चौधरीले भने, ‘भारतीय क्षेत्रमा फरार भएका अभियुक्तलाई खोजीका लागि प्रयास भइरहेको छ ।’ भारतीय अभियुक्त बारे थाना मल्हीपुर श्रावस्तीलाई पनि सूचित गरिएको प्रहरी भनाइ छ । भारतीय क्षेत्रमा घटना भएकोले सो थाना क्षेत्रले आफुहरुले मुद्दा चलाउने जनाएपनि नेपाली प्रहरी अभियुक्तहरुलाई आफ्नो फन्दामा लिन प्रयासरत छ ।

 
‘प्रारम्भिक विषय त पीडितलाई अपहरणबाट मुक्त गराउनु नै थियो’, दैनिक नेपालगन्ज संग चौधरीले भने, ‘गोडिया सकुशल फेला परेपछि बाँकी अभियुक्तहरु विस्तारै फन्दामा ल्याउने तयारी छ ।’ गोडियालाई सोमबार नै परिवारको जिम्मा लगाइको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया