१८ अर्ब बढी लगानी
समाचारदाता
दैनिक नेपालगन्ज
गण्डकी विकास बैंकले नेपालगन्जमा आफ्नो शाखा शुभारम्भ गरेको छ । आइतबार औपचारिक कार्यक्रम बीच बैंकका अध्यक्ष जगन बहादुर गुरुङले नेपालगन्ज शाखाको शुभारम्भ गरे । गत बैशाख ५ गतेदेखि कारोबार सुरु गरेको गण्डकी विकास बैंकको नेपालगन्ज शाखा आइतबार औपचारिक कार्यक्रम बीच शुभारम्भ गरिएको शाखा प्रबन्धक हर्क बहादुर धामीले जानकारी दिए । शाखा शुभारम्भ गर्दै अध्यक्ष गुरुङले बैंक देशमै अग्रणी विकास बैंकका रुपमा स्थापित भएको जानकारी दिंदै साढे २० अर्ब निक्षेप संकलन गर्न सफल गण्डकीले साढे १८ अर्ब रकम लगानी गरिसकेको बताए ।
गत बर्ष बैंक अफ द इयर अवार्डबाट सम्मानित भैसकेको गण्डकीले बर्षेनी आफ्ना शेयरधनीलाई कम्तीमा २० प्रतिशत नाफा दिन सफल भएको जानकारी दिंदै अध्यक्ष गुरुङले यसैबर्ष असार मसान्तसम्म मेचीदेखि महाकालीसम्म देशैभरी ७७ वटा शाखा सञ्जाल बिस्तार गरिसकिने बताए । ‘हालसम्म ५९ वटा शाखा सञ्चालनमा ल्याइसकेका छौं’, नेपालगन्ज शाखा शुभारम्भ गर्दै अध्यक्ष गुरुङले भने, ‘२०६० सालमा स्थापना गरिएको बैंकलाई राष्ट्रिय स्तरको विकास बैंकका रुपमा स्थापित गराउन सफल भएका छौं ।’
मुलुककै सबैभन्दा बढी सेयरपूँजी भएको विकास बैंकका रुपमा स्थापित गर्न लागिएको गण्डकीले यही जेठ २५ गते बैंकको साधारणसभा गरी २ अर्ब ५५ करोड पूँजी पुर्याउने जानकारी कार्यक्रममा दिइएको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक नेपालगन्जका उपनिर्देशक कमल प्रकाश कालाथोकीले औद्योगिक कर्जाको तुलनामा कृषि कर्जा प्रवाह निकै कम भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुको त्यसतर्फ ध्यानाकर्षण गराए । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले बैंकले व्यवसायीलाई व्यवसायिक बनाउन सिकाइरहेको भन्दै बैंक तथा व्यवसायीहरुको दुरी पछिल्ला दिनमा नजिकिंदै गएको बताए । ‘तर, बैंकहरु पुरै सहरमूखि हुँदा गाउँको पूँजी परिचालन ठिक ढंगले हुन सकेन’, अध्यक्ष वैश्यले राष्ट्र बैंकको ध्यानाकर्षण गराउँदै भने, ‘बैंक तथा वित्तीय संस्थाहरुलाई सहर भन्दा बाहिर ग्रामीण क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले निर्देशित गरोस् ।’
बैंकका सञ्चालक बासुदेव त्रिपाठी, क्षेत्रीय प्रमुख मिलन पुन लगायतले गण्डकी विकास बैंकका विभिन्न विशेषता र आगामी योजनाहरुबारे कार्यक्रममा जानकारी दिए । फेवा विकास बैंक र गण्डकी विकास बैंक गाभिएर २०७४ असार २१ गतेदेखि राष्ट्रिय स्तरको विकास बैंक बनेको गण्डकीले देशभर शाखा सञ्जाल बिस्तार अभियानमा लागेको जनाएको छ । ‘यसैसाता धनगढीदेखि दाङ हुँदै पाल्पासम्म शाखा सञ्चालन हुँदैछ’, बैंकका अध्यक्ष गुरुङले भने, ‘अर्को चरणमा कोहलपुर, सुर्खेत, महेन्द्रनगर र तुलसीपुर शाखा बिस्तार गरिनेछ ।’
पोखरामा प्रधान कार्यालय रही सञ्चालनमा आएको गण्डकी फेवा विकास बैंकसँग गाभिनु अघि विश्व विकास बैंक र फेवा फाइनान्स गाभिएर फेवा विकास बैंक बनेका थिए । ‘पोखरामा स्थापित ३ वटा सबल वित्तीय संस्थाहरु गाभिएर सक्षम राष्ट्रिय स्तरको विकास बैंक बनाइएको हो’, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले भने । अधिकृत पूँजी ३ अर्ब रहेको गण्डकीले २ अर्ब ३० करोड जारी र १ अर्ब ८४ करोड चुक्तापूँजी बनाइसकेको जनाएको छ ।