फुटबलमा तरङ्गित हुँदै नेपालगन्ज (तस्वीरहरु सहित)

सकियो मेयर कप, एक महिना भित्रै नेपालगन्ज गोल्ड कप गर्ने तयारी

 

बिआर मगर

बाँके जिल्लामा लामो समय सुनसान रहेको फुटबल फेरि तरङ्गित भएको छ । शनिबार सम्पन्न मेयर कप फुटबल प्रतियोगिताले बाँकेको सुनसान फुटबल गतिविधिलाई ब्यँुझायो । दुई वर्ष अगाडि भएको नेपालगन्ज गोल्डकप पछि नेपालगन्जमा खासै ठुलो फुटबल प्रतियोगिता हुन सकेको थिएन । स्थानीय निकायको चुनावपछि मेयर कपले पनि पूर्नजन्म लियो । न्यून सामुदायिक र धेरै निजी विद्यालयको उपस्थिति रहेको मेयर कपले छात्र तथा छात्रा फुटबलमा नयाँ प्रतिभा खोज्न मद्दत गर्यो ।


शनिबार सम्पन्न मेयर कपमा छात्रतर्फ १४ वर्ष मुनि र १८ वर्ष मुनिका दुई दर्जन बढी विद्यालय थिए । छात्रातर्फ भने सामुदायिक तर्फको अमरज्योती मावि सँगै तीनवटा निजी विद्यालयहरु दिपज्योती, गुराँस चाइल्डहुड र मुनतारा थिए । छात्रा तर्फको र छात्र १४ वर्ष मुनिको उपाधि जनज्योतीले हात पार्यो भने १८ वर्ष मुनिका समुहमा जिभिएन कलेजको पोल्टामा पर्यो ।


समग्रमा विभिन्न कारणका बीच अन्तिम समयमा स्थगत भएको गोल्डकपको तिर्खा मेटाउने प्रयास मेयर कपले गर्यो । आयोजकले केही दिन भित्रमै गोल्डकपको नयाँ मिति तय गर्ने अनौपचारिक खबर पनि सुनिएको छ । आशा छ गोल्डकप हुने भयो भने बाँके जिल्लाको फुटबलले नयाँ गति लिनेछ । मेयर कपका आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही पनि एन्फामा आएको नयाँ नेतृत्वसँगै फुटबलमा केही परिवर्तन देख्न सकिनेमा आशावादी छन् । ‘नेपालगन्ज गोल्डकपले बाँकेको फुटबललाई पनि स्थापित गराउँछ’, शाहीले एक भेटमा भनेका थिए । शाहीका अनुसार, एक महिना भित्रै नेपालगन्ज गोल्ड कपको अर्को संस्करण गर्ने गरी तिव्र तयारी भैरहेको छ ।


मेयर कप भरी भएका प्रायजसो फुटबल म्याचहरु हेर्दा भने फुटबलमा सामुदायिक विद्यालयहरुको उपस्थिति टिठ लाग्दो छ । विशेष गरी छात्रा तर्फको जम्मा चार वटा टिममा एउटा अमरज्योती मात्र सामुदायिक विद्यालय हो । सी गाउँ नजिकको गुराँस चाइल्डहुडका विद्यार्थी आफ्नै विद्यालयको गाडी चढेर खेल खेल्न नेपालगन्जको प्रहरी ब्ययामशाला पुगे तर उनीहरुसँग खेल्नुपर्ने त्यही नजिकको अमर ज्योती भने बेलुका साढे पाँच बजे सम्म पुगेको थिएन । खासमा उनीहरु आउन नचाहेर होइन, न विद्यालयको गाडी छ न आफ्नै साधन एक जना प्रशिक्षक युवाले भाडाको गाडीमा सबैलाई बटुलेर ल्याउँदा बेलुका करिब छ बजे मात्र उनीहरु मैदानमा पुगेका थिए ।


सामुदायिक विद्यालयका प्रायः विद्यालयहरुको हालत नाजुक देखियो । सामुदायिक विद्यालयका टिम हेर्दा सबै एक एक जना बटुलेर ल्याएका जस्ता । प्रशिक्षणको कमी, टिमको तालमेल पनि कमजोर अनि विद्यालयको शिक्षक पनि नदेखिने । जर्सीको अभावमा कति सामुदायिक विद्यालयका खेलाडीहरुले आयोजकले दिएको विप्स लगाएर खेले । तर, निजी विद्यालयका सबै विद्यार्थी आफ्नै विद्यालयको गाडीमा खेल मैदान, एकनासको जर्सी, विद्यालयका शिक्षक र साथमा प्रशिक्षक । सामुदायिक र निजी विद्यालय बिचको चाँजोपाँजोमा यस्तो भिन्नता भएपनि सामुदायिक विद्यालयका विद्यार्थीहरुको खेलमा राम्रो सम्भावना देखिन्छ ।


यसै वर्ष नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद हुँदैछ । स्थानीय निकायको चुनावसँगै नेपालगन्जका विभिन्न खेलकुदहरुले तिव्रता लिएका छन् । राष्ट्रिय खेलकुद आउन धेरै समय छैन । पूर्वाधारको कामहरु अघि बढिरहेका छन् । बाँके जिल्लामा विभिन्न खेलमा राम्रो सम्भावना भएका खेलाडीहरु भएपनि खेल अनुसारको तयारी भने देखिदैंन । खेलकुद सम्बद्धहरु मिसन राष्ट्रिय खेलकुद भनेर दौडिरहँदा खेलकुदको तयारी राम्रो भएन भने नेपालगन्जमा राष्ट्रिय खेलकुद भएको थियो भन्ने मात्र हुन्छ । नेपालगन्जले फलानो राष्ट्रिय खेलकुदमा यस्तो पनि रेकर्ड कायम गरेको थियो भनेर भन्ने अवस्था बनाउनका लागि हरेक खेलकुदको तयारीलाई तिव्र पार्नु जरुरी छ ।


मेयर कपका नाममा यसबर्ष धेरै खेलका प्रतियोगिता सञ्चालन गरिरहेको नेपालगन्ज उपमहानगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको संकेत नगर प्रमुख डा. धवल समशेर राणाको भनाइबाट झल्किन्छ । डा. राणाले शनिबार मेयर कप समापनमा आगामी बर्षदेखि खेलको अझ स्तरोन्नती र सहभागिता बढाउँदै जाने प्रतिबद्धता जनाए । ‘माघ अगावै प्रतियोगिता हुन्छ,’ नगर प्रमुख डा. राणाले भने, ‘विद्यार्थीहरु नियमित प्रशिक्षणमा सहभागी भएर प्रतियोगितामा आउने वातावरण बनाइन्छ ।’


महिला तर्फका विजेतालाई पुरस्कार वितरण गरिरहेकी उपप्रमुख उमा थापामगर पनि प्रतियोगिता समापनमा खेलाडीहरु सँग उत्साहित ढंगले प्रस्तुत भएकी थिइन् । बाँके जिल्ला फुटबल संघका अध्यक्षमा भएको समापन समारोहमा प्रमुख, उपप्रमुख सँगै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामाङ, नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया