कुलमान घिसिङले नेपालगन्जका लागि १२ मेगावाट राष्ट्रिय प्रसारण लाइनबाट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
समाचारदाता
दैनिक नेपालगन्ज
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालगन्जको विद्युत आपूर्तिमा देखिएको समस्याका विषयमा चासो देखाएका छन् । उनले नेपालगन्ज र आसपासका क्षेत्रका लागि छुट्टै ब्यवस्था गरेर भएपनि समस्याको समाधान गर्ने विश्वास दिलाएका छन् । उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा निर्देशक घिसिङले यस्तो विश्वास दिलाएका हुन् ।
लोडसेडिङ अन्त्य भएको भनिए पनि बाँकेको नेपालगन्ज लगायत आसपासका क्षेत्रमा विद्युत सेवा अनियमित हुँदा समस्या हुने गरेको छ । अत्याधिक गर्मी हुने बाँकेमा बेला बेलामा हुने विजुली जाने समस्या छ । जसले गर्दा बाँकेबासीले निकै समस्या झेल्दै आएका छन् । झ्याप्प झ्याप्प बत्ती जाँदा एकातिर विद्युतीय उपकरण विग्रने समस्या छ भने अर्काे तर्फ अत्याधिक गर्मीले सास्ती भोग्नुपर्ने अवस्था छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य सहितको टोलीले विहिवार उर्जा मन्त्रालयमा बाँकेको विद्युत आपूर्तिमा भइरहेको समस्याका विषयमा उर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङलाई भेटेर परामर्श गरेको छ ।
सो भेटमा निर्देशक घिसिङले बाँकेको समस्या पाँच महिना भित्रमा दीर्घकालीन रुपमै समाधान हुने बताएका छन् । वाणीज्य महासंघका अध्यक्ष राणाले भारतवाट विद्युत आयात गरेर भए पनि बाँकेको समस्या समाधान गर्न आग्रह गरेकी थिइन् । तर, घिसिङले विद्युतीय समास्या समाधानका लागि अब भारतको भर पर्न नपर्ने बताएका छन् । उनले नेपालकै विद्युतको ब्यवस्था गरेर बाँकेको समस्या समाधान गरिने बताएको अध्यक्ष राणाले जानकारी दिइन् । ‘बाँकेको लागि छुट्टै ट्रान्सफरमरको ब्यवस्था गर्न लागिएको छ’, राणाले घिसिङको भनाई उधृत गर्दै भनिन्, ‘भारतवाट होइन नेपालकै विजुली अब बाँकेबासीले बाल्न पाउनेछन् ।’ उनले पाँच महिना भित्रै नेपालगन्जका लागि छुट्टै ट्रान्सफरमर ब्यवस्था गर्न लागेको राणा समक्ष बताएका छन् ।
नेपालगन्जमा अहिले आइरहेको क्षमता समेत बढाइने उर्जा मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले नेपालगन्जमा अहिले ८ मेघावाट विजुली दिइएकोमा अब बढाएर १२ मेघावाट बनाइने योजना रहेको जानकारी अध्यक्ष राणालाई दिएका छन् ।
यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी तीन वर्षमा नेपाल बिजुलीमा आत्मनिर्भर हुने बताएका छन् । उनले सरकार लगानीमैत्री वातावरण निर्माणमा केन्द्रित रहेको उल्लेख गरे । मन्त्री पुनले १० वर्षभित्र ९ प्रतिशतमाथि आर्थिक वृद्धिदर हासिल गर्नसकिने पनि बताए । आर्थिक समृद्धिको आधार नै ऊर्जा र सिँचाइ भएको भन्दै उनले निजी क्षेत्रसँग सहजीकरण गरेर अगाडि बढ्ने स्पस्ट पारे । पूर्व–पश्चिम राजमार्गमा ७६५ केभीए प्रसारणलाइन सुरु गर्ने तयारीमा रहेको पनि पुनले जानकारी गराए ।
महासंघकी अध्यक्ष भवानी राणाले औद्योगिक क्षेत्रमा भएको लोडसेडिङको अन्त्यले उत्पादन बढ्ने भएकाले मन्त्रालयले सो विषयमा ध्यान दिनुपर्ने बताएकी छन् । नेपालगन्ज वितरण केन्द्रका प्रमुख राम दुलार यादवले नेपालगन्जमा २४ मेगावाट विद्युत आवश्यक रहेको बताएका छन् । जसमध्ये भारतबाट ८ देखि १० मेगावाट सम्म प्राप्त भैरहेको छ । ‘नेपालबाट पनि अहिले ८ देखि १० मेगावाट विद्युत आइरहेको छ’, प्रमुख यादवले भने, ‘१२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण ग्रिडबाट नियमित आउने हो भने विद्युत समस्या समाधान हुनेछ ।’