दुर्घटनामा ज्यान गुमाएका शिक्षकका आफन्तद्वारा क्षतिपूर्ति माग गर्दै दबाब
समाचारदाता
दैनिक नेपालगन्ज
यात्रुवाहक विङ्गर गाडीले ठक्कर दिंदा एकजनाको ज्यान गएपछि कोहलपुरमा बिहिबार तनावको अवस्था सिर्जना भयो । बुधबार साँझ घर फर्किदै गरेका राम मावि हवल्दारपुरका शिक्षक ऋषिराम चापागाईलाई दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ज ६५५ नम्बरको विङ्गर गाडीले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको हो । घटनालाई लिएर बिहिबार पसल, व्यवसाय बन्द गराउँदै हिडेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ६ जनालाई फत्राउ गरी जिल्ला प्रहरी कार्यालय पठाएको बुझिएको छ ।
घटनालाई लिएर क्षतिपूर्तिको दाबी गर्दै आफन्त, विद्यालयका शिक्षक, विद्यार्थीहरुले दिनभरजसो इलाका प्रहरी कार्यालय कोहलपुरमा दबाब दिएका थिए । ‘लापरवाहीपूर्ण ढंगले घटना भएकाले मृतकका दुई सन्तानको सम्पूर्ण अध्ययन जिम्मा पीडकले लिनुपर्छ भन्ने हाम्रो माग हो’, आफन्त इश्वर पोखरेलले दैनिक नेपालगन्जसँग भने, ‘कानुन बमोजिम भनिएको क्षतिपूर्ति पीडितका लागि पर्याप्त छैन ।’ पोखरेलले यसअघि पनि विभिन्न दुर्घटनामा ३० लाखसम्म क्षतिपूर्ति दिइएका घटना स्मरण गर्दै भने, ‘कि सबैका लागि कानुन बमोजिम हुनुपर्यो कि यहाँपनि व्यवहारिक अवस्था हेरेर क्षतिपूर्तिको निर्णय गर्नुपर्यो ।’
कानुन बमोजिम ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको जानकारी दिंदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक बहादुर तामांगले कानुन बमोजिम कारवाही र क्षतिपूर्तिका लागि राज्य जिम्मेवार रहेको बताए । पीडितहरुले क्षतिपूर्तिको विषयलाई लिएर इलाका प्रहरी कार्यालय नजिक सडक आवागमन समेत अवरोध गरेका थिए । ‘सम्झाई बुझाई गरेर बन्द खोलाएका छौं’, इप्रका कोहलपुरका प्रमुख डिएसपी यज्ञ भट्टराईले भने ।
इप्रका कोहलपुरका अनुसार घटनामा संलग्न गाडी र चालक समेत रहेका गाडी धनी मोहन पन्तलाई प्रहरीले नियन्त्रणमा राखेको छ । ‘कानुन बमोजिम कारवाही गर्ने कुरामा कुनै शंका छैन’, डिएसपी भट्टराईले दैनिक नेपालगन्जसँग भने, ‘विद्यार्थी, शिक्षक र आफन्तहरुलाई सम्वादको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गर्दै बन्द खुलाएका छौं ।’ ४७ बर्षीय चापागाईको कक्षा ११ को परीक्षाका लागि सिट प्लानिङ सकेर घर फर्कने क्रममा कोहलपुर रामनगर चोक नजिक गाडीले ठक्कर दिई घटनास्थलमा ज्यान गएको हो ।