सबै महिलाका दुख उस्तै लाग्छन् । ३७ बर्षको उमेरसम्म आइपुग्दा मैले झण्डै ३७ हजार महिलाहरुलाई नजिकबाट देखे हुँला । ३ हजार ७ सय महिलालाई प्रत्यक्ष भेटे हँुला र ७ सय महिलाको जीवन पहिल्याए हुँला । ३७ जना महिलाहरु संग प्रायः संगत भै राख्छ । तर, यी जम्मै महिलाको पीडा उस्तै लाग्छ बरु खुशीका कारण र प्रसङ्ग फरक होलान बाच्ने तरिका र स्वभाव फरक होला भोग्ने जीवन र ब्यहोर्ने दुख चाहिँ एउटै र उस्तै उस्तै लाग्छन् ।
सुरुमा भेट्दा लाग्छ ओहो ! उनीहरु कति भाग्यमानी !! लोग्नेलाई नामले बोलाउँछन्, त तिमी सम्म भन्छन् । संगै घुम्नु, खानु जिन्दगी यो पो हो । यिनीहरु कति खुशी र आनन्दित छन प्रफुल्ल छन् । कठै कोही त अति विचरा छन् । ज्यूँ हजुर गर्छन्, लोग्नेले खाना खानुअघि खान पनि पाउँदैनन् । अझै जुठो थालमा खाना खानुपर्ने विचराहरु कति दुःखी छन् । जीवनमा जे छ प्रशस्त छ, त्यसकारण यिनिहरु प्रफुल्ल छन् वा केही पनि नभएर हद दुखिया छन् भन्ने लाग्थ्यो ।
तर, जब देखि । मैले बुझ्न थाले अनि अलि पछि धेरै धेरै बुझें । म बुद्धु रहेछु यसकारण कि जसको जीवन भब्य देखिरहेकी हुन्छु । उ झन् खोक्रो लाग्छ साधा र आधा लाग्छ । जस्को जीवन कमजोर देख्छु उ प्रेमिल र पूर्ण लाग्छ । पूर्ण देखिएका र आधा देखिएका दुवै महिलाले ब्यहोर्ने दुःख भनेको चाहिँ साझा दुःख रहेछ । मनमा लोग्नेको मायाको अनुभुति भएपनि स्वास्नीहरुको दिमागमा डर एकनास हुँदोरहेछ ।
समाज परिवार र सन्तानका अगाडि अनुहार उज्यालो देखाएपनि यौनिकताको किस्साले रातको अँध्यारोमा लोग्ने स्वास्नीले कटाउने भनेको भुईंखाटमै रहेछ । पत्नीले कुनै कारण बस पतिको आदेशमा नाइँ नास्ती गरिन् भने लोग्ने स्वास्नी बीच महिनौ बोलचाल बन्द हँुदोरहेछ ।
केही महिलाहरु सुरुमा लोग्नेको चिन्ता प्रेम र समर्पण बताउँछन् । अनि बताउँदै बताउँदै जान थालेपनि जीवनको गाठो फुकाउन थाल्छन् । पिरको मुल जड र तागत सम्भोग रहेछ जो कहिले मदिरा बनेर आउँछ कहिले त्रास त कहिले शक्ति । सबैभन्दा सुखी देखिएकी एकजना दिदीले धेरै बर्ष अघि भनेकी थिइन् । हेर केटी हो भाँडो ठिक हुन्जेल सबथोक ठिक हुन्छ जुन दिन भाँडो कुच्चिन थाल्छ तब सम्बन्धमा कलह सुरु हुन्छ । उनी पाठेघर फालेर आएपछि लोग्नेशीत हुन थालेका कलहका किस्सा सुनाउँथिन् हामीलाई ।
पत्निहरु लोग्नेको कमजोरी बर्षौ लुकाएर बस्न सक्छन् । अतिबाट जब अत्याचार हुन्छ अनि मात्रै महिलाका दुःख बाहिर आउन थाल्दछन् । तर, लोग्नेमान्छे स्वास्नी संगको सम्बन्धको किस्सा भट्टी गल्ली र जुवा अखडा सम्म पुर्याइहाल्छन् । जो लोग्नेमान्छे आफू कमजोर हुन्छ उ आफ्नी पत्नी संग अरु कसैको सम्बन्ध हुन्छ भन्ने कुरामै भयभित देखिन्छ । त्यहाँपनि मुद्दा यौनिकता कै हुन्छ हाँस्नु, बोल्नु, हिड्नु पनि सम्बन्ध हो तर यौन बर्जित मानसिकताकै कारण एक अर्काको निगरानीमा जोडी आफ्नो पुरै जिन्दगीको मजा लुटाइरहेको हुन्छ ।
जीवनमा अति सफल बनेको अभिनय गर्दा गर्दै पति पत्निको सम्बन्ध अति धूर्त बन्न सिक्छ । अति पाखण्डमा पारङ्गत हुन थाल्छ फट्याइँमा नटवरलाललाई मात गरिदिन्छ । अनि त्यस्तैहरुको ग्याङ बनाउँछ । नाम र दाम दुवै ढुक्कले कमाउँछ तर सम्बन्धको इमान जम्मै गुमाउँछ ।
समाज परिवार र सम्बन्धले महिलालाई हरेक प्रहर खबरदारी गरिरहेको हुन्छ । कतै कसैले जुठ्याउँछकी, कोही पल्किने र सल्किने पो हुन् कि, महिलाको शरिरको यस्ता खाले सरोकारभित्र आठ महिना देखि ८० बर्ष सम्मका महिला बलात्कारको शिकार भएका छन् । लोग्नेले स्वास्नीबाट चाहिने भन्दा बढी नै अपेक्षा राख्छ । सक्ने भन्दा बढी बोझ थुपारी दिन्छ तर आफुभने स्वास्नीका कुनैपनि विषयमा गम्भीर हुनै जान्दैन । तरपनि बाहिरबाट हेर्दा लाग्छ एक अर्काको सम्बन्ध खुरुखुरु आरामले चलिरहेको छ । व्यापार गर्ने हुन् या जागिर खाने खेती गर्ने हुन् या उद्योग धन्दा गर्ने सबै महिलाको कथा भनेको उहीँ जस्तो उस्तै जस्तो !
विवाह गरेको एकाध बर्षसम्म पति पत्नि बीच हुने तनाव आशक्ति र भोकको तनाव हो । विवाहको मध्यान्तरमा पतिपत्नी बीच फेरि गम्भीर समस्या देखिन थाल्छ । तर अन्तमा जबर्जस्त प्रेममा परिणत हुन्छ । त्यतिबेला न शरिरमा बल हुन्छ न घुम्न, खान, लाउन, रमाउन इच्छा हुन्छ । मान्छेले जीवन यसै त्यसै निखारिदिन्छ बिगारी दिन्छ सिध्याईदिन्छ र यो तनावको पहिलो र अन्तिम कारण या त यौन हुन्छ या त धन जसले असलमा मान्छे मान्छे रहदैन समस्याको पोको हुन जान्छ र यसमा सबैभन्दा बढी महिलाहरु नै पीडित हुन् पुग्दछन ।
जीवनको उकालो हिड्दा हिड्दै फेरि पनि माया लाग्छ एकअर्कालाई देखाउँदैनन् । रिस उठ्या छ पोख्न सक्दैन केही लागेको छ भनिहाल्न पाउदैनन्, लेखेर व्यक्त गर्न आउँदैन या सक्दैनन् । मनमा कुरा राख्छन्, जब मनमा भावनाहरुको जाम भएर मनमा तुफान चल्छ अनि सम्बन्ध पिडादायी बन्छ । यसरी पनि कयौंको जीवन आगो बनेको छ, पानी बनेको छ, जिन्दगी छ, यसकारण मुस्कुराउनुस्, हाँस्नुस् तपाईं एकजना हाँस्न थाल्नु भो भने तपाईले हाँसेको देखेर अरु १० जना हाँस्न थाल्छन् ।