नेपालगन्जगमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गुहार

सुरक्षा जोखिम, अब्यवस्था र सुविधा सुधार बारे उच्च अदालतमा रिट

समाचारदाता
दैनिक नेपालगन्ज

नेपालगन्ज विमानस्थलको स्तरोन्नती गरि अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न कानून ब्यवसायीले अदालत गुहारेका छन् । राजनीतिक रुपमा पहल हुनु पर्ने विषयमा चासो फितलो भएपछि सो बारे ब्यवस्था गर्न अदालतको सहारा थालिएको छ । अधिवक्ता लोक बहादुर शाह र बल बहादुर चन्दले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलाशबाट विपक्षी सरोकारवाला कार्यालयलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी भएको छ ।

 

रिटमा नेपालगन्ज नागरिक उड्डयन कार्यालय, कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई विपक्षी बनाइएको छ । रिटमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र नागरिक उड्डयन सम्वन्धी अन्र्तराष्ट्रिय मापदण्ड बमोजिम नेपालगन्ज विमानस्थमा यात्रुको सेवा, सुविधा र सुरक्षा, विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्ने अध्ययन, पहल र प्रयास बारे सोधी खोजी थालिएको हो ।

 
विविध कारणले हुन सक्ने हवाई दुर्घटना र प्राकृतिक विपद आगलागि, बाढी, भुकम्प लगायतबाट विमानस्थलमा हुन सक्ने मानवीय क्षतिलाई तत्काल उपचार र उद्धारको लागि आवश्यक पर्ने एम्बुलेन्स, चिकित्सक र औषधी सहितको स्वास्थ्यचौकी, दमकल, बारुणयन्त्र, बम डिस्पोजल टिम, उद्धार टिम आवश्यक अन्य सामग्रीहरु २४सै घण्टा विमानस्थल परिसरमा उपलब्ध हुने आदेश गर्न अधिवक्ताहरुको माग छ ।

 

हवाई यातायात सेवा लिने यात्रुहरुको लागि विमानस्थल परिसरका बैंक मुद्रा सटही काउन्टर समेत, करमूक्त पसल ड्यूटी फ्री शप, क्यूरियो पसल, पुस्तक पसल, सूचना केन्द्र, यात्रु कक्ष, विश्राम कक्ष, जेष्ठ नागरिक शारीरिक अशक्तता भएका यात्रु र महिलाका लागि विश्राम कक्ष लगायतको विशेष व्यवस्था गर्न रिटमा माँग गरिएको अधिवक्ता लोक बहादुर शाहले बताए ।

 

 

‘यात्रुको मालसमानको सुरक्षाको लागि लकर लगायत यात्रुको लागि सहज एवं प्रभावकारी सेवा र सुरक्षाको लागि आवश्यक पर्ने उपयुक्त प्रवन्ध गर्न रिट दायर गरिएको हो,’ अधिवक्ता शाहले भने, ‘वायुयानको आवाज नियन्त्रण र वायुयान सन्चालनबाट वायुमण्डल तथा वातावरणमा हुने प्रदूषण रोकथाम पनि आहिलेको लागि चिन्तायुक्त विषय हो ।’
सुरक्षित हवाई यातायात सेवा र पर्यटकीय विकास प्रर्वद्धनका लागि विमानस्थललाई अझ बढी सुरक्षित, गुणस्तरीय एवं विश्वसनीय बनाउन पूर्वाधार निर्माण लगायत आवश्यक व्यवस्थाका लागि आदेश गर्न भनिएकोमा विपक्षी कार्यालयलाई अदालतले लिखित जवाफ सहित उपस्थित हुन आदेश दिएको छ ।

 

 

हवाई यातायातका उपभोक्ताहरुले सहज र सहज ढंगबाट हवाई टिकटहरु उपलब्ध गर्न सक्ने गरी उचित व्यवस्था गर्न र नेपालगन्ज विमानस्थलबाट हुने प्रत्येक दिनको उडान विवरण, हवाई साधनको प्रयोग गर्दा लाग्ने भाडा तथा अन्य शुल्क, गन्तव्यस्थलमा पुग्ने समय समेतको दैनिक कार्यविवरण नियमित रुपमा सार्वजनिक गर्नु पर्ने दावी रिटमा छ ।
छिमेकी मुलुक भारतको सिमा संग जोडिएको, छिमेकी मुलुक चीनको मानसरोबर जोड्ने मूख्य द्वारको रुपमा रहेको, अन्र्तराष्ट्रिय विमानस्थल बनाउनको लागि आवश्यक पर्ने साधन श्रोतको उपलब्धता भएको र यस क्षेत्रको सर्वाङ्गिण विकास र आवश्यक्ता समेतलाई मध्य नजर गरी नेपालगन्ज विमानस्थललाई अन्तराष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न सरोकारवालाई आदेशको माग गरिएको अधिवक्ता बल बहादुर चन्दले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया