स्मृति देवकोटा
दैनिक नेपालगन्ज
नेपालगन्जका सडकहरु यातायातको साधन पार्किङ स्थल बन्दै गएका छन् । नेपालगन्जबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातहरुले सडकबाट नै यात्रुहरुलाई बसाल्ने र ओराल्ने गर्दछन् । डेढ बर्षमा निर्माण तयारी सक्ने गरी सुरु भएको अत्याधुनिक बसपार्क समयमै निर्माण नहुँदा यात्रु, स्थानीयबासी र स्वयं गाडीधनीहरु पनि समस्यामा परेका छन् । ‘सडकमा पार्किङ गर्नु हाम्रो रहर होइन,’ बसपार्क समयमा नबनेपछि कहाँ राख्ने भन्ने समस्या दर्शाउँदै गाडीधनीहरु भन्छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले नगर विकास कोष सँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बस पार्क निर्माण कार्य अगाडि बढाएको हो । निर्माण कम्पनी यूनाइटेड बिल्डर्ससँग भएको सम्झौता अनुरुप २०७२ चैत्र १८ गते काम सुरु गरी १५ महिनाभित्र निर्माण कार्य सक्नु पर्ने थियो । ठेकेदार कम्पनीले विभिन्न बहानामा निर्माण कार्य सुस्त गतिमा अगाडि बढाउँदा निर्धारित अवधी पूरा हुँदा पनि प्रगति न्यून देखिन्छ ।
बसपार्कमा पार्किङ्ग गर्न नपाएपछि पुष्पलालचोकदेखि बसपार्कसम्मको ट्राफिक व्यवस्थापन समेत अस्तव्यस्त देखिन्छ । सडकमै बस पार्क गर्दा पनि विकल्प दिन नसकिएपछि नियामक निकायहरुले समेत केही गर्न सकेको देखिंदैन । दैनिक ५ सय गाडीहरु ओहोरदोहोर गर्ने बसपार्क समयमा नबन्दा अप्ठेरो भैरहेको बताउँछन् भेरी अञ्चल यातायात व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेल । ‘ठूलो उत्साहका साथ सुरु भएको बसपार्क टर्मिनल कहिले सकिने हो भन्ने निश्चित छैन’, उपाध्यक्ष पौडेलले यसबारेमा उपमहानगरपालिकासँग पटकपटक अनुरोध गरिसकेको जानकारी दिंदै भने ।
‘पार्किङको असुविधा मात्रै होइन यातायातको सुरक्षाको दृष्टिकोणले पनि चुनौति देखिएको छ’, उपाध्यक्ष पौडेल भन्छन्, ‘सडकमा पार्किङ गर्दा दुर्घाटना जोखिम पनि उत्तिकै छ ।’ उनी व्यवसायीहरु स्थानीयबासीसँग मिलेर दबाबका लागि आन्दोलन नै गर्नुपर्ने मनस्थितिमा रहेको बताउँछन् ।
बसपार्क नहुँदा सडकमा पार्किङ्ग गरिएको बसमा गत साता आगलागी हुँदा ध्वस्त भएको थियो । उक्त बसमा विद्युत तार सर्टहुँदा आगलागी भएको थियो । ‘बसपार्क भएको भए बस सुरक्षित राख्न सकिन्थ्यो’, चालक बम बहादुर शाही भन्छन् ।
जथाभावी पार्किङ्ग गरिएका बसका कारण व्यवसायमा समेत नकारात्मक प्रभाव परेको त्यस क्षेत्रका व्यवसायीहरु बताउँछन् । ‘पसल अगाडि नै गाडी राखिएको हुन्छ, अनि ग्राहक कसरी आउन्’, व्यवसायी विशा शाही ठकुरीले भनिन् ।
स्थानीयबासिन्दा समेत रहेका न्यूरोड टोल सुधार समितिका महासचिव भीम बहादुर रानाभाटले सडकमा पार्क गरिएका बसको आड लिएर अनैतिक क्रियाकलाप हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यसले असुरक्षा समेत बढाएपछि वडा प्रहरी कार्यालयमा छलफल समेत गरेको छु ।’
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल समशेर राणाले समयमै काम नसकिएपछि ठेकेदारलाई असार मसान्तसम्म काम सक्न समय थप गरेको बताउँछन् । ‘थपिएको समयमा पनि ठेकेदारले काम नसकेमा हामी ठेक्का रद्द गर्नेछौं’, नगर प्रमुख डा। राणाले भने, ‘अर्को ठेक्का गरेर भएपनि उपमहानगरपालिकाले बसपार्क टर्मिनल बनाउने छ ।’