समाचारदाता
दैनिक नेपालगन्ज
किशोरा अवस्थाको शारीरिक परिवर्तन ब्यवस्थापन गर्न नसक्दा अचेल बाँकेमा प्रेम प्रसंगमा किशोर–किशोरी जोडी बाँधेर भाग्ने क्रम बढ्दो देखिएको छ । त्यसरी किशोर–किशोरीहरु नै जोडी बाँधेर भागेपछि अभिभावकले जिल्ला प्रहरी कार्यालयमा अपहरण शरीर बन्धक र जबरजस्तीकरणीको जाहेरी दर्ताको प्रयास गर्ने गरेका छन् । कानूनमा किशोरी भगाएको बारे कारवाही गर्ने प्रष्ट ब्यवस्था नभएका कारण प्रहरीले किशोरीलाई खोज्ने र उमेर नपुगेको हकमा उनीहरुको अभिभावकको जिम्मा लगाउने शिलशिला चल्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय र महिला बालबालिका सेवा केन्द्र बाँकेको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको अनुपातमा दैनिक २ वटा जोडी खोज्ने काम प्रहरीले गर्दै आएको छ । सेवा केन्द्रकी सहायक प्रहरी निरीक्षक श्याम कुमारी मगरले दिएको जानकारी अनुसार हरेक वर्षको तथ्यांक बढ्दो अवस्थामा छ ।
किशोरीको हेरचाह, अत्याधिक अनुशासन, दबाव र प्रभावले मन विचलित भई शारीरिक परिवर्तनको असरले कम उमेरमै प्रेम सम्बन्धमा फस्ने गरेको घटना अनुसन्धानकर्ताहरु बताउँछन् । ‘सामाजिक सञ्जालको प्रयोग, अश्लील दृष्य र सो बारे जान्ने तथा महसुस गर्ने उत्सुकताले एकअर्का प्रति आकर्षित गर्छ’, प्रहरीले भन्यो, ‘कम उमेर भएकालाई फर्काउने र बढि उमेर भएकाहरुको सहमति गर्ने विषयमा हामी काम गर्दै आएका छौं ।’
‘जिल्लामा मुद्दा दर्ता हुने सबै युनिटको विवरण एकत्र गरेर हेर्ने हो भने यो अनुपात निकै बढि हुन जान्छ’, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘किशोर किशोरीको स्थिति नियन्त्रण बाहिर नै रहेको अवस्था छ ।’ ‘हामी कानूनी उपचार मात्र गरिरहेका छौं’, दैनिक नेपालगन्ज संग कुरा गर्दै प्रहरी निरीक्षक विष्टले भने, ‘यो सामाजिक समस्या हो यसमा विद्यालय देखि घर र समाज सबैले महत्वपूर्ण भूमिका निर्वाह गरे मात्र नियन्त्रण र ब्यवस्थापन गर्न सकिन्छ ।’
‘किशोरी मात्र होइन विवाहित महिला पनि अर्कै संग जाने सिलसिला र सम्बन्ध विच्छेदको अवस्था चिन्ताजनक रुपमा अघि बढेको छ’, विष्टले भने, ‘महिलाहरु संग परामर्शमा कुरा गर्दा उनीहरुले भित्रि विषयमा बताउँदा कति कुरा पत्याउनै गार्हो हुने गरेको छ ।’ ‘श्रीमती भागेको, श्रीमान अर्कै संग लागेको वा श्रीमतीको अरु संग सम्बन्ध रहेको विषयमा विवाद हुँदा अन्ततः विषय सम्बन्ध विच्छेद सम्म पुग्छ’, विष्टले भने, ‘बाँकेमा यस्ता घटनाहरुकोे शिलशिला भयावह छ ।’ किशोरीहरुको अवस्था पनि सोही बमोजिम रहेको उनले बताए ।
‘प्रहरीको ब्यस्तता नै यस्तै केशहरु रहेको छ, अरु नयाँ र मनोवैज्ञानिक पद्दतीका काम बारे सोच्ने मौका नै हुँदैन’, विष्ट भन्छन्, ‘एक दिनमा १७ बढी घटना छलफल गराउने जिल्ला प्रहरी कार्यालयमा १७ मध्ये १५ वटा केश महिला संग सम्बन्धित नै हुन्छन् ।’ कलिलो उमेरमा किशोरीहरु भाग्ने गरेको विषय अझ गहिरो छ । बाँके प्रहरीले किशोरी खोज्दै अभिभावको जिम्मा लगाउँदै आएको छ । ‘धेरै दबाव भएपछि मुद्दा पनि चल्छ,’ अधिकारीहरु भन्छन्, ‘अधिकांश अवस्थामा मेलमिलाप गरेर दुबै पक्षलाई जिम्मा लगाउने गरिएको छ ।’
बाँके बलात्कार, घरेलु हिंसा, मानवबेचविखन, बहुविवाह, बालविवाहको अवस्थालाई मध्यनजर गर्दा सामाजिक समस्या संगै स्वास्थ्यमा पनि चुनौती देखिएको भनिएको छ । यस किसिमका घटना अनुसन्धान गर्ने प्रहरी अधिकारीले यी विषयहरु स्वास्थ्य संग पनि जोडिएको बताएपनि सो पक्षमा उपचार भइनरहेको गुनासो बाहिर आएको हो ।
‘खासगरि विद्यालयमा पठन पाठनको विषय नै योन हुनु पर्ने हो तर छैन’, विष्ट भन्छन्, ‘समाजले यौन शिक्षालाई जति लुकाइरहेको छ त्यस भन्दा बढि नै घटनाक्रम दोहोरिएका छन् ।’ विद्यालयमा शिक्षकले पनि प्रजनन् स्वास्थ्य बारे राम्रो अध्यापन नगराउने गरेको पाइएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा पारिवारिक विवाद, असमझदारी र घरेलु हिंसामा उजुरी दर्ता हुने शिलशिला क्रमले स्थिति ठिक नरहेको देखाएको हो । महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका उजुरीहरु बारे दुवै पक्षको छलफल गराउँदा सामान्य विषय भएपनि पारिवारिक अज्ञानता, असमझदारी र विचलनले उजुरी दर्ता हुने गरेको पाइएको प्रहरी सहायक निरीक्षक श्याम कुमारी मगरले बताइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आर्थिक वर्ष २०७२।०७३ मा ३२८, २०७३।०७४ मा ३९७ र हाल जारी रहेको आर्थिक वर्षमा हालसम्म १२६ वटा महिला र किशोरी संग सम्बन्धित उजुरी दर्ता भएको छ । त्यसैगरि महिला तथा बालबालिका हराएको विषयमा उजुरीको संख्या आर्थिक वर्ष २०७२।०७३ मा ३०५, २०७३।०७४ मा ३५३ र हाल जारी रहेको आर्थिक वर्षमा १०८ वटा रहेको छ ।
अलपत्र अवस्थामा फेला परेका र उद्धार गरिएका बालबालिका तथा महिलाको संख्या आर्थिक वर्ष २०७२।०७३ मा ७७, २०७३।०७४ मा ३१ र हाल जारी रहेको आर्थिक वर्षमा हाल सम्म १२ रहेको छ । सिमा नाकाबाट प्रहरीले आर्थिक वर्ष २०७२।०७३ मा ४४५, २०७३।०७४ मा ३०७ र हाल जारी रहेको आर्थिक वर्षमा हालसम्म ९१ जना महिला तथा बालबालिकालाई उद्दार गरेको छ ।