समाचारदाता
दैनिक नेपालगन्ज
जिल्ला प्रशासन कार्यालय बाँकेमा काम थाल्नु अघि प्रत्येक दिन ठिक १० बजे राष्ट्रगानका लागि अनिवार्य गरिएको छ ।
सोमबारदेखि नियमित सेवा सुरु गर्नु अघि राष्ट्रगान अनिवार्य गरिएको हो । ‘यो काम थाल्नु अघिको नियमित सपथ पनि हो’, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले दैनिक नेपालगन्जसँग भने, ‘राष्ट्रियता, कर्मचारी बीच आपसी अनुशासन लगायतका बहुआयामिक उद्देश्यका साथ राष्ट्रगान सुरु गरिएको हो ।’
ठिक १० बजे जिल्ला प्रशासन कार्यालय परिसरमा भेला भएपछि राष्ट्रगान सुरु हुन्छ । ‘त्यसबेला जो जहाँ छ त्यही उभिएर राष्ट्रगानप्रति सम्मान व्यक्त गरिनेछ’, प्रजिअ केसीले भने, ‘सबै कर्मचारी एकै ठाउँमा भेला भएपछि कोही आए, नआएको पनि एकिन गर्न सजिलो हुन्छ ।’ ‘सेवाग्राहीले पनि राष्ट्रसेवक कर्मचारीहरुको अनुशासन र राष्ट्रसेवालाई नजिकबाट अवलोकन गर्नुहुनेछ’, प्रजिअ केसीले प्रतिक्रिया र सुझावका आधारमा कार्यालयका सिर्जनात्मक गतिविधिलाई निरन्तरता तथा परिमार्जित गर्दै जाने बताए ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा ३८ जनाको दरबन्दी रहेपनि २८ जनामात्रै हाल कार्यरत रहेको बताइएको छ । सुरक्षाकर्मी सहित ५० जनाजति कर्मचारी पहिलो दिन राष्ट्रगानमा सहभागी थिए ।