क्याथल्याब परीक्षण
समाचारदाता
दैनिक नेपालगन्ज
भेरी अञ्चल अस्पतालमा मुटु सम्बन्धी जटिल उपचारको सफल परीक्षण गरिएको छ । सोमबार सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकहरु सहितको टोलीले मुटु सम्बन्धी जटिल उपचारको सफल परीक्षण गरेको हो ।
‘पश्चिम नेपालका सर्वसाधारणका लागि यो सुखद् खबर हो’, भेरी अञ्चल अस्पताल विकास समितिका सदस्य गोपिचन्द्र वर्णवालले दैनिक नेपालगन्जसँग भने, ‘सफल परीक्षण उपचारपछि अब छिट्टै नियमित उपचार व्यवस्था गरिनेछ ।’
भेरी अञ्चल अस्पतालमा मुटु सम्बन्धी उपचार व्यवस्थाका लागि सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराएको हो । गंगालालले आफ्नो अस्पतालबाट प्रवाह गर्दै आएको उपचार सेवा उपत्यका बाहिरका दुई अञ्चल अस्पतालमा विस्तार गर्ने क्रममा भेरी अञ्चल अस्पतालमा पनि सेवा सञ्चालन गर्न लागिएको हो ।
झण्डै साढे १० करोडको परियोजना पूर्णरुपमा सञ्चालनमा आएमा पश्चिम नेपालमा स्वास्थ्य उपचारका लागि ठूलो उपलब्धी हुने अस्पतालका पूर्व अध्यक्ष डा. बद्री चापागाईंको भनाइ छ । ‘यहाँका लागि यो ठूलो उपलब्धी हो’, डा. चापागाईले भने । डा. चापागाईले सरकार सँग नेपालगन्जमा मुटुरोग उपचार केन्द्रका लागि ‘क्याथल्याब’ सञ्चालनमा प्रस्तावना लेखनदेखि नै सक्रिय थिए । सोमबार गंगालालका मेडिकल डाक्टर ज्योतिन्द्र शर्मा, भेरी अञ्चल अस्पतालका कार्डियोलोजिष्ट डा. कृष्ण अधिकारी, डा. विपिन लगायतको टोलीले सफल परीक्षण उपचार गरेका हुन् ।