लोक बहादुर शाह
नेपालगन्ज प्रतिको बुझाई ः
नेपाल देशकै नामबाट परिचित नेपालगन्ज सहर नेपालकै प्राचीन सहर हो । धार्मिक, आर्थिक, औद्योगिक, पर्यटकीय र व्यापार व्यवसायको दृष्टिकोणले नेपालगन्ज सहर महत्वपूर्ण सहर मानिदै आएको छ । विभिन्न भाषा, धर्म, संस्कृति, भेषभुसा, जातजातीको बसोबास रहेको सवैको साझा फुलवारी नेपालगन्ज हो । मध्य तथा सुदुर–पश्चिम क्षेत्रकै व्यापारिक एवं शैक्षिक केन्द्रविन्दुको रुपमा नेपालगन्ज रहेको छ । हवाई तथा स्थलगत यातायातको सेवा सुविधाका कारण पनि नेपालगन्ज सदैव केन्द्रविन्दुमा नै रहने गरेको छ । राजनीतिक नेतृत्व र प्रभावका कारण पनि बाँके जिल्लाको विशेष महत्व रहेको छ ।
नेपालगन्ज प्राचीन सहर हुनुका साथसाथै धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, सामाजिक दृष्टिकोणले महत्वपूर्ण हुँदा हुँदै पनि नेपालगन्ज प्रति नागरिकका केही फरक बुझाई समेत रहेको पाइन्छ । नयाँ मुलक, तराई क्षेत्र, नेपालकै धेरै गर्मी हुने ठाउँ, भारतीय सिमा नजिक रहेको सहर, अव्यवस्थित र असुरक्षित सहर, फोहर र दुर्गन्धित सहर, डुवान हुने सहर, धेरै मच्छर लाग्ने सहर ठाउँ आदि आदि । यस्तै कारणहरुले गर्दा कसैले कुराकानीको क्रममा नेपालगन्जमा घर, पसल, व्यवसाय आदि छ भन्दा नाक खुम्च्याउने गरिएको सबैसामू छर्लङ्गै छ । अव नेपालगन्ज प्रतिका उल्लेखित सोच र दृष्टिकोणलाई चिर्दै नेपालगन्ज अहिले हरेक दृष्टिकोणले सुदृढ, सभ्य, सुरक्षित, सक्षम, व्यवस्थित र साधनश्रोतले सम्पन्न सहर बन्दैछ भन्ने कुराको अनुभूति दिलाउनुपर्ने समय आएको छ ।
नगर निर्माणको अठोट र पहल ः
नेपालगन्जलाई केही वर्षभित्रै उत्कृष्ट सहरको रुपमा चिनाउने उद्घोष नेपालगन्ज उपमहानगरपालिले गरेको छ । नेपालगन्जको मूल केन्द्रको रुपमा रहेको बजार एरिया त्रिवेणी मोड देखि त्रिभुवन चौक हुँदै भेरी अन्चल अस्पताल सम्मको सडक बाटो विस्तार र व्यवस्थित हुनुपर्ने बाँके वासीको सदियौं देखिको चाहना नेपालगन्ज उपमहानगरपालिकाको सकृयता तथा स्थानीय नागरिकहरुको सहयोगबाट यस वर्ष पूरा हुँदै छ ।
बजार क्षेत्रमा रहेका उद्योगी व्यापारी, नागरिकहरुले हानी, नोक्सानी र क्षति व्यहोरेर पनि स्वस्फूर्त रुपमा आफ्ना घर, पसलहरु आफै भत्काई सडकबाटो विस्तारमा सहयोग गरीरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगतका बाह्य र आन्तरिक सडक बाटो नालीहरु समेत नागरिक सहयोग र सक्रियतामा धमाधम निर्माण भइरहेका छन् । नगरक्षेत्रभित्रका र बाह्य सडकबाटो तथा नाली निर्माण कार्य सम्पन्न भएका खण्डमा अवउप्रान्त नेपालगन्ज डुवान हुने भय र त्रासबाट मुक्त हुने छ । यो नेपालगन्ज र समग्र बाँके जिल्लाकै ठूलो उपलब्धी हुनेछ ।
बाँके जिल्लामा रहेका राजनीतिक दल र नेतृत्व, स्थानीय तह, उद्योगी व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाज समेतले नेपालगन्ज सहरलाई सफा, सुग्घर, व्यवस्थित र समृद्ध होस् भन्ने चाहनाका साथ स्थानीय तह देखि प्रदेश हुँदै केन्द्र संग समन्वय गरिरहेको देखिन्छ । विकास निर्माणको सवालमा सवै पक्ष एकमत भएर अगाडि बढेमा केही वर्ष भित्रै यस सहरको र समग्र बाँके जिल्लाकै स्तरोन्नती हुने निश्चित छ ।
विकासको लागि ऐक्यवद्धता ः
व्यापारिक, आर्थिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक, राजनीतिक लगायत सवै दृष्टिकोण बाट सक्षम, सवल र महत्वपूर्ण मानिएको नेपालगन्ज र समग्रमा बाँके जिल्ला अझै विससित र समृद्ध हुन सकेको छैन । नेपालगन्ज र सिंगो बाँके जिल्लालाई विकसित जिल्लाको रुपमा रुपमान्त्रण गर्न सम्भाव्यताको भने कमि छैन ।
प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर जस्ता बाँके जिल्लामा रहेका दर्जनौ प्रसिद्ध मठ–मन्दिर, मस्दिज, गुरुद्वारा लगायतका धार्मिक स्थलहरुलाई व्यवस्थित रुपमा विकास गर्न सकियो भने धार्मिक पर्यटनमा वृद्धि हुनसक्छ । त्यसै गरी बाँके जिल्लामा रहेका अन्य पर्यटकीय क्षेत्रहरुको पहिचान गरी सु–व्यवस्थित ढंगबाट प्रचलनमा ल्याउन सकियो र प्रचार प्रसार गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । बाँके जिल्लाको धार्मिक र सामाजिक सहिष्णुता र भाईचारालाई कायम राख्दै स्वतन्त्र र शान्तिपूर्ण रुपले व्यापार व्यवसाय संचालन गर्न सकिने विश्वास दिलाउन सकियो भने ठूला–ठूला उद्योगहरु स्थापना हुन सक्छन् । विकास निर्माणको मामलामा बाँके जिल्लामा रहेका सबै राजनीतिक दल, नागरिक, उद्योगी व्यवसायीलाई एकमत बनाउन सकियो र विकासको लागि साझा धारणा बनाउन सकियो भने देशकै नमूना जिल्ला र सहरको रुपमा विकास गर्न सकिन्छ ।
नियमित सरसफाई ः
नगरक्षेत्रभित्र अहिलेसडक, बाटो तथा नालीहरु धमाधम निर्माण भइरहेका छन् । विकास निर्माणका कारण वजार एरियामा नै वायु तथा ध्वनी प्रदुषण पर्याप्त मात्रामा भइरहेको छ । ध्वनी, धुलो र वायु प्रदुषण बाट नागरिकको जनजीवनमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी निर्माणाधीन क्षेत्र र नगरक्षेत्रमा विहान ५ बजे भित्र र साँझ ७ बजेपछि दिनको कम्तीमा दुईपटक सडक, नाली सरसफाई गर्ने र सडक बाटोमा पानी हाल्ने कार्य गर्न अनिवार्य रुपमा गर्नु पर्दछ । निर्माणाधीन क्षेत्रमा नियमित रुपमा पानी हाल्नुपर्ने भनी उच्च अदालतबाट आदेश समेत भएको हुँदा सो आदेशको कार्यान्वयन समेत आवश्यक छ । सरसफाई र पानी हाल्ने अभियानमा नगरपालिकामा कार्यरत जनशक्ति र स्थानीय नागरिकको सहयोग एवं सहकार्यमा सहजै सम्पन्न गर्न सकिन्छ ।
फोहरमैला हुन नदिन घर, पसलको अगाडि र सार्वजनिक स्थानहरुका डस्टविनको उचित व्यवस्थापन गर्न सकिन्छ । सो कार्यका लागि सहयोगीहातहरु संग अनुरोध गरे पुग्छ उपमहानगरपालिकालाई व्ययभार पनि हुँदैन । आफ्नो घर, पसल र टोलमा फोहरमैला गर्ने गराउनेलाई सचेत गराउने परिपाटी समेत बसाल्नु पर्दछ । साथै आफ्नो घर, पसल, टोल आफैले सफा राख्नुपर्दछ भन्ने जनचेतना र कर्तव्य बोध गराउन समेत आवश्यक छ ।
नगर क्षेत्रको ठाउँ ठाउँमा राखिएका प्रचारात्मक सामग्री (होडिङ्ग बोर्ड)ले एकातर्फ नगरको मुहार नै कुरुप पारेको छ भने अर्कोतर्फ सवारी दूर्घटनाको कारक बनेको अवस्था छ । प्रचार प्रसारको लागि निश्चित स्थान तोकिनु पर्दछ । बजार क्षेत्रका भवनहरु र रंगरोगनमा एकरुपता कायम गर्न सकियो भने पनि सहर सुन्दर देखिनमा सहयोग पुग्ने छ ।
सुशासन र पारदर्शिता ः
सेवा प्रदायक सार्वजनिक निकायमा आसिन पदाधिकारी सदैव सकारात्मक र जनताप्रति उत्तरदायी हुनै पर्दछ । नगरपालिकाबाट प्रवाह हुने सेवा तथा प्रदान गरिने सुविधाहरुको बारेमा सर्वसाधारणलाई सहज रुपमा जानकारी गराई सर्वसुलभ ढंगबाट सेवा प्रवाह गरिनुपर्दछ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको गन्ध आउन दिनु हुँदैन । सार्वजनिक सेवा सेवाग्राहीको अनुभूतिबाट प्रमाणित हुने विषय हो । यस तर्फ विशेष ध्यान दिन आवश्यक छ ।
प्रचार प्रसार आवश्यक ः
नेपालगन्जमा वासस्थान र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका कार्यक्रम सम्पन्न गर्नमा कुनै पनि समस्या छैन । सुविधा सम्पन्न तारे होटेलहरु दिन प्रतिदिन बढीरहेका छन् । राष्ट्रिय तथा क्षेत्रीय स्तरका कार्यक्रमहरु दिन प्रतिदिन नेपालगन्जमा भईरहेकै छन् । नेपालगन्ज नजिकै रहेका खजुरा, कोहलपुर लगायतका क्षेत्रहरुमा समेत सुविधा सम्पन्न होटेलहरु रहेका छन् । हवाई तथा स्थलगत यातायात सेवा समेत सर्वसुलभ रुपमा उपलब्ध हुने गरेको छ । नगर तथा वरिपरीको क्षेत्र समेत दिन प्रतिदिन विकसित हुँदै गईरहेका छन् । बाँके जिल्लामा सुरक्षा व्यवस्था समेत चुस्त र दुरुस्त पार्नेक्रम जारी छ । धार्मिक, सांस्कृतिक, व्यवसायिक र पर्यटकीय दृष्टिकोणले समेत नेपालगन्ज क्षेत्र महत्वपूर्ण रहेको छ । नेपालगन्ज शैक्षिक हव भएको क्षेत्र समेत हो । साहित्य, कला, संस्कृति र खेलकुदको विकासको दृष्टिकोणले नेपालगन्ज अग्रणी स्थानमा रहेको छ ।
नेपालगन्जमा उपलब्ध भइरहेको सेवा, सुविधा, आकर्षण र तिव्र गतिमा भइरहेको विकास निर्माण तथा सम्भाव्यताको बारेमा सवै क्षेत्रबाट व्यापक रुपमा प्रचार प्रसार गर्न सकियो भने एकातर्फ नेपालगन्ज सहर र समग्र बाँके जिल्लाकै विकास हुनेछ भने अर्कोतर्फ हामी सफा, सुरक्षित र समृद्ध नेपालगन्जका नागरिक भएको पहिचान समेत हुनेछ । (लेखक शाह अधिवक्ता हुन्)