दुई वर्षमा २७७ गोरु बरामद, तस्कर फरार, प्रहरी नियन्त्रणबाटै हराउँछन् गोरु
समाचारदाता
दैनिक नेपालगन्ज
भारतीय क्षेत्रमा एक वर्ष अघिदेखि गोरुको मासुमा लागेको प्रतिबन्ध पछि नेपाली बाटो हुँदै विभिन्न देशमा गोरु तस्करीको जालो सक्रिय हुन थालेको गुनासो छ । भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि भएको प्रशासनिक फेरबदलको सिकार अहिले गोरु भइरहेका छन् । भारतीय क्षेत्रमा संरक्षण गर्न नसकेर छाडा रहेका चौपायालाई तस्करले शिकार बनाउँदै अवैध बाटो भएर बंग्लादेश र भूटानसम्म पुर्याउने गरेको तथ्य बाहिर आएको हो ।
बाँकेको भारत संग जोडिएको ग्रामीण नाका भएर कृषि प्रयोजनको लागि भित्र्याइएका गोरु मध्ये हराउने सिलसिला बढेपछि थालिएको अनुसन्धानमा प्रहरीले गोरु तस्करीको ठूलो जालो जिल्लामा सक्रिय रहेको र विदेशी क्षेत्रमा तस्करी भइरहेको जनाएको छ ।
कानूनी कारवाहीको सिलसिला कागजी ब्यवस्थापनका कारण कमजोर हुने गरेको बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बताए । ‘कृषि कार्यालयले कृषि प्रयोजनको सिफारिस गर्ने र क्वारेन्टाइन अनुमतिदेखि भन्सारको कागजसम्म दुरुस्त फेला परेपछि कारवाही हुन नसकेको हो’, एसपी तामांग भन्छन्, ‘गोरु तस्करी हुने गरेको विश्वस्नीय आधार भएपनि कागजी प्रमाणका अघि हामी मौन हुनु परेको छ ।’
प्रहरीले गत वर्ष २०० सय र चालु आर्थिक वर्षमा ७७ वटा गोरु भारतीय क्षेत्रबाट अवैध रुपमा भित्रिँदै गर्दा बरामद गरेको छ । ‘बाँकेमा कृषि प्रयोजनका लागि आउने गोरु कृषिमा प्रयोग नै नहुने गरेको पाइएको हो’, अनुसन्धानमा सक्रिय रहेका प्रहरी अधिकृतले भने, ‘गोरु तस्करी गर्ने गिरोह कानूनी र राजनीतिक रुपमा सबल हुने गरेकोले विना प्रमाण पक्राउ गर्न असजिलो हुने गरेको छ ।’
गत वर्ष तत्कालीन बाँकेका प्रहरी प्रवक्ता डीएसपी सरोज पौडेलले गोरु तस्करी काण्डमा सक्रियता देखाएपछि मन्त्रालय सम्मको दबाव आएको मीडियालाई प्रतिक्रिया दिएका थिए । ‘त्यति सजिलो तस्करी होइन’, प्रहरीले भन्यो, ‘तलदेखि माथिसम्म पूरै च्यानल फिक्स भएर मात्र गोरु तस्करी हुने गरेको छ ।’ तीन दिन अघि मात्र बाँकेको नरैनापुर गाउँपालिका वडा नं.३ कालाफाँटा प्रहरी चौकीले नियन्त्रणमा लिएको १४ वटा गोरु आन्तरिक मिलोमतोमा छाडिएको विवाद सेलाउन पाएको छैन । १४ वटा गोरु पक्राउको दावी गरिरहेको प्रहरीका हात अहिले खाली छ ।
‘गोरु भन्सार पुगेनन्, किसानको हातमा पनि छैन कहाँ गए भन्ने विषय अनुन्धानको रुपमा रहेको छ’, प्रहरी श्रोतले भन्यो, ‘रातीको समयमा पक्राउ गरिएका गोरु प्रहरी संलग्नतामा नै छाडिएको हो ।’
इलाका प्रहरी कार्यालय भगवानपुरका सहायक प्रहरी निरीक्षक परसुराम चौधरीले ६ वटा गोरु मात्र किसानको नियन्त्रणमा रहेको बताएका छन् । १४ मध्ये ८ वटा गोरु हराएको विषयमा उनले उक्त गोरु बरामद भएको बारे तथ्यहरु हात नलागेको बताए ।
कृषि कार्यमा गोरुको प्रयोग घटिरहेका बेला कृषि कार्यालय बाँकेको सिफारिस कृषि प्रयोजनको लागि गोरु रहेको सिफारिस बढिरहेको छ । भन्सार कार्यालयले कृषिका लागि गोरु आएको भनेर छाड्ने गरेपनि अवैधानिक कागजात, आशंका र अपुग प्रमाणको आधारमा प्रहरीले कारवाही गर्दै आएको छ । ‘राप्तीपारिको गोरु बारे मैले आफै पनि बुझेको छु’, दैनिक नेपालगन्ज संग कुरा गर्दै एसपी तामाङले भने, ‘हराएका गोरु बारे अनुसन्धान गर्दा फेला नपरेको तथ्य आएपछि कालाफाँटा प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक राम बहादुर खड्काको सरुवा गरिएको छ ।’
इलाका प्रहरी कार्यालय भगवानपुरका अनुसार, फेला परेका ६ वटा गोरु पनि स्थानीय बासिन्दाको नियन्त्रणमा छ । कानूनी कारवाहीको लागि भन्सार ल्याइएन । सहायक निरीक्षक चौधरीका अनुसार, ब्यापक अनुसन्धान पछि ६ वटा गोरु फेला परेका हुन् ।
नरैनापुर गाउँपालिका वडा नं.३ बस्ने खालिद खाँ, भूरे खाँ र आसफाक खाँ घरमा जनही २ का दरले ६ वटा गोेरु राखिएका छन् । प्रहरीका अनुसार, उनीहरु कृषि प्रयोजनका लागि भारतीय श्रावस्ती जिल्लाको जमुनाहा, चमरपुर्वा र लौकिहाबाट गोरु खरीद गरेर कालाफाँटाको अवैध बाटो हुँदै भित्र्याएका थिए ।
८ वटा गोरु बाँके राप्तीसोनारी गाउँपालिकाको बैजापुर नाका हुँदै सर्लाही तर्फ लगिएको श्रोतले जनाएको छ । प्रहरी मिलोमतोमा छाडिएको गोरु अर्कै टोली पुगेका कारण फन्दामा परेको थियो । कालाफाँटा प्रहरीले छाडेको १४ गोरु मध्ये ६ वटा गोरु इलाका प्रहरी कार्यालय भगवानपुर र सशस्त्र प्रहरी बल कटकुईयाले बरामद गरेको थियो ।
बाँकेमा ५ सयका दरले पनि गोरु खरिद गर्न गार्हो भइरहेका बेला सर्लाही र झापामा प्रति गोरु ५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको तस्करले बताएका छन् । विदेशी क्षेत्रमा अझ महंगो र मासु प्रयोजनमा बिक्री हुने गरेको बताइएको छ ।