अपराध नियन्त्रण, घटना अनुसन्धान र अवैध कार्य निगरानीका लागि सहरभरि क्यामेरा
दैनिक नेपालगन्ज
नेपालगन्ज नगरक्षेत्र अबदेखि क्यामेराको निगरानीमा राखिने तयारी थालिएको छ । बढ्दो आपराधिक क्रियाकलाप, अपराध र त्यसविरुद्ध सुरक्षाका लागि पूरै सहर सिसिटिभी क्यामेराको निगरानीमा राख्ने योजना अघि सरेको हो ।
तीन महिना अघि नेपालगन्जमा सिसिटिभी क्यामेरा ब्यवस्थापनका लागि गठन भएको २५ सदस्यीय समितिले प्रभावकारी रुपमा काम अघि सार्दै नेपालगन्जलाई प्राविधिक रुपमा सुरक्षित बनाउने कार्य अघि बढाएको छ । बाँकेका सरोकारवालाहरुको उपस्थितिमा नेपालगन्ज उद्योग वाणिज्य संघको संयोजनमा गठन भएको समितिले यसैसाता नेपालगन्जका १४ वटा चोकमा सिसिटिभी क्यामरा जडानको तयारी गरेको छ ।
‘नेपालगन्ज क्षेत्रमा रात्रिको समयमा हुने अपराधिक क्रियाकलाप, तस्करी र अमानवीय ब्यवहारलाई प्रहरीले २४ सै घण्टा निगरानी गर्ने तयारी अघि सरेको हो,’ दैनिक नेपालगन्ज संग कुरा गर्दै बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुुर तामांगले भने, ‘सुरक्षाका लागि क्यामरा निकै महत्वपूर्ण विषय हो ।’ ‘क्यामेरा जडानका लागि आवश्यक खरीद प्रक्रियाको विषय अघि सरेको छ,’ एसपी तामांगले भने, ‘नेपालगन्ज विस्तारै सुरक्षाको विषयमा संवेदनशील बन्दै गएपछि निगरानी र प्रमाणका लागि पूरै सहर क्यामरा मुनि राख्न लागिएको हो ।’
पहिलो बैठकबाट नै २ लाख ५२ हजार रुपैया संकलन गरेको समितिले सहरका १४ स्थानमा क्यामेरा जडान कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन थालेको हो । २५ लाख खर्च अनुमान गरिएको योजनामा रकम संकलन भइरहेको समितिले जनाएको छ ।
आवश्यकता अनुसारको रकम संकलन भइसकेपछि योजना अघि बढाइएको बताउँदै तामांगले प्राविधिक रुपमा सहरलाई सुरक्षा घेरामा राख्न खोजिएको प्ररी उपरीक्षक तामाङले जानकारी दिए । मुख्य विषय सडक दुर्घटना, आवागमन, चोरी र त्यस बमोजिमका अन्य अपराधालाई निगरानी गर्न अनिवार्य भएकोले क्यामरा जडानको योजना अघि सरेको हो ।
पुरानो जीर्ण अवस्थामा भइ बिग्रेका क्यामेरा पनि मर्मत सम्भार गरी चलाउने विषयमा समितिले काम गरिरहेका छ । ‘खासगरि ब्यक्तिगत रुपमा जडान भएका क्यामरालाई सार्वजनिक रुपमा पनि प्रयोग गर्न मिल्ने हिसाबले पहल अघि सारिएको हो,’ एसपी तामाङले भने, ‘प्रयोग गर्न मिल्ने स्थान बाहेकमा आफ्नो क्यामेरा जडान गरी सार्वजनिक स्थलको निगरानी बढाउने तयारी अघि सारिएको हो ।’ त्यसका लागि एउटा टोलीले सिसिटिभी क्यामेरा जडान भइसकेका घर, व्यवसायिक प्रतिष्ठानको लगत अध्ययन पनि गरिरहेको छ ।
बाँके धार्मिक, जातियता, समुदाय लगायतका विभिन्न दृष्टिकोणले संवेदशील क्षेत्र पनि मानिन्छ । भारतीय सिमाना संग जोडिएको जिल्ला भएकोले विदेशी आवागमन र त्यसमा हुन सक्ने सुरक्षा जोखिमलाई ब्यवस्थित गर्न क्यामेरा जडानको योजना अघि बढाइएको हो । ट्राफिक ब्यवास्थापन, शान्ति सुरक्षा कायम राख्न र अपराधिक क्रियाकलापहरु नियन्त्रण गर्न सिसिटिभी क्यामराले महत्वपूर्ण सहयोग गर्ने प्रहरी विश्वास छ । नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्रको धम्बोझी चोक, पुष्पलाल चोक, शिव मन्दिर, जमुनाहा नाका, बागेश्वरी मन्दिर, जिल्ला प्रशासन कार्यालय लगायतका अति संवेदनशिल ठाउँहरुमा यसअघि नै क्यामेरा जडान भएपनि विग्रिएको अवस्थामा छ ।
पुष्पलाल चोकस्थित दङगा नियन्त्रण प्रहरी गण, बागेश्वरी मन्दिर परिसरमा रहेको प्रहरी युनिट र जमुनाहा नाकाको इलाका प्रहरी कार्यालय जमुनाहाले निगरानी गर्ने ब्यवस्था सहित जडान भएका क्यमरा अहिले जीर्ण भएपछि नयाँ योजनामा काम भइरहेको बताइएको छ । नेपालगन्ज क्षेत्रका अन्य स्थानहरुमा पनि अत्याधुनिक सिसिटिभी क्यामेरा जडान गरेर प्रहरी निगरानी बढाउनु पर्ने मांग अघि सरेपछि सो बारे समिति गठन गरेर नै काम सुरु गरिएको बताइएको छ । यसअघि दैनिक नेपालगन्जले बिग्रिएका क्यामेरा बारे समाचार प्रकाशित गर्दै बाँके सुरक्षा संवेदनहीन रहेको तथ्य बाहिर ल्याएपछि समिति गठन गरि सो बारे गृहकार्य अघि सारिएको थियो ।











