बाँकेको दुर्गम क्षेत्रमा मुख्यमन्त्री

भारतीय सिमा सडक देखि बाढी प्रभावित क्षेत्र सम्म चासो

समाचारदाता
दैनिक नेपालगन्ज

भौगोलिक रुपमा विकास हुन नसकेका कारण दुर्गम रहेको बाँके राप्तीपारी क्षेत्रमा आइतबार मुख्यमन्त्री शंकर पोखरेल पुगेका छन् । राप्तीपारी पुगेका प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोखरेलले राप्तीपारि क्षेत्रको अवस्था, विकास हुन नसक्नुको कारण र स्थानीय बासिन्दाले सुधारका लागि आग्रह गरेको सन्दर्भमा खुलेर कुरा गरे । उनी नरैनापुर गाउँपालिका क्षेत्र संगै सिमा क्षेत्रमा भारतले निर्माण गरेको सिमा सडकको पनि अवलोकन गरे । नेपालगन्जबाट करिब ४४ किलोमिटर पूर्वी क्षेत्र नरैनापुर गाउँपालिकाको सिमावर्ती भारतीय क्षेत्र समेत अवलोकन गरेका मुख्यमन्त्री पोखरेलले सो क्षेत्र विकासमा पछि परेको स्वीकार गरे ।

 

 
मुख्यमन्त्री भएपछि पहिलो पटक राप्तीपारि पुगेका पोखरेलले विकासका लागि भरपर्दो पहल गर्ने बताएका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं.६ मा रहेको सिद्धेश्वर उच्च माविको स्वर्ण जयन्तीको उद्घाटनमा पुगेका पोखरेल कार्यक्रम लगत्तै नरैनापुर तिर लागे । दिउँसो नरैनापुर गाउँपालिकाको स्वागतमा ब्यस्त रहेका पोखरेल स्थानीय बासिन्दाहरुको गुनासो र समस्यालाई समेत स्वीकार गरिरहेका थिए । खासगरि राप्ती नदीको कटान, डुबान र बनजंगलमा रहेको अवैध कब्जा बारे स्थानीयहरुले उनको ध्यानाकर्षण गराएका छन् ।

 

 
‘एउटा जिल्लामा दुई किसिमको चित्र कायम रहनु हुँदैन’, जनतालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘कोहलपुर, नेपालगन्ज लगायतको पश्चिमी क्षेत्र हेर्दा राप्तीपारि कुनै पहाडी क्षेत्रको भूभागझैं देखिएको छ ।’
बाटोभरि धुलो, धुंवा र खाल्डोको सामना गर्दै नरैनापुरदेखि भारत श्रावस्ती जिल्लाको सिमाना सम्म पुगेका पोखरेलले भारतीय क्षेत्रमा सिमालाई प्रभावित गर्ने गरि भएको विकास निर्माणलाई पनि अवलोकन गरे । नरैनापुरबाट पूर्व सरसफाई राज्यमन्त्री दिनेश चन्द्र यादवको घरमा चियापान गर्न पुगेका पोखरेलले जनताको गुनासो र समस्या सुन्दै अघि बढ्दै थिए । मुख्य चासो राप्तीपारिको सुधार र विकास नै रह्यो, कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले भने, ‘खासगरि राप्तीपारि विद्युत र सडकलाई मुख्य प्राथमिकतामा राखियो ।’

 

 
भारतीय क्षेत्रको विकास निर्माण र त्यसबाट परेको प्रभावको समीक्षा गर्दै मुख्यमन्त्री पोखरेलले डुबान विरुद्ध ठूलो योजना संचालनको आवश्यकता रहेको औंल्याए । राप्तीपारिका विद्यालय, अन्य कार्यालयमा पनि छड्को घुमघाम गरेका उनले सबैको अवस्था सुधार गर्न आवश्यक देखिएको प्रतिक्रिया दिए । ‘शिक्षामा सुधार नभई कुनैपनि कुरामा सुधार सम्झव छैन’, मुख्यमन्त्री पोखरेलले भने, ‘राप्तीपारि क्षेत्र आफैपनि विकास र सुधारका लागि अघि सर्नुपर्छ ।’ सुईया नाकाबाट फर्किएका मुख्यमन्त्री पोखरेलले गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहको घरमा चियापान गरे ।
आधाघण्टाको अवधिमा स्थानीयबासीन्दाले स्थानीय क्षेत्रका विभिन्न मुद्दा बारे आफ्नो गुनासो राखेका थिए । सो क्रममा डुबान, बाटो र विद्युतले प्राथमिकता पाए । नरैनापुर वडा नं.१ का अध्यक्ष मोलहे शेषले भारतीय सडकका कारण डुबान झेल्नु परेको बताए ।

 

 
लक्ष्मणपुरबाट फिर्ता भएका मुख्यमन्त्री पोखरेल गंगापुर स्थित हालै आगलागी भएको १९ वटा घर र पीडितहरु संग भेटगरि आवश्यक राहत र सुविधाको आश्वासन दिए । ४ः३० बजे राप्तीपारिबाट फिर्ता भएका मुख्यमन्त्री पोखरेलले वनक्षेत्रमा रहेका अवैध वस्ती र समाधान गर्न सक्ने उपाय बारे पनि स्थानीय सरोकारवाला संग छलफल चलाएका छन् । पहिलो पटक मुख्यमन्त्री राप्तीपारि पुगेपछि स्थानीय बासिन्दा उत्साहित देखिएका थिए । स्थानीय क्षेत्रमा ब्याप्त समस्या बारे मुख्यमन्त्रीलाई गुनासो पोख्न पाएको अनुभव नै नौलो भएको बताए । सो क्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज, प्रदेशसभा सदस्य नमुना केसी, पूर्व राज्यमन्त्री दिनेश चन्द्र यादव, बाँकेका प्रहरी प्रमुख एसपी टेक बहादुर तामांग, लगायत स्थानीय वडा अध्यक्षहरुको समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया