छाडा पशुले खेतीमा करोड बढीको क्षति

समाचारदाता
दैनिक नेपालगन्ज

 
बाँकेमा बैमौसमी तरकारी, कृषि बाली र अन्य उत्पादनको प्रचुर सम्भावना भएको कृषि विशेषज्ञहरुको दावी बीच छाडा पशुका कारण त्यस्तो बाली असुरक्षित हुँदै गएको प्रति कृषकले चिन्ता ब्यक्त गर्न थालेका छन् ।
बाँकेमा डुडुवा, जानकी, राप्ती सोनारी र कोहलपुर नगरपालिका क्षेत्र बेमौसमी तरकारी र अन्य बालीका लागि प्रख्यात छन् । मौसम अनुसार हुने उत्पादन भन्दा बेमौसमी समयमा हुने उत्पादनले बढि बजार लिने सम्भावनाका लागि कृषकले गरेको लगानी खेर गइरहेको खुलेको छ ।

 
जानकी गाउँपालिका क्षेत्रमा बैमौसमी मकै लगाएका कृषकहरु छाडा चौपायाका कारण बाली नष्ट भएको भन्दै गाउँपालिका कार्यालयलाई क्षतिपूर्तिका लागि गुहारेका छन् । छाडा चौपायामा खासगरि गाई गोरुका कारण कृषकहरु मर्कामा परि रहेको जिल्ला कृषि कार्यालय बाँकेमा कृषि प्रसार अधिकृत धन बहादुर पुनले बताए ।
बाँकेको हिरमिनिया, जयसपुर, पिप्रहवा, भवनियापुर, सितापुर, उढरापुर, बनकटवा, कोहलपुर, नौवस्ता, पुुरैना, पुरैनी लगायत क्षेत्रमा बेमौसमी तरकारी र बाली लगाउने काम भएपनि छाडा चौपायाले सास्ती बढेको पुनले जानकारी दिए ।
उच्च लगानी गरेर मात्र बेमौसमी उत्पादन लिन सक्ने बाँकेको अवस्थालाई छाडा पशुले ध्वस्त बनाउन थालेपछि अहिले कृषकहरु क्षतिपूर्तिका लागि स्थानीय तहलाई गुहारेका छन् । खासगरि पशु नियन्त्रणको उपायको रुपमा संचालित कान्जी हाउसपनि अधिकांस स्थानमा बन्द भएपछि छाडा पशुले कृषि बालीमा क्षति पुर्याउने अवस्था बृद्धि भएको हो ।

 
‘हिरमिनिया, भवनियापुर, पिप्रहवा मकै उत्पादनको राम्रो क्षेत्र हो’, दैनिक नेपालगन्ज संग अधिकृत पुनले भने, ‘तर चौपायाका कारण बाली असुरक्षित भएपछि कृषकको उत्साह घटेको पाइयो ।’ पछिल्लो समयमा तरकारी उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बाँके टमाटर उत्पादनमा आत्म निर्भर भएको कृषि कार्यालयले जनाएको छ ।
जानकी गाउँपालिका वडा नं.५ बनियागाउँ बस्ने मन्साराम काँदुले ३ कठ्ठा प्याज र २ कठ्ठा धनिया लगाएको थिए । बालबालिकाको शिक्षा देखि मध्य परिवारको भरण पोषणको सपना देखेका काँदु अचेल निराश छन् । पशुले कृषि बाली नष्ट गरेपछि उनी त्यसबाट हुन सक्ने फाइदा बारे गाउँपालिकालाई जानकारी गराए तर समाधान हात लागेन ।
स्थानीय राम किसुन काँदुको २ कठ्ठा प्याज, इन्द्र प्रसाद काँदुको मकै र प्याज २ कठ्ठा, मालती प्रसाद कुर्मीको क्लास्टिक विरुवा ३ कठ्ठा सहित दर्जन बढी कृषकको बाली क्षति भएपछि अहिले स्थानीय क्षेत्रमा पशु चौपाया नियन्त्रणका लागि माग अघि सरेको छ ।

 
जानकी गाउँपालिका प्रमुख राम निवास यादवलाई भेट गरि समस्या समाधानका लागि पहल गर्न कृषकले गरेको आग्रहको खासै सुनुवाई भएन । कुनै नीति नियम र कानून अहिले लागु गर्न नसकिको गाउँपालिको बताएको स्थानीय मालती प्रसाद कुर्मीले जानकारी दिए ।

 
‘पशु नियन्त्रण बारे स्थानीय तहले अझै तयारी नै गरिरहेको छ’, मालतीले भने, ‘कृषकले लगाएको लगानी पानीमा गएको हो । स्थानीयहरुको क्षतिको यकिन विवरण प्राप्त नभएपनि अनुमानित एक करोड बढीको कृषि बाली क्षति भएको कृषकले बताएका छन् ।’

 
कृषकहरुलाई परेको मर्का बारे स्थानीय तह चिन्तित रहेको गाउँपालिका प्रमुख राम निवास यादवले बताए । चौपाया बाहेक पनि असिना पानी हुरी लगायत कारण कृषि बालीमा भएको क्षतिको मुल्यांकन भइरहेको र आगामी परिषदबाट सो किसिमको अवस्थामा सहयोग गर्न सक्ने गरि तयारी भइरहेको उनले बताए ।

 
‘छाडा पशुको सम्बन्धमा कान्जी हाउस वा पशुधनीलाई पहिचान गरि दण्डित गर्ने खालका रणनीति तय गर्नु पर्ने देखियो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै यादवले भने, ‘छाडा चौपायाका कारण किसानहरु वास्तविक रुपमा पीडित रहेको तथ्य हामी संग पनि आएको छ ।’

 
छाडा चौपायाका कारण पूरै जिल्ला प्रभावित रहेको कृषि कार्यालयले जनाएको छ । ‘कृषि उत्पादनमा छाडा चौपाया ठूलो समस्या हो’, प्रसार अधिकृत पुनले भने, ‘अधिकांस स्थानीय तहमा कान्जी हाउसको ब्यवस्था नभएका कारण पशु नियन्त्रणमा कठिनाई हुँदै आएको हो ।’

प्रतिक्रिया

प्रतिक्रिया