तत्कालीन नेपालगन्ज (सन् १८६०–२०३०) को परिवहन अवस्था

तत्कालीन नेपालगन्ज (सन् १८६०) मा परिवहन र यातायातको साधन र बाटाघाटोको व्यवस्था थिएन । भारतीय रेल्वेको भर्खरभर्खर बिस्तार प्रारम्भ भएकाले अवध राज्यमा रेल्वे आइसकेको अवस्था थिएन । रायवरेली, कानपुर, उन्नाव जस्ता सहरहरुबाट वयलगाडाका लस्करमा सामान र मानिसहरु दिनरात गरेर नेपालगन्जको जयसपुरसम्म व्यापार गर्न आउँथे । दैलेख, सल्यान, सुर्खेत तिरबाट पहाडी पैदलबाटो भएर चुटेको घाँच र त्यसपछि स्थानीय वयलगाडाहरुले बनाएका लिक नै बाटोघाटोका पूर्वाधार थिए । नेपालगन्जको बाँके किल्लाबाट पूर्व राप्ती तिर जाने एउटा हुलाकी सडक थियो । पश्चिम खजुरा मानखोला तिर जाने अर्को बाटो ।

 

 

बाँके किल्लाबाट दक्षिण भारतको तुल्सीपुर स्टेट जाने बाटो भनेको सिधनिया घाट तरेर भुँवर भवानी मन्दिरको उकालो हुँदै तुल्सीपुर स्टेट जाने बाटो थियो । यो बाटो बौद्धकालदेखि नै मान सरोवर जाने सार्थवाहको बाटोमा अवशेष थियो । तुलसीपुर स्टेट अन्तर्गत पनि नानपारा, चर्दा आदी ससाना राज्य थिए जो तुलसीपुर स्टेट अन्तर्गत थिए । तिनीहरुको आन्तरिक आवागमनको बाटो पनि वयलगाडा र घोडागाडा चल्ने धुलौटो बाटो नै हुन्थ्यो । आवादी सारै कम भएकाले जंगलै जंगलका माझमा अलिकति खेल अनि गाउँहरु हुन्थे । त्यस्तै अवस्था नेपालगन्जको पनि थियो । नानपारा चर्दा हुँदै एउटा बाटो सोझै बाँकेगाउँमा आउँथ्यो । बाँके किल्ला पछि सबैभन्दा नजिकका गाउँहरु थिए, बाँकी गाउँ, भवानीपुर र चर्दा जाने घोडेटो बाटो र आन्तरिक वयलगाडाका लोकहरु थिए । बाँकी भाग ससाना बोट बुट्यान भएका जंगल थिए । वैर, सितहना, तेंदु र धौ आदी भवानीपुर, गणेशपुर, धम्बोझी, वनियागाउँ, कारकाँदौ, कम्दी, सिधनिया आदी ससाना गाउँहरु जंगलका माझमा बसेका थिए । तुलसीपुर स्टेटलाई कर दिने गरी केही जिमिदारहरुको परिवार त्यहाँ बसोबास गर्न थालेको धेरै भएको थिएन ।

 

 

अधिकांस चुरेका घाँच तिर थारुहरुको बस्ती थियो । ती बस्तीहरुको आवागमनको घारेटो बाटो र वयलगाडा लीकहरु नै । तत्कालीन नेपालगन्जसम्म पुग्ने परिवहनको मुख्य मार्ग थिए । तिनीहरुलाई हुलाकीहरुको छोटो र गाउँहरु जोड्ने बाटोको रेखांकन थियो । जसलाई गाउँलेहरु हुलाकी बाटो भन्दथे । त्यस बेला, ठाउँठाउँमा जमिन्दारहरुले हुलाकी राखेका हुन्थ्ये । जसले यस गाउँबाटा अर्को गाउँमा चिठ्ठी पत्री पुर्याउने काम गर्दथे । उनीहरु काठको लठ्ठीमा एउटा घण्टी बाँधेर टिनटिन गर्दै दगुरेर एउटा गाउँदेखि अर्को गाउँसम्म चिठ्ठी पुर्याउने गर्दथे । उनीहरु दगुरने सडक चाही हुलाकी सडक मानिथ्यो र गाउँलेहरु त्यसलाई प्रमुख सडक मानेर पर्वमा एक पटक त्यस सडकको झारझंखाड सफा गर्ने र बाटोका खाल्टा खुल्टी पाट्ने गर्दथे । यसरी सडक परिवहनको विकास हुँदै थियो ।
सन् १८६० मा नेपालगन्ज (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)को सदरमुकाम हुने गरी बजार र सहर निर्माण सँगै बाटोघाटोको व्यवस्थापन हुन थाल्यो । नगर निर्माणका लागि काठपात जंगलबाट ल्याउने र निर्माणका लागि आवश्यक सुर्खी चुना, मुंग आदी भारतबाट ल्याउनु पर्ने भएकोले नेपालगन्ज–जयसपुर–नानपारा सडक रेखांकन र सडक पटानको कामको थालनी भयो ।

 

 

भारतको विभिन्न स्थानमा रेल्वे लिक निर्माणका लागि काठको आपूर्तिका लागि भारतको अंग्रेज सरकारले छिटोछिटो नेपालको सीमानासम्म आउने रेल्वे स्टेशन खुल्यो, जहाँबाट मालगाडीद्वारा सालका काठ नेपालगन्ज कठमहल मार्फत निकासी गरिन्थ्यो । बयलगाडामा काठको गिंगा रुपैडिहा पुर्याउन नेपालगन्ज–रुपैडिहा सडक सुधार भयो र त्यहाँ ढुंगाका बोल्डरहरु ओछ्याइए । कम्दी, बेतहनीको जंगलदेखि काठ ओसार्नलाई जंगल फाँड्दै बेतहनी, फुल्टेक्रा र कम्दी नेपालगन्जको हुलाकी सडक बिस्तार भयो । बर्दियाका जंगलबाट ल्याइने काठको परिवहन सजिलो पार्नलाई नेपालगन्ज मानखोला सडक पनि सुधार गरिएको थियो । सडक सुधारको नाममा बाटोका झाड,सुखाड सफाई गर्ने र खाल्डा खुल्डीमा ढुंगा माटो पुर्ने काम हुन्थ्यो । यसको जिम्मेवारी जिम्दार पटवारीहरुको हुन्थ्यो र यो उनले प्रत्येक साल दशैंको बेलामा गाउँलेहरुसँग बेगारीमा गर्न लगाउँथे । काम गरे वापत गाउँलेहरुले ज्याला मजदुरी पाउँथेनन् । यस बाहेक गाउँहरु जोड्ने घोडेटो र लढियाका लीकहरु हुन्थ्ये ।

 

 
त्यतिबेला नेपालगन्जमा हुने खाने ठालुहरु बैलगाडा जस्तै गोरुले हाँक्ने हलुका खालको मान्छे बोक्ने लढु (वैलगाडाकै सानो रुप) र घोडामा राणाजीहरु र ठूलो जिमिदारहरु हात्तिमा चढेर आवागमन गर्दथे । महिलाहरुलाई काठको म्यानमा मान्छेले बोकेर ओहोरदोहोर गराउँथे । सर्वसाधारणहरु पैदल नै हिड्थे । वा धेरै टाढा जानु पर्यो भने सामान ल्याउने लाने वयलगाडामा गर्दथे ।

 

 
रेल्वेको विकास सँै रुपैडियामा मालगाडीका अतिरिक्त सवारी गाडी चल्न थालेपछि रुपैडिहा बजारको पनि बिस्तार हुन थाल्यो । हुलाक, वन विभाग, थाना र रेल्वेका कर्मचारीहरुका लागि आवश्यक खाद्यान्न र लुगाफाटाका पसलहरु खुल्न थाले । रुपैडिहासँग जोडिएका नेपालका बस्तीहरुबाट पनि खरिद बिक्री हुन थाल्यो । रेल्वेको सुविधा भएपछि यहाँका चेलीबेटीहरुलाई घर, माइत, व्यापारीहरुलाई लखनउ, कानपुर र नेपालका सीमानका बस्तीबाट आवातजावत गर्ने साधन रेल्वे भएपछि प्रारम्भमा लढु र पछिपछि एक्का तांगाबाट नेपालगन्जदेखि रुपैडिहा जाने प्रचलन बढ्यो । ठाउँठाउँमा खाल्टो पुर्ने पत्थरको बोल्डर राखेका ठाउँमा तांगाका पहियाँ अडकने भएकाले त्यसबेला टांगावालाहरुले ठूलो र बलिया घोडाहरु एक्का तांगामा जोत्ने गर्दथे । नेपालगन्ज र रुपैडिहामा तांगामा परिवहन गर्ने प्रचलन सँगै विवाह व्रतबन्धमा पनि दुलहा, दुलहीलाई तांगामा राख्ने । ब्रतबन्धका कुमारहरुलाई पनि तांगामै बागेश्वरी मन्दिर दर्शन गर्न लाने प्रचलन बढ्यो । धम्बोझी, गणेशपुर, पुरैनी, पुरैनाको यात्रा र गाउँले जात्रा मेला र राप्तीको मेलामा तांगाहरु त्यता पनि गएका हुन्थ्ये । वयलगाडा गाउँहरुमा सीमित हुँदै गए । नेपालगन्ज बजारमा भने एक्का तांगा नै मुख्य यातायातका साधन बने ।

 

 
उद्योग व्यापारको विकास सँगै रेल्वेबाट नै आयात निर्यात हुन थालेपछि भारी सामान वयलगाडाबाट र हलुका सामान भने एक्का तांगाबाटै ओसारपसार हुन्थ्यो । २०३० सालसम्म नेपालगन्जमा रेक्साको प्रचलन थिएन । २००७ सालपछि भने साइकल एक्का, दुक्का देखा पर्न थालेका थिए । सन् १८६० देखि सम्वत् २०३० सालसम्म नेपालगन्जको परिवहनका साधनमा मानिसका ओहदा रुवता अनुसार हात्ती, घोडा, वैलगाडा, लढु, एक्का, ताँगा र साइकल नै थिए । मानखोला, राप्ती नदीहरु सन् १८६० को आसपास जलराशीले भरिएका हुन्थ्ये । राप्ती नदी त्यतिबेला भुँवर भवानी मन्दिरको छेउबाट बग्थ्यो रे ? त्यतिबेला बेगह हजरत महल र अंग्रेजहरुसँग भुँवर भवानी मन्दिर वारिपट्टि, सिधनिया घाटको लडाइमा अंग्रेजहरुको फौजको हात्ती, घोडा, तोपहरु राप्ती नदीमा डुबेर अंग्रेजहरु राप्ती नदी तर्न नसकेर डुबेको कुरा ज. रसेल र क. म्यूरले माइ म्युटिनी डायरीमा वर्णन गरेका छन् ।

 

 

त्यतिबेला युद्ध सामाग्रीहरु काठैकाठ जोडेर बनाएका वेडाहरु र स–साना काठका डुंगामा लागेका कुरा ‘माइ म्युटिनी डायरी’ मा लेखेको हुनाले नदीहरुको परिवहनमा सिमल र हुलुका र नसड्ने काठहरुबाट बनाइएका साना डुंगाहरुबाट मान्छे तर्ने काम हुन्थ्यो । ठूला बयलगाडा आदी तार्न, काठका वेडाहरु तयार गरिन्थ्यो ।
सन् १८६० देखि २०३० सम्मको तत्कालीन नेपालगन्जको परिवहन अवस्थाको सानो आलेख हो यो ।

प्रतिक्रिया

प्रतिक्रिया