अदालतको आदेशले नागरिकता पाईन दिपिकाले

अदालतको आदेशले एक जना किशोरी दिपिकाले बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् ।
नेपालगंज उपमहानगरपालिका वडा नं ८ बस्ने दिपिका सोनीले मिति २०७३ असार ७ गते नगरपालिकाको सिफारिस सहित नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागी जिल्ला प्रशासन कार्यालय बाँकेमा गएकी थिईन । बुवाको मृत्यु भईसकेकाले आमाको नामबाट नागरिकता लिन गएकी दिपिकालाई प्रशासनले नागरिकता दिन इन्कार गरेकाले परमादेशको आदेशद्धारा नागरिकता दिलाई पाउन भनि मिति २०७३ साल चैत्र २७ गते उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासमा निवेदन दिएकी थिईन ।

 

 
मिति २०७४ जेष्ठ २७ गते रिट निवेदन उपर सुनुवाई गर्दै न्यायाधीशद्धय शारङ्गा सुवेदी र बीर बहादुर डाँगीको संयुक्त इजलासले नेपालको संबिधान र नागरिक सम्बन्धि ऐनले निर्दिष्ट गरे बमोजिम निवेदिकालाई यो आदेश भएको मितिले एक महिना भित्र नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराई सो को जानकारी यस अदालतलाई दिनु भनी बिपक्षी जिल्ला प्रशासन कार्यालय बाँके र प्रमुख जिल्ला अधिकारीका नाममा आदेश दिएको थियो ।

 

 
अदालतको आदेश पश्चात पटक पटक रिट निवेदिका दिपिका र उनको पक्षमा मुद्धा लड्ने अधिवक्ताहरु महिला कानून बिकाश मञ्चका सुनिल कुमार श्रेष्ठ, बसन्त गौतम, लोक बहादुर शाह, बल बहादुर चन्द, बिश्वजित तिवारी जिल्ला प्रशासन कार्यालयमा गई अदालतको आदेश पालना गरि दिपिकालाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन आग्रह गर्दै आएका थिए ।

 

 
नागरिकता प्राप्त गरे पछि हर्षित मुद्रामा देखिएकी दिपिका सोनीले दैनिक नेपालगंजसंग भनिन ‘नागरिकता पाएर म एकदमै खुसी छु । नागरिकताले मलाई कानूनी पहिचान दिलाएको छ । नागरिकताले पढाई र नोकरी गर्ने बाटो खोलि दिएको छ । नागरिकता प्राप्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु’।

 

 
जिल्ला प्रशासन कार्यालय बाँकेले दिपिकाको आमा पुर्णिमा सिंहले जन्मका आधारमा प्राप्त गरेको नागरिकता पेश गरेको भए पनि पितृत्व तर्फ बाउको तिन पुस्ता भित्रका नातेदारहरुको नागरिकता पेश गर्न नसकेको हँदा निवेदिकालाई बंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र दिन नसकिने जिकिर गरेको मुद्धामा पीडित तर्फबाट वकालत गरेका महिला कानून र बिकाश मञ्चका अधिवक्ता सुनिल कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया