टोल स्तरबाटै विकासका योजना
दैनिक नेपालगन्ज
‘टोल स्तरबाटै आवश्यकताको पहिचान गरेर उनीहरुकै प्राथमिकतामा योजना कार्यान्वयन प्रक्रिया अवलम्वन गर्न लागिएको छ’, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले विकासका नयाँ योजनाबारे तपाई के गर्दै हुनुहुन्छ भन्ने प्रश्न भूईंमा नखस्दै भने, ‘आठ वटा वडामा ४ सय बढी टोल समितिहरु गठन प्रक्रिया सुरु भएको छ ।’
गाउँमै सिंहदरबारको अनुभूत गराउन राज्य पुनर्संरचना भएपछि चुनिएका जनप्रतिनिधि के गर्दैछन् भन्ने बुझ्न दैनिक नेपालगन्ज खजुरागाउँपालिका पुग्दा प्रमुख कक्षपति अपरान्ह साढे ५ बजे आफ्नै कार्यकक्षबाट सिसि क्यामेरा नियाल्दै थिए । ‘सडकका लागि परेको टेण्डर स्वीकृति प्रक्रिया चलिरहेको छ’, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको नेतृत्वमा झण्डै एक करोड बराबरको सडक पिचका लागि ठेकेदार चयन प्रक्रिया चल्दै गरेको दृश्य गाउँपालिका प्रमुख कक्षपति सिसि क्यामेराबाटै नियालिरहेका हुन् ।
‘विहान साढे ८ बजे घरबाट निस्किएपछि अहिलेसम्म जनताकै काममा छु’, प्रमुख कक्षपतिले कार्यकक्षबाट निस्किएर आफ्नो निजी गाडी चढ्न ठिक्क पर्दा कार्यालय आइपुगेकी उपप्रमुख एकमाया विकसँग हात मिलाउँदै भने, ‘तपाई अझै घर जानु भएको छैन ?’ उपप्रमुख विक विकास निर्माणका योजनाहरु अनुगमन गरेर कार्यालय फर्किएकी थिइन् । त्यतिबेला साँझको ६ बजिरहँदा कार्यालय परिसरमा कर्मचारीको चहलपहल उत्तिकै थियो ।
विकास निर्माणका योजनालाई गाउँपालिकाबाट टोलमा पठाउनु भन्दा गाउँटोल बाटै जनसहभागितामा प्राथमिकिकरण गरेर आवश्यकता पहिचानको विधि अवलम्वन गरिएको अध्यक्ष कक्षपतिको भनाइ छ । ‘त्यसका लागि भर्खरै सकिएको दोस्रो गाउँसभाले प्रत्येक टोलमा योजना माग्ने र त्यसअघि टोल विकास समिति गठन गर्ने निर्णय गरेको छ’, ५४ करोड बजेट सीमितता भित्र रहेको खजुरा गाउँपालिकाले त्यसभित्र तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना बनाउने लक्ष्य राखेको अध्यक्ष कक्षपतिले जानकारी दिए ।
‘दीर्घकालीन रुपमा आठ वटै वडालाई लिङ्क गर्ने स्तरीय सडक बनाइने छ’, आफ्नो कार्यकालभित्र नमूना गाउँपालिकाको लक्ष्य राखेका कक्षपतिले ५ सय सिट क्षमताको बहुउद्देश्यीय सभाहलदेखि चक्रपथसम्मका योजना सुनाए ।
सीतापुर–राधापुर–बागेश्वरी अर्थात् वडा नं. १ देखि ४ लाई बस्ती विकास कम्पनीले गरेको योजना अनुसार नै व्यवस्थित गर्ने कार्य थालिसकिएको गाउँपालिकाको भनाइ छ । ‘१ र २ वडामा यसैबर्ष सडक सोलार बत्तीको जडान गरिंदैछ’, कक्षपतिले सुशासनका लागि अनलाइन एकान्टिङदेखि डिजिटल हाजिरीसम्मका प्रविधिहरु जडान गरिसकेको जानकारी दिंदै भने, ‘आन्तरिक स्रोत बढाउन आगामी साउन १ गतेबाट लागु हुने एकीकृत सम्पत्ति कर बारे प्रत्येक वडामा अभिमूखिकरण गरिंदैछ ।’
खजुरा गाउँपालिकाको मुख्य बजार यसैबर्ष चार लेनको पक्की सडकबाट सुसज्जित हुँदैछ । गाउँपालिका प्रमुख कक्षपतिले कपास विकास समितिदेखि १ नम्बर, मुख्य बजार हुँदै धनौली चौकीसम्म २ हजार ४ सय मिटर सडक चार लेनको बनाउन लागिएको र त्यसको प्रक्रिया सडक डिभिजन कार्यालयले अगाडि बढाइसकेको जानकारी दिंदै भने, ‘क्यान्सर अस्पताल रोड पक्की गर्न आज टेण्डर प्रक्रिया सकिंदैछ ।’ कुराकानी नसकिंदै गाउँपालिका प्रमुख कक्षपतिले अस्पताल रोड अनुगमन गर्न संवाददातालाई अनुरोध गरे । स्थापना कालदेखि नै आफैले नेतृत्व गरिरहेको क्यान्सर अस्पताल जिल्लाकै गौरव बनिरहँदा त्यहाँसम्मको बाटो कालोपत्रे गर्ने निर्णय भैरहँदा उत्साहित कक्षपतिले भने, ‘एक महिनाभित्रै प्रधानमन्त्री स्वयं आएर अस्पताल उद्घाटनको कार्यक्रम रहेकाले त्यतिञ्जेलमा बाटो तयार गरिसक्नु पर्नेछ ।’