बर्दिया/भावुक योगी
दैनिक नेपालगन्ज
कक्षा ८ को प्रश्नपत्र चोरी भएपछि बर्दियाको बाँसगढी नगरपालिकामा परीक्षा स्थगित भएको छ । बिहिबारदेखि संचालन गर्ने भनिएको कक्षा ८ को परीक्षा पश्नपत्र चोरी भएपछि स्थगित भएको हो । बाँसगढी नगरपालिकाको लालिगुँरास माध्यामिक विद्यालय माछागढको कार्यालयमा राखिएका प्रश्नपत्र चोरी भएपछि परीक्षा स्थगित गर्नु परेको विद्यालय निरीक्षक रविलाल निगारले जानकारी दिएका छन् । प्रहरीले बुधबार विद्यालयको दराजको ताला फोडेर कक्षा ८ का ९ वटै विषयका केही थान प्रश्नपत्र चोरी भएको बताएको छ ।
प्रश्नपत्र सहित चार जना विद्यार्थीलाई फेला पारेपछि चोरीको रहस्य खुलेको हो । प्रश्नपत्र चोरेको आशंकामा कक्षा ८ का चार जना र कक्षा ९ का एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको डिएसपी युवराज खड्काले जानकारी दिए । ‘सबै विषयका दुई÷चार वटा प्रश्नपत्र चोरी भएपछि बाँसगढी नगरपालिकाका सम्पूर्ण विद्यालयमा कक्षा ८ को परिक्षा स्थगित गरिएको हो’, विद्यालय निरिक्षक निगारले भने । शुक्रबार बैठक बसी नयाँ प्रश्नपत्र बनाउने र परिक्षा मिती तोक्ने निरिक्षक निगारले जानकारी दिए ।
यसअघि जिल्ला स्तरीय परीक्षा हुने गरेको यस बर्षदेखि स्थानीय तह अनुसार नगरस्तरीय परीक्षा संचालन भइरहेको छ । ६ नगरपालिका र २ गाउँपालिका रहेको बर्दियाका अन्य स्थानीय तहमा भने बिहिवार देखि परीक्षा सुरु भएको छ ।