मब क्याम्पस कि पार्टी कार्यालय ?, राजनीतिक खिचातानीले महेन्द्र बहुमुखी क्याम्पस धराशयी

दैनिक नेपालगन्ज/विनय दीक्षित

 

विद्यार्थीको भविष्य निर्धारण गर्ने पश्चिम नेपालकै प्रतिष्ठित शिक्षालय, नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पस विस्तारै राजनीतिक किचलोका कारण धराशयी बन्दै गएको छ । क्याम्पस अब्यवस्थापन, अवैधानिक नियुक्ती, प्राध्यापकको मनपरि र विद्यार्थीको आन्दोलनले पछिल्लो समय क्यापसलाई राजनीतिक अखाडाको रुपमा परिचित गराउँदै लगेको हो । पटक पटक विद्यार्थीको आन्दोलन, तालाबन्दी र तोडफोडको शिकार हुँदै आएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्राध्यापकको दरबन्दी र नियुक्ती कमाउने थलोको रुपमा स्थापित हुँदै गएको खुलेको छ ।

 

४ हजार ५ सय विद्यार्थी भर्ना रहेको क्याम्पसमा प्राध्यापकले विद्यार्थीलाई र विद्यार्थीले प्राध्यापकलाई नेता भन्ने चलन छ । दुबैले एकअर्कालाई पार्टीगत रुपमा चिन्ने र सोही अनुसार ब्यवहार गर्ने ब्यवस्था क्याम्पसमा छ । नियुक्तीका चलखेल र भागबण्डा पनि त्यसै गरि भइरहेका छन् । राजनीतिक चलखेलमा त्रिभुवन विश्वविद्यालयमा नियुक्ती लिएर क्याम्पस पुग्ने प्राध्यापक पठन पाठन भन्दा राजनीतिक छलफल र गोष्ठीलाई बढि प्राथमिकता दिँदै आएको आरोप छ । प्राध्यापकको आरोप विद्यार्थी माथि पनि उस्तै छ । विद्यार्थी भनेको त पढ्ने कुरामा ध्यान दिनु पर्छ, एक प्राध्यापकले भने, राजनीति गर्ने पक्ष विद्यार्थीको होइन ।

 

क्याम्पसमा पठन पाठन प्रभावित हुनेगरि प्राध्यापकले कार्य गर्दै आएको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुको संगठनले समूहिक विज्ञप्ती जारी गरि स्थायी र करार प्राध्यापकहरुको कार्यभार सार्वजनिक गर्न र अवैधानिक रुपमा भएको करार प्राध्यापक नियुक्ती बदर गर्न मंगलवार माग गरे । मागको बेवास्ता भएको भन्दै २४ घण्टे अल्टीमेटम सकिएपछि विद्यार्थी संगठनले बुधवार क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । माग पूरा नभएको आरोप सहित विद्यार्थीले क्याम्पस प्रशासन सहित लेखा शाखा, विभिन्न संकाय भवनमा पनि तालाबन्दी गरेका हुन् ।

 

अनेरास्ववियु इकाई अध्यक्ष हेमराज शाही, नेवि संघ इकाई सचिव चन्द्र प्रकाश देवकोटा, अखिल क्रान्तिकारीका इकाई अध्यक्ष नवराज योगीले विज्ञप्ती जारी गरी स्नातकोत्तर तह सेमेष्टर प्रणालीका सबै कक्षाहरु विहानी सेवामा संचालन गर्ने माग गरेका थिए । क्याम्पस प्रमुख र सहायक प्रमुखहरु ड्युटी समयमा क्याम्पसमा नै हुनु पर्ने विद्यार्थीहरुको माग छ । यसअघि पनि यसै किसिमका मागहरु सहित विद्यार्थी आन्दोलनले चर्को रुप लिने गरेको छ । विभिन्न अब्यवस्था र राजनीतिक खिचातानीले प्राध्यापक र विद्यार्थी विचको आपसी सम्बन्धमा पनि दरार उत्पन्न गरेको छ ।

 

 

५ वटा संकायको अध्यापनका लागि क्याम्पसमा ९४ जना पूर्णकालिन प्राध्यापक नियुक्त छन् । तर ती सबै प्राध्यापक क्याम्पस छन् वा छैनन् क्याम्पस प्रशासनलाई पनि जानकारी छैन । श्रोतले भन्यो, ‘दर्जन बढि प्राध्यापक विदेशमा बसेरनै तलब बुझ्ने गरेका छन् ।’ ‘नेताको पावर विना नियुक्ती हुँदैन,’ श्रोतले भन्यो, ‘नियुक्त भएको प्राध्यापक अध्यापन गराउँछ भन्ने ग्यारेन्टी हुँदैन ।’ नियुक्त प्राध्यापकबाट पठन पाठन सम्भव नभएको भन्दै क्याम्पसले ६२ जना शिक्षक ज्यालामा पनि काम गर्न राखेको छ ।

 

विज्ञान, मानविकी, ब्यवस्थापन, कानून र शिक्षा संकायमा अध्यापन हुने क्याम्पसमा अहिले ब्यवसायिक कोर्सहरु पनि अध्यापन सुरु भएको छ । बिबिए, बिसिए, बिएससी सीएसआइटी, बिपिए अध्यापनको ब्यवस्था रहेपनि प्राध्यापक छैनन् । ‘क्याम्पसमा अध्ययन गर्न आएको विद्यार्थी पढ्दाको समयमा राजनीति त्यति सरोकारको विषय हुनु हुँदैन’, महेन्द्र महुमुखी क्याम्पसका प्रमुख गणेश कुमार रेग्मीले दैनिक नेपालगन्ज भने, ‘तर क्याम्पसमा विवाद हुँदा पार्टीका नेतालाई समाधानका लागि गुहार्नु पर्ने अवस्था छ ।’

 

क्याम्पसमा पठन पाठन गर्न आएका विद्यार्थीले कक्षा संचालन नभएको, समयमा प्राध्यापक नआएको, अवैध तरिकाले नियुक्ती गरेको, प्राध्यापकहरु बाहिरी निजी कलेजमा अध्यापन गराउने गरेको आरोप सहित आन्दोलन गर्दै आएका छन् । पटक पटक विद्यार्थी र क्याम्पस प्रशासन विच सहमति र छलफल हुँदै आएपनि पूर्ण रुपले निकास हुन नसकेको विद्यार्थी संगठनहरुको आरोप छ । ‘हरेक सम्झौतामा झुक्याउने काम मात्र हुन्छ,’ विद्यार्थीले भने ।

 

 

‘प्राध्यापकहरुको रजाई केन्द्र बन्दै गएको क्याम्पसलाई सुधार गर्न तालाबन्दी गरिएको’ नेवि संघका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश देवकोटाले बताए । प्राध्यापकहरुले श्रीमति भर्ती केन्द्रको रुपमा क्याम्पसलाई प्रयोग गरेर पठन पाठनको गुणस्तरलाई नै ध्वस्त बनाउन खोजेको उनको आरोप छ । क्याम्पसमा स्थायी प्राध्यापकहरुले क्याम्पस प्रशासनलाई दलीय प्रभावमा पारेर आ–आफ्ना श्रीमतिलाई अवैधानिक तरिकाबाट आंशिक प्राध्यापकमा नियुक्ती गरिएपछि क्याम्पसमा विद्यार्थीसँगको विवाद चुलिएको हो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेस सम्बद्ध उनीहरुलाई चैत्र १ गते अर्थात आजबाट लागु हुनेगरि आंशिक प्राध्यापकको नियुक्ती दिएपछि विद्यार्थी आक्रोश बढ्यो । ‘यो क्याम्पस रहेन पार्टी कार्यालय भयो,’ अध्यक्ष देवकोटाले भने, ‘पूर्णकालिन ९४ प्राध्यापक मध्ये १५ जना मात्र नियमित अध्यापन गराउने गरेका छन् ।’

 

बाँकी प्राध्यापकहरु निजी कलेज, विदेश भ्रमण, शैक्षिक विदा, विरामी विदा लगायतमा बसेर तलब बुझ्दै आएको खुलेको हो । क्याम्पसमा राजनीतिक आधारमा मनोमानी बढेपछि प्राध्यापक र विद्यार्थी संगठन बिच खिचातानी बढ्दै गएको हो ।

यसरी सम्भव छ सुधार

नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भित्रिएको मनोमानीलाई त्रिभुवन विश्व विद्यालयको मापदण्ड लगायत प्रक्रियाबाट सुधार गर्न सम्भव रहेको सम्बद्धहरुको भनाइ छ । क्याम्पसमा स्थायी नियुक्ती भएका प्राध्यापकहरुले नियमित पठन पाठन गराउने, प्रशासनले कानून बमोजिमको चुस्त सेवा प्रवाह गर्ने, क्याम्पस प्रमुखहरु समयमा क्याम्पस आउने र नियमित सबै कक्षाहरु संचालन गर्ने वातावरण भए क्याम्पस सुधार ठूलो विषय नरहेको विद्यार्थी नेताहरुको भनाइ छ ।
पूर्णकालिन प्राध्यापकहरुलाई विदा दिएर, विदाकै दौरान पनि तलब दिएर क्याम्पसलाई चौपट बनाउन क्याम्पस प्रशासनले भूमिका निर्वाह गरेको आरोप लगाउँदै विद्यार्थी संगठनका नेताले ज्याला र करार प्राध्यापक भर्ती केन्द्रको रुपमा क्याम्पसलाई ध्वस्त बनाउने प्रयास भइरहेको बताएका छन् ।

 
‘क्याम्पस सबै पक्षमा ब्यवस्थित हुनु पर्यो, प्रशासनले काम कर्तब्य र दायित्व कानून बमोजिम निर्वाह गर्नु पर्यो, नियम बमोजिम सबै काम हुनु पर्यो, निजी क्याम्पसको प्रलोभन प्राध्यापकले त्याग्नु पर्यो, अनि सजिलै क्याम्पसको सुधार हुन सक्छ,’ नेविसंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रकाश देवकोटा भन्छन् । ‘क्याम्पसमा नियुक्त भएका सबै प्राध्यापक नियमित कक्षा लिन थालेको खण्डमा ८० प्रतिशत समस्या आफै समाधान हुन्छ’, दैनिक नेपालगन्ज संग देवकोटाले भने, ‘हामी विरोध गर्नुको मुख्य कारण अनियन्त्रित प्राध्यापकहरु पनि हुन् ।’

 
क्याम्पस प्रमुख गणेश कुमार रेग्मीले, विस्तारै सुधारका प्रयासहरु भइरहेको दावी गर्छन् । लामो समयदेखि चलि आएको परम्परालाई त्यति सजिलै तोड्न नसकिने बताउँदै उनले क्याम्पस अनियन्त्रित स्थितिमा रहेको स्वीकार गरेका छन् । ‘क्याम्पस प्रमुख भन्दा सहयोगीहरु शक्तिशाली छन्, उनीहरुको पनि संगठन छ,’ रेग्मीले भने, ‘क्याम्पस प्रमुखले सहयोगीलाई कारवाही गर्न सक्ने हैसियत राख्दैन ।’ ‘अनेक राजनीति छिरेको छ यहाँ, निरीहता व्यक्त गर्दै रेग्मीले भने, ‘त्यति सजिलो नभएपनि सुधारका प्रयासहरु अघि बढाउने तर्फ हामी केन्द्रित छौं ।’ शैक्षिक बेथिति बढाएको भन्दै केही महिना अघि क्याम्पस प्रमुख रेग्मी विरुद्ध प्राध्यापकहरुनै आन्दोलित थिए ।

प्रतिक्रिया

प्रतिक्रिया