स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र नियमानुकूल बनाई राख्न जिम्मेवार तहबाट खटिएका फार्मेसी निरीक्षक नै अख्यिारको फन्दामा परेका छन् ।
औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जमा कार्यरत फार्मेसी निरीक्षक पुष्पराना क्षेत्री २८ हजार घूस सहित सोमवार फन्दामा परेका हुन् । प्रतिबन्धित औषधी बेच्ने मेडिकल, मापदण्ड विपरीत संचालित अस्पताल र नक्कली डाक्टरलाई उनले आफ्नो निशानामा पार्दै अवैध असुली गर्दै आएको दाबी सम्बद्ध स्रोतको छ ।
घूस असूल गरे वापत अवैध र नागरिक स्वास्थ्य संग खेलवाड हुने किसिमले सेवा प्रवाहमा मिलोमतो गरि भूमिका निर्वाह गरेको आरोप समेत लागेका फार्मेसी निरीक्षक क्षेत्रीलाई २८ रुपैया घूस रकम सहित रंगे हात पक्राउ गरिएको अख्तियार स्रोत जनाएको छ । मानवीय स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले लामो समय देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निगरानी गर्दै आएको थियो । ‘पिछा गर्न लागेको दुई साता भन्दा बढी भयो’, अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ‘घूस मात्रैको आरोप भए खासै अर्थ हुँदैनथ्यो । नागरिक स्वास्थ्यमा प्रत्यक्ष खेलवाड गर्ने गिरोह संचालनमा उनको महत्वपूर्ण भूमिका थियो ।’
प्रतिबन्धित औषधी माफिया, नक्कली डाक्टर र मापदण्ड विपरीतको अस्पतालबाट रकम असूल गर्दै आएको दाबी
‘सोमवार मात्रै करिब ४ घण्टा अप्रेशन चल्यो’, श्रोतले भन्यो, ‘मिलोमतो गर्ने मेडिकल माफिया र घूस लिने क्षेत्री बीच अख्तियार पस्न सक्नु त्यति सजिलो थिएन ।’ ‘धेरै कन्भिन्स गर्नु पर्यो’, एक अधिकारीले भने, ‘सेवाग्राहीको गुनासो प्राप्त हुँदा पनि घूस लिनेदिनेलाई रंगेहात पक्राउ गर्ने तयारी अन्ततः सफल भएको छ ।’ नेपालगन्जमा भारतीय प्रतिबन्धित औषधी विक्री वितरण गर्ने मेडिकललाई क्षेत्रीको साथ रहेको दाबी गर्दै स्रोतले भन्यो, ‘उनी त्यसै वापत घूस स्वरुप रकम लिने गरेका थिए ।’ पछिल्लो समयमा घूसको माग रकम वृद्धि भएपछि दिने व्यक्तिले अख्तियारमा सूचना दिएका थिए ।
‘लेनदेन भइरहेकै अवस्थामा नियन्त्रणमा लिइएको हो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुर कार्यालयका प्रमुख एसपी ईश्वर कार्कीले भने, ‘यो गम्भीर प्रकृतिको अपराध हो ।’ दुई साता अघि मात्रै फार्मेसी निरीक्षक क्षेत्री नेपालगन्ज र राँझा क्षेत्रका ३ वटा मेडिकल शिल गर्ने कार्यमा सहभागी थिए । औषधी व्यवस्था विभाग शाखा नेपालगन्जको अनुगमन टोली मध्येका क्षेत्री सहरमा दिनहुँ अनुगमन गर्दै आएका थिए ।
‘औषधी पसलमा औषधी राख्ने विधि देखि औषधीको गुणस्तर, मापदण्ड, बेच्ने तरीका, बेच्न मिल्ने नमिल्ने समेतको अनुगमन अधिकार प्राप्त निरीक्षक क्षेत्री घूस सहित फन्दामा परेपछि थुप्रै प्रश्नहरु उब्जिएका छन्’, प्रमुख कार्कीले भने, ‘अन्य सेवाप्रदायक निकायको ब्यक्ति भए घूसमात्रैको सन्दर्भ हुन्थ्यो, यहाँ नागरिक स्वास्थ्य जोडिएको छ ।’
औषधी जस्तो संवेदनशील विषयमा घूसको चलखेल हुनु नराम्रो पक्ष भएको कार्कीले बताए । पक्राउ परेका क्षेत्रीलाई घूस सहित अख्तियार टोलीले कोहलपुर कार्यालय लगेको छ । ‘मुचुल्का पछिको बयान लगायत अनुसन्धान बाँकी रहेकोले सो विषयमा प्रक्रिया अघि बढेको हो’, कार्कीले भने, ‘मुद्दा फाइल गर्ने तयारी भइरहेको छ ।’
कार्की पक्राउ बारे केन्द्रीय कार्यालयमा समेत सूचना पठाइसकिएको प्रमुख कार्कीले बताए । अख्तियारले बाँकेबाट दुई दर्जन कर्मचारीलाई घूस सहित रंगेहात पक्राउ गरिसकेको छ ।