भन्सार कर्मचारीले छाडे, अनुसन्धान ब्युरोले समात्यो
दैनिक नेपालगन्ज/समाचारदाता
नेपाल–भारत सीमाको जमुनाह नाकाबाट पटक–पटक तस्करी गरी सामान भित्र्याइएको सामान नियन्त्रणमा पर्ने गरेको छ । बिहिबार पनि कर्मचारीसँगको मिलेमतोमा भन्सार छलेर ल्याइएको चिनी सहित दुई महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाहिर चामलको बोराको सिल, भित्र चिनी सहितको ४ बोरा बरामद भएपछि तस्करले नयाँ तरिका प्रयोग गरेको खुलेको हो । महिलाले भन्सार कर्मचारीलाई ५ सय रुपैयाँ दिएर ल्याएको खुलासा गरेका हुन् ।
रुपईडिहाबाट नेपालगन्ज तर्फ आउँदै गर्दा चौलिक्का अघि नै प्रहरीले महिलालाई चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । ‘५ नं. प्रदेशको अनुसन्धान ब्युरोका अधिकारीहरुले चामल चेकजाँच गर्दा चिनी फेला पर्यो’, दैनिक नेपालगन्ज संग एक अधिकारीले भने, ‘बाहिर चामलको नयाँ शिल बोरा छ भित्र चिनी ।’
जमुनाहा प्रहरी, भन्सार प्रहरी, जयसपुर प्रहरी सहित दुई स्थानमा भन्सार कर्मचारीको चेकजाँचलाई पार गर्दै भित्रिएको चिनी अनुसन्धान ब्यूरोले बरामद गरि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । ‘लामो समय देखि यस्तै तस्करी गरिरहेको महिलाहरुले स्वीकार गरेका छन्’, अनुसन्धान अधिकारीले भने, ‘भन्सार कर्मचारीलाई नियमित रकम बुझाउँदै आएको समेत उनीहरुले खुलाएका हुन् ।
‘भन्सार कर्मचारीलाई पाँच सय दिएर सामाग्री ल्याएको स्वीकार गरेका छन्’, उनले भने, ‘प्रहरी संग सेटिङ भएनछ ।’ ‘ठूलो परिमाणमा बरामद गर्ने योजना थियो तर अप्रेशन सफल हुन सकेन’, प्रदेश अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक अरुण कुमार सिंहले भने, ‘नयाँ मोडेलको तस्करी गरिरहेको तथ्य हात लागेको थियो ।’
‘पछिल्लो ५ महिना देखि महिलाहरुले चामलको बोरामा चिनी तस्करी गरिरहेको अनुसन्धानबाट खुल्यो’, प्रनि सिंहले भने, ‘सामाग्री कम परिमाणमा बरामद भएपनि सिलसिला ठूलो रहेछ ।’
थप अनुसन्धान र कारवाहीका लागि बरामद भएको चिनी सहित महिलाहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइएको ब्युरोले जनाएको छ ।