दैनिक नेपालगन्ज/समाचारदाता
नेपालगन्जमा आज बिहीबारबाट देशभरका हाडजोर्नी विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन हुँदैछ । नेपाल अर्थोपेडिक एशोसिएसन, वेष्टर्न च्याप्टरले पहिलो पटक नेपालगन्जमा ‘अर्थोकन’को आयोजना गरिएको हो ।
नेपालका २ सय ५० बढी अर्थोपेडिक डाक्टरहरुको प्रतिनिधिमूलक सहभागिता हुने राष्ट्रिय सम्मेलनमा नेपाल बाहेक भारत, जापान, जर्मनी लगायतका देशबाट पनि विशेषज्ञहरुको जमघट हुँदैछ । ‘१ सय ५० बढी चिकित्सकहरु नेपालगन्ज आइसक्नुभएको छ’, आयोजक नेपाल अर्थोपेडिक एशोसिएसन वेष्टर्न च्याप्टरका अध्यक्ष डा. विनोद थापाले दैनिक नेपालगन्जसँग भने, ‘आफैमा यो महत्वपूर्ण कार्यक्रम हो ।’
राष्ट्रिय सम्मेलनमा देशविदेशका विशेषज्ञ डाक्टरहरुले हाडजोर्नीका क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोग र सफलताबारे आफ्ना प्रस्तुतिहरु गर्नेछन् । ‘आफ्ना अनुभवहरु आदानप्रदान गर्ने एउटा महत्वपूर्ण मञ्च हो’, चितवन पश्चिम नै पहिलोपटक यसखालको बृहत जमघटको आयोजना भएको जानकारी दिंदै नेपालगन्ज मेडिकल कलेजका अर्थोपेडिक विशेषज्ञ, एशोसिएसट प्रोफेसर डाक्टर सन्दिप गुरुङले दैनिक नेपालगन्जसँग भने, ‘यहाँका डाक्टरहरुका लागि यो एउटा अवसर हो ।’
देश, विदेशबाट आउने विशेषज्ञ डाक्टरहरु बीच अनुभव आदान–प्रदानसँगै सफलता, असफलताका बहस पनि गरिंदैछन् । ‘सहभागीहरु आफ्ना नलेजहरु सेयर गर्छन्, इभिडेन्स वेस प्राक्टिस भएकाले यी सबै ज्ञानको आदानप्रदानबाट धेरै कुरा सिक्ने अवसर मिल्छ’, डाक्टर गुरुङले नेपालगन्ज चिनाउने पनि ठूलो मौका आएको बताए । ‘नेपालकै कयौंले नेपालगन्ज सहरबारे जानकारी नपाएका हुनसक्छन्’, डाक्टर गुरुङले राजधानी काठमाडौं बाहिर पोखरा, धरान र पाँच बर्ष अघि चितवनमा यसखालको कार्यक्रम गरिएको सम्झदै भने, ‘नेपालगन्जले पनि आफुलाई चिनाउने अवसर पाएको छ ।’
बुधबार, राष्ट्रिय सम्मेलनको अघिल्लो दिन ‘प्रि कन्फ्रेन्स वर्कशप’ गरिएको छ । वर्कशपमा सहभागीहरुलाई एशोसिएसनका अध्यक्ष डा. थापाले प्रमाणपत्र प्रदान गरे । वर्कशपमा सहभागीहरु बीच चिकित्सकहरुले विभिन्न प्रस्तुतिहरु बारे छलफल गरेका थिए । आज औपचारिक कार्यक्रम बीच ‘अर्थोकन’को शुभारम्भ गरिने छ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनले हाडजोर्नीका क्षेत्रमा भएका उपलब्धीहरुको समिक्षा गर्दै आवश्यक निर्णय लिने बताइएको छ । सम्मेलन स्थल सिद्धार्थ कटेजमा विभिन्न औषधी कम्पनीहरुले प्रचारात्मक स्टल समेत लगाएका छन् ।