दैनिक नेपालगन्ज/समाचारदाता
‘भ्यालेन्टाइन डेको दिन रमाइलो गर्न छाडेर भलिबलका लागि नेपालगन्ज आउनु भयो त ?’, पत्रकार कृष्ण अधिकारीको प्रश्नमा मुस्कुराउँदै मिस नेपाल निकिता चाण्डकले भनिन्, ‘मलाई भ्यालेन्टाइन भन्दा भलिबल प्यारो लागेको छ ।’
प्रणय दिवसमा नेपालगन्ज आएकी निकिताले भलिबलसँग माया बसेको बताइन् । उनले भनिन, ‘अहिले सम्म मैले प्रणय दिवस मनाएको छैन । आज भलिबलसँग प्रणय दिवस मनाइरहेकी छु । यो पनि माया हो । अब भलिबलसँग म झन् निकट भएकी छु ।’
नेपालगन्ज हुँदै सुर्खेत, दैलेख पुगे पनि नेपालगन्जको हावापानी सँग घुलमिल नभएकी मिस नेपाल चाण्डक पहिलो पटक यसरी रमाउन पाएको बताइन् । पर्यटकहरुलाई लक्षित गरी कोहलपुरमा हालसालै खुलेको होटल सेन्ट्रल प्लाजामा पहिलो पटक पुगेकी मिस नेपाल चाण्डकले बाँकेका सञ्चारकर्मीहरुसँग भनिन्, ‘प्रधानमन्त्री कप प्रतियोगितासँग जोडिन पाउँदा खुशी लागेको छ ।’
बिहीबार देखि आयोजना हुने प्रधानमन्त्री कप भलिबलको पाँचौ संस्करणका लागि सद्भावना दूत बनेर मिस नेपाल चाण्डक नेपालगन्ज आइपुगेकी हुन् । उनले महिला विकास र सशक्तिकरणका लागि महिला भलिबलसंग जोडिएर काम गर्न पाउनु गर्वको कुरा भएको बताइन् ।
प्रतियोगिताको प्रवद्र्धन गर्न चाण्डकसँगै मिस नेपालको आयोजक हिडेन ट्रेजरका प्रमोटर एवम मिस नेपाल इभेन्टका निर्देशक सुवर्ण क्षेत्री नेपालगन्जमा आएका छन् । ‘उद्देश्य मिलेकाले प्रधानमन्त्री कप सँग सहकार्य गरियो’, क्षेत्रीले सञ्चारकर्मीहरुसँग भने, ‘मिस नेपालको उद्देश्य पनि महिलाहरुको क्षमता विकास र उनीहरुको सशक्तिकरण नै हो ।’ ‘नेशनल प्रोडक्ट, इन्टरनेशनल इमेज’, मिस नेपालको आयोजनाबारे टिप्पणी गर्दै क्षेत्रीले भने, ‘तर, सरकारले सुनेन, बुझेन ।’ यसको उपयोग गर्नपनि नसकेको उनको गुनासो थियो ।
आयोजक बाँके जिल्ला भलिबल संघले हिडेन टे«जरसँग सहकार्य गरेर मिस नेपाललाई प्रतियोगिताको सद्भावना दूतको रुपमा सम्झौता गरेको छ । यसअघि प्रतियोगिताको तेस्रो संस्करणमा अभिनेत्री रेखा थापा र त्यसपछि क्रिकेटर महेश क्षेत्री सद्भावना दूत थिए । ‘अबका संस्करणहरुमा मिस नेपाल नै हाम्रो सद्भावना दूतका रुपमा रहनेछन्’, संघका अध्यक्ष टिएस ठकुरीले दैनिक नेपालगन्जसँग भने ।