दैनिक नेपालगन्जको यो स्तम्भ लेखन एउटा संयोग हो । वृत्तचित्र निर्माण र रेडियो नेपालको सिंहदरवार स्टुडियोसंगको सानिध्यताका कारण टाढिएको मेरो पत्रिका लेखन पुनः आरम्भको संयोग । नेपालगन्जमा पत्रकारिताको कालखण्डमा संगै काम गरेका दाई झलक गैरेले गरेको आग्रह र मेरो स्वीकारोक्तिको प्रतिक्रिया हो यो स्तम्भ । जसमा म पहिलो चरणमा हाम्रो खजुराका बारेमा केही लेख्ने गर्दै आएको छु ।
यो अंकमा खासमा म ‘भट्टी छोडी मैदानतिर ः एक गज्जब कथा’ शीर्षकमा विगतको स्मरणसहितको लेखको तयारीमा थिएँ । तर विगत २ साताको लेख, त्यसमा उठाइएका विषय, व्यक्तित्व र सन्दर्भका विषयमा फरक फरक ढंगका निकै प्रतिक्रियाले आजको स्तम्भको स्वरुप ग्रहण गर्ने अवस्था सिर्जना ग¥यो । ‘भट्टी छोडी मैदानतिर ः एक गज्जब कथा’ अर्को सातामा ।
विगतको २ लेख र त्यसपछिका प्रतिक्रियाले मलाई मेरो दायित्व, मप्रतिको विश्वास र आशाप्रति वोध गराउनाका साथै थप जिम्मेवार बनाउन मद्धत पु¥याएको अनुभव गरेको छु । संगै केही मेरा भ्रम निवारण पनि गरेका छन् । कतिपय प्रतिक्रियाहरुले तथ्यको वोध गरायो र केही नयाँ भ्रम, अविश्वास, पूर्वाग्रह र दूराग्रहको सामना पनि गर्न वाध्य बनायो । र, केही लेख्नै पर्ने अवस्था सिर्जना गरायो ।
हो, खजुरा एउटा सानो ठाउँ हो । बाँके जिल्लाको एउटा सानो भू भाग । तर हामी कतिपयका लागि त्यो नै सबथोक । घर त्यही छ । बाबुआमा त्यही छन् । २ छाक भात खाने चामल त्यही फल्छ । वाध्यता, विवशता, आवश्यकता, महत्वाकाँक्षा आदि विभिन्न कारणले कोही स्वदेशकै कुनै कुनामा होलान त कोही विदेशको कुनै कुनामा । तर अधिकांसका सपना त्यही खजुरासंग जोडिएका छन् । राती सुत्दा देखिने सपना पनि खजुरासंगै जोडिएको छ निंद्रा लाग्न नदिने सपना पनि त्यही खजुरासंग जोडिएका छन् । त्यसैले त्यहाँका दैनिक गतिविधि, विकास निर्माणमा जोडिन मन लाग्छ । सक्दा भौतिक रुपमै त नसक्दा पर्यवेक्षककै रुपमा पनि । विगतमा स्वयंसेवी रुपमा क्यान्सर अस्पतालमा जोडिँदा होस् वा सदस्यका रुपमा खजुरा क्षेत्र संरक्षण समितिमा रहँदा । सकेको गरेको आत्ममूल्यांकन छ । सही अर्थमा मूल्यांकन त अरुले गर्ने हो ।
आजको लेख महलसंग सम्वन्धित छ । तर भौतिक महल अर्थात् गगनचुम्बी घर होइन । आशाको महल, विश्वासको महल, भरोसाको महल, सपनाको महल आदि, जुन सपनाबाट सुरु हुन्छ र यथार्थमा परिणत हुन्छ । जसको मिठास सायद गगनचुम्बी घर भन्दा बढी हुन्छ । जब विश्वासका महल खडा हुन्छन् सयौं गगनचुम्बी महलहरु तयार गर्न खासै कठिनाई हुँदैन । हो, त्यो विश्वासको महलको सुरुवात हुन्छ, सपनाबाट । त्यो महलरुपी विश्वासको नाम संस्था, संगठन, सामाजिक, राजनीतिक, आर्थिक, व्यवसायिक समूह जे पनि हुन्छ । त्यही दृढ सपनाबाट सुरु भएका विश्वासका महलहरुकै कारण मानिस आज सामाजिक प्राणीका रुपमा रहन सकेको हो ।
जब हामी स्थानीय लक्ष्मीनारायण भगवान (मन्दिर) को प्राङ्गणमा भेला भएर अस्पताल बनाउने कुरा गर्दथ्र्यौं । त्यतिबेला आजको प्रखर सुशील कोइराला क्यान्सर अस्पतालको तस्विर थिएन । थियो त बस सबैको आँखामा सपना र त्यही सपनाले बनाएको अस्पतालको स्वप्नमहल । अस्पताल निर्माण गर्ने विश्वासको महल । स्थानीय अगुवा रामचन्द्र बोगटी त्यसबारे सबैभन्दा बढी भन्न सक्नुहुन्छ । आज सिंगो खजुराको शिरझैं उभिएको छ प्रखर सुशील कोइराला क्यान्सर अस्पतालको भव्य महल । अझै थुप्रै भवन बन्ने क्रममा छन् । बन्नेछन् । त्यो अस्पताल भवन त्यसै ठडिएको होइन । हुँदै होइन । मैले यसअघिको लेखमा अस्पताललाई आजसम्म ल्याइ पु¥याउने मध्येका कतिपय व्यक्तित्वहरुको नाम बिर्सिएको, इतिहास बङ्गग्याउन खोजेको, केही व्यक्तिप्रति आग्रही भएको वा केहीप्रति पूर्वाग्रही भएको भन्ने सम्मका आशंकाहरु जन्माइए जुन किमार्थ होइन । म त्यस्तो इतिहासकार पनि होइन कि अस्पताल निर्माणको समग्र इतिहास तोडमोड गरेर लेख्ने हैसियत राखुँ ।
मैले जति नै व्यक्तिको नाम लेखे पनि लेखिने भन्दा बढी छुट्नेकै नाम बढी हुन्छ । किनभने त्यो महामानवसागरको विश्वासको महल थियो, जुन क्यान्सर अस्पतालका रुपमा स्थापित भएको छ । त्यस पृष्ठभूमिमा भारतीय हिन्दू धर्म गुरु महामण्डलेश्वर प्रखरजी महाराज र अस्पतालका प्रेरणा नेपाली धर्मगुरु दिनदयालजी महाराजलाई कसैले चाहेर पनि बिर्सन सक्दैन । खजुराको, क्यान्सर अस्पतालको वा खजुरा खानेपानीको विस्तृत इतिहास लेख्नै परे सबैसंग खुला छलफल गरेर अघि बढ्न कसैले कन्जुस्याई गर्दैन र गर्न हुँदैन भन्नेमा म दृढ छु ।
त्यसअघि पनि खजुरावासीले सामाजिक संस्थाहरु, ज्ञानोदय प्राविलाई उच्च मावि, क्याम्पससम्म पुर्याएका हौं । आदर्श माविलाई उच्च मावि बनाएकै हो । जनता माविमा कृषि क्याम्पस बनाउने प्रक्रिया अघि बढि नै रहेको छ । खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्थापना गरी निरन्तर सञ्चालन गर्दै आएका हौं । खजुरा क्षेत्र संरक्षण समिति स्थापना गरी सामाजिक अभियान चलाएका हौं । खजुरा क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, कृषि, सञ्चार लगायतका यावत विकासका कामले गति पाएको सामाजिक अभियानले नै हो । रेडक्रसको स्थानीय शाखाले गरेका मानव सेवाका काम के प्रशंसनीय छैन र ? यतिका काम केहीमात्र व्यक्ति वा व्यक्तित्वले सम्पन्न गरेका होइनन् । कसैको सपना, कैयौंको प्रयत्न, कैयौंको लगानी, साथ र सहयोगले ती संरचना ठडिएका हुन । विश्वासका महलहरु वास्तविकतामा परिणत भएका हुन् । ती सपना देख्ने आँखा र प्रयत्न, लगानी, साथ र सहयोग गर्ने हातहरुलाई हार्दिक नमन । उच्च सम्मान ।
खासमा, त्यस्ता विश्वासका महललाई यथार्थमा बदल्न नेतृत्व लिनेहरु स्वयं पनि क्रमशः विश्वासको महलकै रुपमा स्थापित हुँदै जान्छन् । तिनै नेतृत्वको भरोसामा विभिन्न अभियानहरु सञ्चालित हुन्छन् र लक्ष्यहरु हासिल हुन्छन् । हो, खजुराका पक्षमा ती हातहरुले त्यही गरे, खजुराले त्यही ग¥यो । हिजो त्यसो नगरेको भए आज खजुरामा यतिका धेरै सामाजिक संस्थाहरु हुँदैन थिए । राजनीतिक÷सामाजिक संस्थाहरुमा पुगेकाहरु पनि अनुभव र खारिएकाहरु नहुन पनि सक्थे ।
मानिस अतृप्त छ । आज भन्दा भोलि माथि उक्लन, लम्कन चाहन्छ । संगै आफू, आफ्नो परिवार, समुदाय र समाजलाई अगाडी बढाउन चाहन्छ । एउटा उदाहरण खजुरा क्षेत्र संरक्षण समितिको पदाधिकारी हुन मतदानमा गएको हिजोमात्र हो जस्तो लाग्छ मलाई । निकै प्रतिस्पर्धा भएको । आज ती व्यक्तित्वहरु माथिल्लो जनसेवी संस्थामा हुनुहुन्छ । खजुरा क्षेत्र संरक्षण समितिमा त्यसपछिका पुस्ताको निरन्तरता कायमै छ । यो अविछिन्न प्रक्रियाका रुपमा रहिरहोस् । नेतृत्व उत्पादन भैरहोस् । शुभकामना ।
खजुरामा यस्ता कैयौं राजनीतिक हस्तीहरु हुनुहुन्छ जसले निर्वाचन जित्ने हैसियत राख्नुभयो । फत्तेहसिंह थारु, कृष्णसिंह परियार, शैयद मेराज अहमद शाह, कैलाशनाथ कसौंधन, पूर्णकुमारी सुवेदी, दलबहादुर सुनार हुँदै नन्दलाल रोकायसम्म । उहाँहरुको नाम, सामाजिक, आर्थिक, राजनीतिक पृष्ठभूमिबाट यसको पुष्टि हुन्छ कि उहाँहरुलाई त्यो हैसियतमा पु¥याउने ती मानवसागर, जसले कहिल्यै आग्रह वा पूर्वाग्रह साँधेको छैन । किनभने प्रत्येक पटकजसो फरक पृष्ठभूभिका मानिसहरुले स्थानीय राजनीतिक नेतृत्व लिएका छन् । उहाँहरु मध्ये कोही पनि दोहोरिएका छैनन्, प्रत्यक्ष निर्वाचनमा । त्यसका विभिन्न कारणहरु होलान । त्यसमध्येको सबैभन्दा ठूलो कारण हो, टुप्पोमा पुग्नु र टिक्नुको कथा । टिक्नलाई विश्वासको महल ठड्याउनै पर्छ । र, हामी धेरैलाई थाहा छ विश्वासको महल ठड्याउन सपना देख्नुपर्छ र यथार्थमा परिणत गराउनु पर्छ । मानवसागर त्यसमा लामबद्ध हुनैपर्छ । बहुमतले चुनाव जितेकाहरु पनि विश्वासको महल खडा गर्न तथा विश्वासको महलका रुपमा खडा हुन पनि सामाजिक सेवा रुपी समुन्द्रमा मिसिनैपर्छ । समुन्द्रमा नमिसिएकाहरु समयक्रमले गुमनाम भएका छन् । हुनेछन् ।
मलाई लाग्छ खजुरा क्षेत्रको समग्र विकास सामाजिक कार्य वा सामाजिक सेवाबाट मात्र सम्भव छ । विकासमा समान सहभागिताबाटमात्र सम्भव छ । आग्रह र पूर्वाग्रहबाट माथि उठेरमात्र सम्भव छ । सामाजिक भेला, सचेतनामूलक कार्यक्रम, धार्मिक, साँस्कृतिक, सरसफाई लगायतका विभिन्न सामाजिक अभियान सञ्चालन गरेर सम्भव छ । स्थानीयका घर घरमा स्वच्छ खानेपानी पु¥याएर सम्भव छ । सबैका बालबालिकालाई विद्यालयसम्म पहुँच स्थापित गरेर सम्भव छ । सबैका घरसम्म शौचालयको सुविधा पु¥याएर मात्र सम्भव छ । युवालाई रोजगारी र खेलकूदमा जोडेर सम्भव छ । रोगीको उपचार र स्याहारबाट सम्भव छ । र यी सबै कामहरु कुनै एक वा दुई व्यक्तिबाट सम्भव छैन । हामी सबै एकाकार भए त्यो असम्भव छँदैछैन ।
खजुराको इतिहास भन्छ, अभियानको श्री गणेश गर्न मिलन सापकोटाहरु, आँट भर्न उत्तमराज घिमिरे, अतिउल्लाह खाँ, कृष्ण थपलियाहरु, विधान लेख्न शरण कर्माचार्यहरु, संस्था हाँक्न शिवराज श्रेष्ठ, किश्मत कक्षपति, वेदनिधि प्याकूरेल, रमेश सिंजाली, झुकमाया जिएम, एकमाया विक, डम्मर विकहरु र साथ दिन सयौं ऋषिराम सापकोटा, मानबहादुर भण्डारी, तारामणि अधिकारी, सतीश निरौला, आदित्य यादव, खिम बराल, विवेक लामिछाने, असलम भाटहरु सक्षम छन् । तयार छन् । यहाँ दिइएका नाम उदाहरण मात्र हुन कसैसंग आग्रही वा पूर्वाग्रही हुँदै होइन । कुरा यतिमात्र हो ढिलोचाँडो आग्रह र पूर्वाग्रहबाट माथि उठ्नै पर्छ । गर्न खोज्नेको खुट्टा तान्ने होइन कि उसको क्षमता र योग्यताको सदुपयोग गर्दै विकासको कार्यलाई अविछिन्न प्रक्रियाका रुपमा बगाउनु पर्छ । बग्न दिनुपर्छ । अन्त्यमा फेरि पनि आग्रह सामाजिक अभियान र विकासको कार्यमा एकमत बनाउँ । खजुराको दू्रत विकास यसैबाट सम्भव छ ।