नेपालगन्जमा ट्राफिक ब्यवस्थापन, सडकमै पार्किंङ ठेक्का !

दैनिक नेपालगन्ज/समाचारदाता

नेपालगन्जमा ठेला सहित फुटपाथ पसलेबाट सडक कब्जा भइरहेको विषयमा प्रभावकारी कारवाही अघि बढाउन खोजिरहेको नेपालगन्ज उपमहानगरपालिका सँगै ठेक्का लिएका ठेकेदारले सडकमै पार्किंङ गरी रकम असुल गरिरहेको खुलेको छ ।

 

नेपालगन्ज स्थिति सेवाप्रदायक कार्यालयहरुको अगाडि मोटरसाइकल र साइकल पार्किंङको लागि उचित स्थान नहुँदा पनि कार्यालय अगाडि सडकमा नै पार्किंग गर्ने गरी ठेकेदारले रकम असुली गरिरहेका हुन् । ‘पार्किङका लागि स्थान नै नभएका ठाउँमा कसरी उपमहानगरपालिकाले ठेक्का दियो ?’, स्थानीयबासी भन्छन् ।

 
मालपोत कार्यालय बाँके अगाडि बीच सडकमै ठेक्का लिएर पार्किंङबाट रकम असूल गर्दै आएका ठेकेदार रोशन भट्टले प्रति महिना २ हजार रुपैयाँ उपमहानगरपालिकामा बुझाउने गरी ठेक्का स्वीकार गरेको बताएका छन् । २०७४ साल कार्तिक महिना ६ गते भएको ठेक्का सम्झौतामा मालपोत कार्यालय अगाडि उल्लेख गरिएपनि मालपोत अगाडी कुनै उचित पार्किंङ स्थान फेला नपरेपछि अचेल सडकमा नै पार्किंङको ब्यवस्था मिलाएर रकम असूली भइरहेको छ ।
सडकबाट फुटपाथ कब्जा, ठेला, ईरिक्सा हटाउने प्रभावकारी अभियान संचालनको तर्क गरिरहेको उपमहानरपालिकाले सडकमै ठेक्का दिएर यात्री आवागमनमा असुविधा उत्पन्न गरेको छ । सडकबाट पसल र ठेला हटाएको केहि घण्टामै अवस्था पुरानो स्थितिमा फर्कने गरेको पाइयो ।

 

 

विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्ज देखि त्रिवेणी मोड सम्मको सडकको अवस्था अब्यवस्थायुक्त पाइयो । ‘फलफूलका ठेला हटेको केहि घण्टामा नै पुरानो स्थानमा पुग्छन्’, स्थानीयले भने, ‘अभियान देखावटी मात्रै भयो ।’
मालपोत कार्यालय अगाडि उपमहानरपालिका कार्यालयले सडकमा दिएको पार्किंङ ठेक्काका कारण सेवाग्राहीलाई समेत आवत जावतमा समस्या परेको छ । मालपोत कार्यालय छेउमा कुनै उपयुक्त स्थान नभएका कारण सडकमा पार्किंङ गर्नु परेको ठेकेदार रोशन भट्टले बताए ।

 

 

पार्किंङबाट रकम असूलीको लागि काम गर्दै आएका ठेकेदारका प्रतिनिधि हर्क बहादुर गुरुङले सडकमै सम्झौता भएको बताएका छन् । ‘यहाँ उचित स्थान छैन भन्ने जानकारी पहिला नै थियो’, उनले भने, ‘उपमहानगरपालिकाले तोकिदिए बमोजिम हामी काम गर्दैछौं ।’

 

 

पुष्पलाल चोक देखि गणेशमान चोक, चारबाहिनी चोक देखि त्रिभुवन चोक सम्म पार्किंग व्यवस्थापन गर्ने अभियान चलिरहेको बताउँदै नेपालगन्ज उपमहानगरपालिका कार्यालयका सूचना अधिकृत शरद पौडेलले भने, ‘सडकमा पार्किंङ गर्न पाउने सम्झौता भएको होइन ।’

 

‘सडकमा भएको अव्यवस्था निगरानी गर्ने जिम्मेवारी प्राप्त भएको कर्मचारीले के गरिरहेका छन्, म बुझ्छु’, दैनिक नेपालगन्ज संग कुरा गर्दै सूचना अधिकृत पौडेलले भने, ‘निरीक्षण शाखा प्रमुख पवन कनोजिया संग यस विषयमा छलफल गर्छु ।’

 

‘सुर्खेत रोडको डिभाइडर हटाएपछि दोस्रो चरणको व्यवस्था भनेको पार्किंङ नै मुख्य विषय हो’, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने, ‘हाम्रो ध्यानाकर्षण पहिले देखि नै छ ।’ ‘सडकमा त्यसरी पार्किंङ गर्ने कार्य पूरै अवैधानिक हो’, प्याकुरेलले भने, ‘पार्किंङको स्थिति अस्थायीझैं छ ।’ ‘हामी चाँडै ब्यवस्थापनको क्रममा छौं’, उनले भने, ‘जनगुनासो जायज हो ।’

प्रतिक्रिया

प्रतिक्रिया