ठगीमा संलग्न पाकिस्तानी जालो खोज्दै प्रहरी

दैनिक नेपालगन्ज/विनय दीक्षित

पाकिस्तानी नम्बरबाट फोन गरी लाटरी लागेको बहानामा खातामा रकम असूल गरी ठगी गर्ने गिरोहलाई बाँके प्रहरीले पश्चिम नेपाल धनगढि देखि काठमाडौ सम्मै खोज्न संयन्त्र सक्रिय गरेको छ । पाकिस्तानी नं.बाट फोन गरी आमनागरिकलाई लाटरी लागेको भनी झुक्याएर खातामा रकम हाल्न लगाई ठगी गर्दै आएका गिरोहका ६ जनालाई बाँके प्रहरीले दुई चरणमा पक्राउ गर्न सफल भएको हो । उनीहरुको संजालले नेपालबाट करोड बढि रकम ठगि गरेको हुन सक्ने प्रहरी अनुमान छ ।

 

२५ लाखको चिठ्ठा (लाटरी) पर्यो भन्दै आम नागरिकलाई ठगी गर्दै आएको गिरोह विरुद्ध बाँके प्रहरीको विशेष टोली पश्चिम नेपाल देखि काठमाडौ सम्म खोजी कार्य तीब्र पारेको हो । देशका फरक फरक जिल्लामा पुगेर खातामा रकम हाल्न लगाएको विषयमा प्रहरी अनुसन्धान अघि बढेको छ । प्रहरीले दैलेख नारायण नगरपालिका २ वस्ने २४ वर्षिय कुमार सुनार, दुल्लु नगरपालिका ११ वस्ने २० वर्षिय मिलन कुमार विक र महावु गाउँपालिका ३ वस्ने १९ वर्षिया करिष्मा सुनार, भारत लखनउ वस्ने २२ वर्षिय अब्बु सैफ खान, नेपालगन्ज ५ बस्ने २२ वर्षिय अकिव ईद्रिसी, वडा नं.६ वस्ने १९ वर्षिय मोहम्मद फाहाद हलवाई र २१ वर्षिय अमिर बाबु कसगरलाई ठगीको आरोपमा फन्दामा लिएको हो ।

 

पाकिस्तानी नं.बाट फोन गरी नेपाली नागरिकलाई २५ लाख रुपैयाँको लाटरी परेको जानकारी दिए केहि रकम खातामा हालेपछि मात्र लाटरीको रकम प्राप्त हुने आश्वासन दिएर ठगी कार्य गर्दै आएकाहरुको मुख्य ब्यक्तिहरु अझै फन्दामा नपरेको प्रहरीले जनाएको छ । ‘पक्राउ परेका ब्यक्तिहरु कार्यकर्ता हुन्, उनीहरुलाई परिचालन गर्ने मुख्य अभियुक्त अझै फन्दामा लिन बाँकी छ’, घटना अनुसन्धान गरिरहेका अधिकारीले भने, ‘यसमा प्राविधिक विषय पनि त्यति नै बुझ्न आवश्यक छ ।’ पाकिस्तानबाट ब्यक्तिहरु बसेर फोन प्रयोग गरेको वा अन्य कुनै माध्यम प्रयोग गरी नागरिकलाई झुक्याउने काम हुन्छ भन्ने विषयमा पनि अनुसन्धान जारी छ ।

 

पक्राउ परेकाहरुबाट प्रहरीले एक लाख १८ हजार रुपैयाँ नगद, मोबाइल फोन, इन्टरनेटमा प्रयोग हुने विभिन्न उपकरण डिभाइसहरु समेत बरामद गरेको जनाएको छ । ‘दुई साता अघि पक्राउ परेको ६ जनाबाट बयानको आधारमा विभिन्न स्थानमा प्रहरीले छापा मार्ने काम गर्दै आएको छ’, प्रहरी अधिकारीले भने, ‘मुख्य निर्देशकलाई खोजी गर्न दर्जन बढि जिल्लामा सक्रियता अघि बढाइएको हो ।’

 

‘भारतीय क्षेत्रबाट फोन अपरेट भएको देखिएको छ’, अनुसन्धान अधिकारीले भने, ‘भारतमा बसेर पाकिस्तानी नं.को कल बाइपास विधिबाट नेपाली नं. मा फोन गर्ने गिरोह भारतमा र नेपालका विभिन्न जिल्लामा चिन्हित गरिएको हो ।’ ‘सोही आधारमा प्रहरी कारावाही हुँदै आएको छ’, अधिकारीले भने, ‘यसमा सक्रिय रहेका ब्यक्तिहरुको संख्या धेरै छ ।’
बर्दिया बढैयाताल गाउँपालिका वडा नं.१ बस्ने खिम बहादुर सुनारलाई २५ लाखको चिठ्ठाको पर्यो भनेर निजबाट १ लाख ८५ हजार रुपैया ठगी गरेको गिरोहले देश भित्र विभिन्न जिल्लाका व्यक्तिहरुलाई पाकिस्तानको नं. बाट फोन गर्ने, भाईवर र ह्वाट्सएपमा म्यासेज पठाउने र भ्वाइस कल मार्फत ठगी गर्ने गरेको पाइएको हो ।

 

 

‘चिठ्ठा मात्रै हैन, कार, गाडी पुरुस्कार परेको भनेर पनि झुक्याएर ठगी गरेको बारे सूचना र उजुरीहरु प्राप्त हुन थालेका छन्’, जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर विष्टले भने, ‘गिरोहको खोजीका लागि ब्यापक रुपमा प्रहरी परिचालन भएको छ ।’

 

 

अनुसन्धानबाट आरोपीहरुले मुगु घर भई काठमाडौ वस्दै आएकी सुमन सुनार, कपिलवस्तु वाणगंगा वस्ने गणेश घिमिरेबाट नगद ५ लाख १० हजार रुपैयाँ लिन सफल भएको खुलेको छ । ‘२५ लाखको लाटरी लागेको सूचना दिएर नगद असूल गरेको पाइयो’, विष्टले भने, ‘अझै रकम दिएर चुपचाप बसेकाहरुको संख्या धेरै रहेको अनुमान छ ।’
‘लामो समय देखि आम नागरिकलाई चिठ्ठा परेको आश्वासनमा ठगी गर्दै आएको गिरोह पीडितहरुबाट पश्चिम देखि नवलपरासी, जनकपुर, काठमाडौ सम्मै रकम असूल गरेको खुलिरहेको छ’, मुद्दा इन्चार्ज विष्टले भने, ‘प्रहरी सक्रियता संगै यस्तो कार्यमा नफस्न आम नागरिकलाई सूचित र प्रचार गर्न निकै आवश्यक छ ।’

 

 

‘लटरीको लोभमा आम नागरिकले करोडौ गुमाएको तथ्यहरु देखिन थालेको छ’, विष्टले भने, ‘अनुमान गरेभन्दा निकै गम्भिर किसिमको घटना भइसकेको छ ।’ ४ जनालाई ठगी मुद्दामा अदालतमा पेश गरिएको र उनीहरु पुर्पक्षका क्रममा रहेको उनले बताए । फोन कलबाट ठगीको सिकार भएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरी गर्न अनुरोध गरेको छ । ‘हामी पीडितलाई तत्काल संम्पर्कमा आउन अनुरोध गरेका छौं’, विष्टले भने, ‘कसैले यस्तो फोन र लाटरी सूचना दिएमा तत्काल प्रहरीलाई सूचित गर्न पनि अनुरोध गरिएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया