इतिहास खजुराको

खजुरा मेरो जन्मभूमि, मेरो बचपना बिताएको ठाउँ त्यतिमात्र होइन मेरो कर्मथलो पनि यहि हो । यहाँ को माटो, हावापानी को सुगन्ध र स्नेह मसङ्ग छ यसकारण मेरालागि खजुरा ‘डियर’ छ त्यसैले यो अंक ‘डियरखजुरा’ ।
मैले कालो पाटीमा क, ख खजुरामा नै लेखे र मेरो भविष्य र सम्भावना पनि यही देखें किनकी म खजुराको आयातित होइन । मेरो मस्तिष्कमा राजनीतिको प्रवाह गराइदिएर मलाई सुझबुझ सहितको राजनीतिमा डोर्याउने ठाउँ हो खजुरा ।

 

 

२०४६ को परिवर्तनका बेला खजुराले बाँकेको राजनीतिमा लिएको स्थान र पुर्याएको योगदान मेरो बालमस्तिस्कले राम्रोसँग मेमोराइज गरेको छ । २०६२÷२०६३ को जनआन्दोलनमा त म आफैं विद्यार्थी नेताको हैसियतले नेतृत्व गरेको छु त्यो समय शाही ‘कु’ मार्फत राज्यले सबै संचारमाध्यममा प्रतिबन्ध लाउँदा यहि खजुरा हो जहाँबाट अनेरास्ववियुको तर्फबाट हामीले ‘बिगुल’ प्रकाशन गरेउ । जनआन्दोलनमा खजुराकी चेली ‘सेतु विक’ले शाहदत प्राप्त गरिन् यसर्थ पनि परिवर्तनको आन्दोलनमा खजुराको योगदान अमुल्य छ ।

 
खजुरा त्यस्तो ‘टाउन’ हो जुन तत्कालीन राजा महेन्द्रले जग्गाविहीन र पूर्व सैनिकहरुलाई सिमा जोगाउने अभिप्रायले बसाएका थिए २०२२ सालमा । करौताका झाडी र जङ्गल फाडेर खुल्ला आकाशमूनि रुखको फेदीमा महिनौ बिताएर बसाइँ गरेको सम्झिने पुस्ता खजुराले अहिलेसम्म पकडेको विकासको गति र यसले भर्नुपर्ने उडानका सन्दर्भमा सन्तुष्ट नभए पनि बेखुसी चाहीँ छैनन् ।

 
शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र संस्कृतको क्षेत्रमा पनि खजुराको योगदान अब्बल नै छ भनेर भन्न हामी खजुराबासीले हिच्किचाउनु पर्ने अवस्था छैन । हामी खजुराबासी भएकोमा गौरव गर्न सक्छौ । खजुराको विमानस्थल र क्यान्सर अस्पतालको चर्चा अघिल्ला लेखमा नै मैले धेरै चर्चा गरिसकेकोले यतिमात्र लेख्न चाहान्छु कि खजुराको विकासलाई जति धक्का एयरपोर्टले दियो त्यस्को दुई गुना असुली जनताबाट जनताकै लागि स्थापित क्यान्सर अस्पतालले गर्ने छ । खजुराबासीको दृढता र एकताको देशमा नै नौलो र अनुपम उदाहरण हो खजुराको क्यान्सर अस्पताल । यसमा सबै खजुराबासीको समान योगदान र हिस्सेदारी छ ।

 

 
राज्यको वेवास्ता र जिल्लाका पहुँचवाला नेताहरु र यहाँका राजनीतिक दलको बुझाइको कमि र अदुरदर्शिताको कारण देशमै राजधानी काठमाडौ बाहिर रहेको एकमात्र केन्द्रीय कार्यालय कपास विकास समिति ‘स्वाश मात्रै धानेर’ कुप्रो परि अघि बढ्दै छ । कपास बिकास समिति खजुराको लागि मात्रै होइन सिङ्गो बाँके जिल्ला कै लागि गौरवको योजना हो भन्ने कुरो बाँकेबाट प्रधानमन्त्री, मन्त्री र सांसद भएका कसैले पनि बुझेनन् भन्न म हिच्किचाउँदिन ।

 

 
अबको खजुराको बाटो खजुरा अब आफ्नो फराकिलो एजेन्डा र योजना सहित अघि बढ्नु पर्छ । अब खजुरालाई समृद्धिको बाटोमा डोर्याउन हामीले समयमै क्यान्सर अस्पतालको सञ्चालनका लागि राज्यलाई दबाब दिनुपर्छ । कपास विकास समितिलाई रिफर्म गरि प्रादेशिक कृषि अनुसन्धान तथा प्रविधि केन्द्र सँगसँगै धागो उद्योग स्थापना गर्नुपर्छ । नेपालगन्ज–गुलरिया सडक खण्ड लाई चार लेनको बनाउने तर्फ अघि बढ्नुपर्छ । सुदुर पश्चिमबाट चल्ने सबै यातायातका साधनहरु राजापुर, ताराताल, गुलरिया, खजुरा हुँदै ब्यवस्थापन गर्ने ।

प्रतिक्रिया

प्रतिक्रिया