मेडिकलमा विभागको ताला

रविन्द्र ठकुरी / दैनिक नेपालगन्ज

 

नेपालगन्जमा स्वास्थ्यमा खेलवाड हुने किसिमको औषधी विक्री वितरण गरेको तथ्य फेला परेपछि औषधी ब्यवस्था विभागले विहिवार तीन वटा मेडिकललाई शिल गरेको छ । नेपालगन्ज सहित बाँकेका अन्य क्षेत्रमा मेडिकल माफियाको गिरोह सक्रिय भइ स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खालको प्रतिबन्धित औषधी विक्री वितरण गरेको विशेष सूचनाका आधारमा औषधी ब्यवस्था विभागको टोली तीन वटा मेडिकललाई कारवाही गरेको हो ।

 

औषधी पसल संचालकको अप्रमाणिकता, बजार मुल्य भन्दा महंगो औषधी र सरकारले प्रतिबन्ध लगाएका औषधी विक्री गरेको आरोपमा मेडिकल सिल गरिएको कारवाहीमा सहभागी जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बताए । औषधी ब्यबस्था विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र बाणिज्य कार्यालयको संयूक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका विभिन्न फार्मेसी र मेडिकलमा कारवाही अघि बढाएको हो । कानून विपरीत कार्य गरेको अभियोगमा औषधी ब्यवस्था बिभागको निर्देशनमा नेपालगन्जका तीन वटा मेडिकलहरुलाई विहिवार शिल गरिएको छ । राँझा स्थित पवन मेडिकल हल, नेपालगन्ज मेडिकल कलेज नजिक दर्शन फर्मा र भेरी अञ्चल अस्पताल नजिक हेल्प स्टार फार्मेसी शिल गरिएको विभागका फार्मेसी निरीक्षक यादव प्रसाद ढकालले बताए ।

 

औषधी पसलहरुमा गम्भीर किसिमको मानवीय स्वास्थ्यमा प्रभाव पार्ने काम कारवाही भएको विशेष सूचनाको आधारमा कारवाही गरिएको ढकालले बताए । ‘अझै कारवाहीको सिलसिला अघि बढाउने तयारी छ’, उनले भने, ‘औषधी ब्यवसायीले गर्न नहुने काम गरिरहेको तथ्य हात लागेको हो ।’ ‘नेपाल सरकारले मुल्य निर्धारण गरेको भन्दा बढि मुल्यमा औषधी बिक्री गरेको र नेपालमा प्रतिबन्धित रहेका भारतीय औषधी विक्री गरेको पाइयो’, ढकालले भने, ‘औषधीको गुणस्तर, स्वास्थ्यमा पार्न सक्ने प्रभाव लगायतको मुल्यांकन गरी मेडिकल संचालकलाई कारवाही गर्ने तयारी छ ।’

 

क्रियाकलापमा सुधारका लागि बारम्बार सुझाव दिँदा पनि अटेरी गरेकोले शिलबन्दी गरिएको अनुगमन समितिका संयोजक राजेन्द्र भुषालले बताए । सिल गरिएका मेडिकल संचलकलाई म्याद भित्रै औषधी ब्यवस्था विभागमा उपस्थिति हुन पत्राचार गरिएको छ । औषधी ब्यवस्था विभागले सुविधायुक्त सहर केन्द्रित कारवाही गरेपनि ग्रामीण क्षेत्रमा अनुगमन नपुगेको सेवाग्राहीको गुनासो छ । गाउँमा प्रतिबन्धित औषधीको कारोबार खुलेआम चलीरहेको श्रोतको दावी छ ।

प्रतिक्रिया

प्रतिक्रिया