युवकको रहस्मय मृत्यु प्रकरण, हत्या अभियोगमा ३ जना पक्राउ

बर्दिया/भावुक योगी
दैनिक नेपालगन्ज

 

 

हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँका १७ वर्षिय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

हत्या आरोपमा पक्राउ पर्नेहरुमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ का २२ वर्षिय रमेश राजवंशी, १७ वर्षिय हरिनारायण दहित चौधरी र कैलालीको जानकी गाउँपालिका ६ का २० वर्षिय विकास चौधरी रहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए । हरिनारायणलाई गाउँबाटै, विकास चौधरीलाई कैलालीबाट र रमेश राजवंशीलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।

 

यही माघ १५ गते राती पेरहनी गाउँमा विवाह भोज भएको स्थान नजिकै मसुरो बारीमा बालकृष्ण आचार्यको हत्या भएको थियो । विवाह भोजमा आएका चारै जना मदिरा पिएर परालमा सुतिरहेका बेला आपसी विवाद गरी मुक्का र चिरपट प्रहार गरी आचार्यको हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

 

हत्या आरोपमा पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा दायर गरी थप अनुसन्धान भैरहेको बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले बताए । छिमेकी गाउँको विवाह हेर्न गएका आचार्य तीन दिन पछि माघ १७ गते खेतमा मृत अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया