आज हामी जुन स्थानलाई त्रिभुवन चोक भन्दै छौं त्यहाँ त्रिभुवनको शालिक ढालिनु भन्दा पहिलासम्म त्यसलाई चौक बजार मात्र भनिन्थ्यो । चौक बजार त यसको निर्माण सँगै गुलजार र नेपालगन्जको मुटु नै रहेको छ ।
सन् १८६० मा जंग बहादुरले ब्रिटिश इन्डियाबाट बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फिर्ता पाएपछि बाँकेमा बाँकी किल्लाको प्रशासन अन्तरगत आवादी योग्य जमिनहरु पहिल्यै देखि तुलसीपुर स्टेटका रैयतहरुले रस्ती बस्ती कायम गरी जिमिदारी समेत जोडेकाले बर्दिया र पश्चिम जिल्लाका भु–भाग आफ्ना आठभाई छोरा र १७ भाई, भाइहरुका नाममा वितरण गरेका थिए । र, जग्गा आवाद गर्ने अधिकार समेत दिएका थिए । त्यति बेला तराईका यी भु भाग पुरै जंगल थियो । बाँकेमा पनि थोरै मात्र जग्गा आवाद थियो र बाँकी भु भाग जंगलै थियो ।
जंग बहादुरले पहिल्यैदेखि बसिआएमा जमिन्दारहरुलाई आ–आफ्नो जग्गा कमाई खाने गरी बाँकी सबै जंगलहरुबाट आयस्ता उठाई सरकारलाई तिनै गरी यो बाँके जिल्ला, सल्यान गैडाका बडाहाकिम क–लो बहादुर थापालाई ठेक्कामा दिएका थिए भने यस जग्गामा एउटा सहर बसाउने बारेमा प्रतिवेदन दिन सुब्बा सिद्दिमान राज भण्डारीलाई त्यतातिर पठाएका थिए । सिद्दिमान राजभण्डारीको जाहेरी पछि जंग बहादुर आफुले फिर्ता गरेको जमिनमा नयाँ सहर निर्माण गर्न र त्यसको व्यवस्था मिलाउन पद्यनाभ जोशीलाई खटाइ पठाएका थिए ।
पद्यनाभ जोशीले नेपालगन्ज बजार बसाउन तयारी गरे भने उता लोक बहादुर थापाले भारतीय रेल्वे बिस्तारका लागि आवश्यक काठ र काठ निकासीका लागि काठमहलको निर्माण गराए । यता पद्यनाभ जोशीले बाँकी किल्लालाई भूल आधार मानी त्यसकै दक्षिण पट्टि हालको त्रिवेणीचोक देखि दक्षिण तर्फ माझमा १०८ फिटको सडकको दायाँबायाँ गरी एक लाइन घरहरु निर्माण गर्न थाले । यो सदरलाइनका घरहरु दक्षिणमा हाल ओमकार मल खेतानको घरसम्म मात्र थियो ।
अहिले त्रिभुवन चोक भएका ठाउँमा प्रशस्त चौडायी भएको चोकलाई चार बाटो बनाइ चोक पूर्व लाइन भनेर पूर्वतर्फ हाल पत्रकार पन्नलाल गुप्ताज्यूको घरसम्म र चोक पश्चिम लाइन, इदगाहरोड (नगरपालिका जाने बाटो)को माझमा पर्ने निमको बोटसम्म, झिंगटीवाल पसल कबल सहितका घरहरु निर्माण गराएर नेपालगन्ज बजार बनाए । त्यसै समयदेखि चोक बजार यस सहर मुटु भएको थियो ।
यस चोकको माझ भागमा एउटा चारपाटे, दुई तले घर ठड्याइयो । ठिक अहिलेको शालिक भएको ठाउँमा । नेपालगन्जमा व्यापार गर्न आउने ठूला महाजनहरुलाई त्रिभुवन चोक र त्रिभुवन चोककै ओरीपरिका घरहरु दिए । जसले गर्दा चोक बजार गुलजार रहन्थ्यो ।
चोक बजारको पूर्वपट्टी डिभाइडर जस्तै गरेर माझमा तरकारी पसलहरु बनाइयो । दुवै पट्टिको सडकबाट तरकारी किन्न सकिने गरी काठका खाँवा र खरले छाएका तरकारी मण्डी थियो । बिस्तारै व्यापारीहरु बस्दै बस्दै बढ्दै गयो । व्यापार निकासीको व्यवस्थापन हुँदै गयो । अनि चोक बजारको माझमा बनेको चारपाटे घर माथिको तल्लामा भन्सार अड्डा खोलियो । सो भन्सार अड्डाको भन्सार पनि ठेक्कैमा थियो ।
चोक बजारको उत्तर र पश्चिम तर्फ स–साना पसलेहरुको बिसाती दैनिक पसल सडकमै थाप्दथे । जहाँ खाजा, सातु, चना, भुजा (मुढी) र दही बेचिन्थ्यो । चोक पश्चिम पट्टि ठूल्ठूला कडाही (लोहाको) हरुमा दुई चार मन घिउ पगाल्ने र घिउलाई प्रशोधन गरी टिनमा प्याक गरेर राख्ने काम पनि सडकमै सम्पन्न हुन्थे । कुनै वाहनहरु थिएनन् । घोडा र तांगाहरु पनि थोरै मात्रामा थिए । नेपालगन्जको बस्ती विकाससँगै नयाँ, नयाँ टोलहरु बस्दै गए । बन्द व्यापारहरु बढ्दै गए । स्कुल, पाठशाला खुल्दै गए । नयाँ नयाँ अफिसहरु बन्दै गए । बनाउने अड्डा, गोश्वारा, माल, अमिनि अड्डा आदी खुल्दै गए । अनि चोक बजारको रौनक झन् बढ्दै गयो ।
त्यतिबेला मनोरञ्जनको कुनै साधन नभएको बेलामा यहाँका नागरिकहरु चोक बजारका कुना, कुनामा मेला हुन्थ्यो । घिउ, सुठो प्रशोधनको तरिका हेर्दै खाजा पसलमा खाना खाने गर्दथे । नेपालगन्जलाई बजार पूर्ण विकास नहुञ्जेल कहिले दैलेख गौंडा त कहिले सल्यान गौंडाले हेर्ने गर्दथे । नेपालगन्ज बजार बस्ने बेलामा यो सल्यान गांैडाले हेर्ने गर्दथ्यो ।
यता नेपालगन्ज बजार व्यवस्थित हुँदै थियो भने बर्दिया कैलाली, कञ्चनपुर तिर नेपालगन्जको खसियारी बजार जस्तै सिजनल मन्डी बिस्तार हुँदै थियो । त्यतिबेला बर्दियाको राजापुर मन्डी र महेन्द्रनगरको ब्रह्मदेव मण्डी व्यापारीक केन्द्र बन्ने तरखरमा थिए । यी सबैलाई व्यवस्थित न गर्न दैलेख वा सल्यानले नसक्ने भएपछि व्यवस्थापनका लागि वा.व.गो (बाँके, बर्दिया गोश्वारा) खडा गरि बडा हाकिमले यही बस्ने व्यवस्था गरियो र श्री ३ सरकारका प्रतिनिधि भएर बडाहाकिम नेपालगन्ज बस्ने थाले ।
चोक बजारको रौनक बढ्न थालेको थियो । चोक बजारको दक्षिण तर्फ बीच सडकमै मन्दिरहरु निर्माण भए । र, नित्य पुजाआजाको क्रम बढे । विहान ४ बजे बागेश्वरीको डंका बज्न थालेपछि चोक बजारमा पनि चहलपहल बढ्न थालेको हुन्थ्यो । चोक बजारका मन्दिरहरुमा घण्टा, घडियाल बढ्न थाल्यो । भक्तजनहरु मन्दिरमा जम्मा हुने अनि रामायण पाठ ब्रम्हानन्दको भजन र किर्तनहरुले चोक बजारमा गुञ्जायमान हुन्थ्ये । बिहानको ७ बजेपछि चोक बजारको तरकारी बजार सक्रिय हुन्थे । सडक खाजा घरहरु खुल्न थाले । चोकको पूर्वी किनारमा भुजा, बतासा, खुरिया, चना र सालुहरु पाइन्थ्यो । त्यतिबेलाको खाजा त्यही थियो । १० बजे तिर अफिस जाने कर्मचारीहरु एकछिन भएपनि चोक बजारमा उभिएर अनिमात्र अफिस जान्थे ।
महाराजा जुद्ध समशेर एक पटक सिकार खेल्न नेपालगन्ज आउने कुरा चलेपछि तत्कालीन बडाहाकिमले हाल नगर भवन नजिक भन्सार कार्यालय सारे । अनि त्यहाँ महाराजा जुद्ध समशेरको शालिक राख्ने निर्णय गरे । भन्सार भएको चारपट्टि घर भत्काइयो । त्यहाँ गोलाकार गुम्बद भएको शालिक निर्माण स्थल तयार गरेर काठमाडौंबाट अष्ट धातुको शालिक निर्माण गराएर त्यहाँ स्थापित गराइयो ।
गोलाकार भित्र चार ओटा खम्बा माथि गुम्बद त्यही तल माझमा राजसी पोशाकमा श्रीपेच लगाएका जुद्ध समशेर जबराको भव्य शालिकले चोक बजार सुशोभित भएको थियो । नेपालगन्जका बुढापाका भन्थे, सुरु सुरुमा सदरलाइनबाट दक्षिण जाने चोकको चारैतिरबाट आउने जाने बटुवाहरु चोकबाट अघि बढ्नु पर्दा जुद्ध समशेरको शालिकलाई सलाम गरेर मात्र अघि बढ्नु पथ्र्यो रे ।
तत्कालीन समाज पूर्णतः सामन्तीय समाज भएकाले सामन्तीय व्यवहार प्रचलनमा थिए । खर्दार र त्यसमाथिका कर्मचारीहरुका घरमा कमारा कमारी राख्ने चलन थियो । जिमिदारहरु पनि कमाराकमारी राख्थे । मनोरञ्जनको साधन थिएन । चाडवाडको बेलामा नाचगान गर्न भारतबाट बाइजीहरु झिकाइन्थे । नाटक, नौटंकी देखाइन्थ्यो । अरु बेलामा अवध संस्कृतिको लोक नृत्य, भाड भेडैती, रुब बदल, सफेडा, नागहरुको नृत्य, सडक जादु, नरहरुको करतब हुने गर्दथ्यो । बढी मानिस जम्मा हुने हुँदा यी सबै चोक बजारको ओरीपरि नै हुन्थे । सामन्ती संस्कारको कुलतले नेपालगन्जलाई गाँजेको थियो । घरबारीटोल, गाइजात्रा आदीमा ठुला बडाको घरमा तास जुवाका नालहरु हुन्थे । तिहारको पाँच दिन पंचक भरी, मुनादी गराएर नै जुवा फुकुवा गरिन्थ्यो । त्यतिबेला चोक बजारको रौनक अर्को हुन्थ्यो ।
जुद्ध समशेरको शालिकको उत्तर तर्फ लहरै जुवाको खालहरु लाग्थे । गाउँतिरबाट ठूला जिमिदार, सरकारका उच्च पदस्थ कर्मचारी साहु महाजन चोक बजार पुग्थे । जहाँ ५ दिनसम्म दिन रात जुवा खेल्थे । सो जुवा हेर्ने बडा हाकिम समेत हात्तीमा चढेर जुवा हेर्न आउँथे । छिमेकी भारतबाट समेत नेपालमा जुवा खुल्यो भनेर मानिसहरु जुवा खेल्न चोक बजारमा आइ पुग्थे । बुढापाकाहरुले सुनाउँथे, चोक बजारमा जुवाका नालहरुको बजारै हुन्थ्यो रे । बडाहाकिम हात्तीमा चढेर आउँथे र प्रत्येक खालमा मखमलको थैलीमा थली भरी रुपैया भेरेर खालको कुनै एउटामा दाउमा थैली फाल्थे रे । थैलीमा फालेको दाउमा कौडा परेपनि न परेपनि कौडा हान्नेले बडाहाकिमको दाउमा नै कौडा छ भनेर सबको दाउमा राखेको रकम थैली सहित बडा हाकिमलाई टक्र्याउँथे । एवं क्रममा बडा हाकिम सबै नालमा जुवा खेल्ने र पाएको रकमबाट केही चाँदीका रुपैयाँहरु, लौ जितौरी बक्सिस् भनेर भुइँमा पैसा छर्दै हिड्थे रे ।
नेपालगन्ज बस्दै गयो । परिवर्तनका डोबहरु पनि बन्दै गए । २००७ सालको जनक्रान्तिको प्रभाव, चोक बजारमा पनि पर्यो । क्रान्तिकारी युवकहरुले जुद्ध समशेरको शालिक तोड्न खोजे तर शालिक ढाल्ने बाहेक अरु कुनै क्षति पुगेन शालिक । जुद्ध समशेर शालिक श्री पेचहीन अवस्थामा चोक बजारमा स्थापित नै थियो ।
२०१६ सालमा नेपालगन्ज पहिलो नगरपालिका गठन भयो । जसको मेयर मुलचन्द आजाद र उपमेयर पूर्णमान आजाद थिए । त्यस नगरपालिकाको बोर्डले सामन्ती अवशेष, जुद्ध समशेरको शालिक हटाएर त्यहाँ अन्तर्राष्ट्रिय मान्यताको ट्राफिक पोष्ट बनाउने निर्णय गर्यो र चोक बजारबाट जुद्ध समशेरको शालिक हटाइयो र त्यहाँ ट्राफिक पोष्ट बनाइयो ।
म आफ्नो वाल्यकालको चोक बजार सम्झँन्छु । त्यति बेला चो बजारको ओरीपोरी काठको खम्बामा माथि काँचको लेन्टर्नबक्स हुन्थ्यो । त्यसभित्र टुकी बालेर सडक बत्ति बालिन्थ्यो । सडकहरु धुलाम्मे थिए । पीच थिएन । मानिसहरु बिहान बेलुका पानी छर्केर सडकको धुलो सम्याउथे । म जन्मिएको बर्षमै सदरलाइनका घरहरुमा बरसाती बनाउन प्रारम्भ भएको थियो रे । चोक बजारको झिगटीको छाना बाहिरको टीन पाताका पसल हटाएका थिए । उनी त मन्दिरहरु पनि हटाएर बागेश्वरी ओरीपरि स्थापित गर्दै विचारमा थिए तर उनको सरुवा भएपछि त्यसले मूर्त रुप लिन सकेन ।
अहिले ठ्याक्कै तिथिमिति सम्झना भएन तर, २०२०, २१ सालतिर हुनुपर्छ । तत्कालीन नगर पंचायतले त्रिभुवनको शालिक चोक बजारमा स्थापित गरेपछि यो स्थान चोक बजारबाट त्रिभुवन चोक हुन पुग्यो । २०६२ को जनआन्दोनल, मधेस आन्दोलनले त्रिभुवनको शालिक पूर्ण ध्वस्त बनाइ यसको नाम कमल मधेसी चोक भनाउन खोजिए पनि जनजिब्रोमा बसिसकेको त्रिभुवन चोक हट्न सकेको छैन । आज पनि यसलाई त्रिभुवन चोक नै भनिन्छ ।