सन्तोष रेग्मी
संयोगले यो साता श्रद्धेय नेता सुशील कोइरालाको दोश्रो वार्षिकी परेको छ । र, अर्को संयोग नेता सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान मान्दैनौ भनेर अड्डी लिएकाहरु सोही संविधान अनुसार, भएको निर्वाचनबाट निर्वाचित भै संविधान अनुसारै सपथ लिई, प्रदेशसभामा सहभागी भै नेपालको आगामी यात्राको सारथी बन्न उत्रिएका छन् । तेश्रो संयोग आइतवारमात्र हामीले क्यान्सर विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएका छौं । यस ऐतिहासिक घडीमा श्रद्धेय नेता, संविधानका पिता स्वर्गीय सुशील कोइरालाप्रति भावपूर्ण श्रद्धासुमन ।
स्वर्गीय सुशील कोइराला पनि क्यान्सर पीडित हुनुहुन्थ्यो । भलै उहाँको निधन अर्कै कारणले भयो । जीवनभर लो प्रोफाइलमा रहेका भनौं सादा जीवन, उच्च विचारलाई पछ्याएका, जीवनको अन्तिम समयमा दोश्रो ठूलो दल काँग्रेसको नेतृत्व लिएका, निर्वाचनमा पार्टीलाई पहिलो दलका रुपमा पुनस्र्थापित गरेका, दोश्रो संविधानसभाबाट जननिर्वाचित प्रधानमन्त्री भै ऐतिहासिक संविधानसभाबाट संविधान निर्माणको नेतृत्वदायी भूमिका खेलेका स्वर्गीय सुशील कोइराला कै नामबाट खजुराको क्यान्सर अस्पतालको नाम रहन पाउनु सायद हामी सबै खजुरावासीका लागि गौरवको विषय हो । त्यसका लागि विशेषगरी तत्कालीन स्वास्थ्यमन्त्री गगन थापा, क्यान्सर अस्पतालका अध्यक्ष किस्मतकुमार कक्षपति, तत्कालीन महासचिव कमलराज रेग्मीलगायत समस्त कार्यसमिति बधाईका पात्र हुन् ।
आजको दिनमा सुशील कोइरालालाई गुमनाम बनाउन खोज्नेहरु नै धेरै छन् सम्झनेहरुभन्दा । काँग्रेस पार्टी इतरमात्र होइन काँग्रेसभित्रै पनि । त्यसका विभिन्न कारण र स्वार्थहरु होलान् । हामी यस्तो भूगोल, भूराजनीति, स्वार्थ राजनीति र परिस्थितिमा छौं जहाँ वास्तविक राष्ट्रवादीहरु ओझेल पारिन्छन् । लडाइन्छन् भिडाइन्छन् र गुमनाम बनाउन खोजिन्छन् । विपी कोइराला, राजा महेन्द्र, मरिचमान सिंह, मदन भण्डारी, राजा वीरेन्द्र यी यस्ता पात्र हुन जो फरक पृष्ठभूमि, वाद र विचारका मानिस हुन्, जो विभिन्न बहानामा ओझेल पारिए । दृश्यमा देखिए, केही गर्न खोजे, केही गरे, जब त्यसका परिणामहरु आउन थाल्यो विभिन्न बहानामा किनारा लगाइए । कोही मृत्यु रोज्न बाध्य पारिए, कोही कालकोठरीमा बन्द गरिए । यसको पछिल्लो श्रृंखला हुन सुशील कोइराला । यस विषयमा थप अरु कुनै बेला ।
आज मेरो स्मरणमा खजुरा क्षेत्रका लागि सुशील कोइराला, विषयमै केन्द्रित हुन चाहन्छु । खजुरा क्षेत्रका समस्त मानिसले निकै दुःख गरेर उभ्याएका क्यान्सर अस्पतालले उसै सुशील कोइरालालाई जस दिएको होइन । खजुरामा क्यान्सर अस्पतालका लागि स्वर्गीय कोइरालाले गरेको योगदान सायद सबैभन्दा बढी उत्तमराज घिमिरे, किश्मत कक्षपति, रामेश्वर कँडेल, शिवराज श्रेष्ठ र कमलराज रेग्मीहरुलाई थाहा होला । मलाई के थाहा छ भने सुशील कोइराला बाँकेबाट प्रतिनिधित्व गरेर प्रधानमन्त्री भएका एक्लो व्यक्तित्व हो । राजनीतिक परिदृश्यमा बाँकेबाट प्रधानमन्त्री हुने अर्को कोही व्यक्ति पनि तत्काल देखिंदैन । बाँकेबाट भविश्यमा प्रधानमन्त्री हुन सक्ने अनुमानित चेहरा पनि हामीसंग छैन ।
त्यसबाहेक खजुरामा क्यान्सर अस्पताल बन्ने चर्चा भएसंगै सुशील दा त्यसलाई निकै महत्वका साथ लिन थाल्नु भएको थियो । हामीसंगको हरेक भेटमा उहाँ क्यान्सर अस्पतालको विषय के भैरहेको छ भनी सोध्नु हुन्थ्यो । राजनीतिक दौडधूपका बीच पनि नेपालगन्ज आइपुग्दा कैयौं पटक क्यान्सर अस्पतालको निर्मार्णाधीन अवस्था हेर्न पुग्नु भएको छ । महायज्ञ सञ्चालनका क्रमका साथै कैयौं मञ्चहरुबाट क्यान्सर अस्पताल निर्माणमा दिलोज्यानले लाग्ने प्रतिवद्धता गर्नु भएको हो । काँग्रेस पार्टीको उपसभापति र कार्यबाहक सभापतिका रुपमा बजेट व्यवस्थापनलगायतका कैयौं विषयमा तत्कालीन सरकारसंग सहजीकरण गर्नु भएको छ । उहाँ प्रधानमन्त्री भएपछि क्यान्सर अस्पताल निर्माण अघि बढाउन थप सहज भएको हामी सबैलाई अवगत नै छ ।
त्यसको एउटा प्रसंग जोड्न चाहन्छु । एक दिन खजुरा क्षेत्रका व्यक्तित्वहरु सिंहदरवार आउनु भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुशील दा निकै व्यस्त हुनुहन्थ्यो । सायद, राष्ट्रिय विकास समस्या समाधान समितिको महत्वपूर्ण बैठक भैरहेको थियो । रमेश भण्डारी दाई उहाँका स्वकीय सचिव हुनुहन्थ्यो उहाँले सुशील दा लाई खबर गरिदिनु भयो । सुशील दा बैठक बीचमा नै छाडेर निस्कनु भयो । सबैसंग भलाकुसारी गर्नु भयो र बिस्तृत छलफल गर्न सबैलाई बालुवाटारमा आमन्त्रण गर्नुभयो । बालुवाटार म जान सकिन । बालुवाटार बैठक निकै महत्वपूर्ण भएको तत्कालीन पदाधिकारीले पछि बताउनु भएको थियो ।
त्यसबाहेक पनि सुशील कोइराला खजुरा क्षेत्रलाई निकै माया गर्नु हुन्थ्यो । कपास विकास समिति पुनर्सञ्चालनका लागि उहाँले गरेका प्रयास हुन वा जनक शिक्षा सामग्री केन्द्रको क्षेत्रीय छापाखाना खजुरामा स्थापना गर्नुपर्छ भनेर उहाँले गर्नु भएका पहल । सिमलघारीमा रहेको चिनी मिल सुचारु गरेर सयौं स्थानीयलाई रोजगारी दिनुपर्छ भनेर उहाँले लिनु भएको पहल होस् वा खजुरा क्षेत्रलाई कृषि हब बनाउने मुद्दा उठाउनु पर्छ भनेर उहाँले दिनुभएका सुझाव । या चिसापानीमा मेडिकल कलेजको सञ्चालनका लागि सम्वद्धहरुलाई दिएको सुझाव । त्यतिमात्र खजुरा क्षेत्रमा हुने स साना कार्यक्रममा पनि सहभागी हुन आउने उहाँको बानी यी सबैले मलाई उहाँ खजुरा क्षेत्रलाई विमानस्थल उठेर भएको क्षतिको क्षतिपूर्ति गर्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो जस्तो लाग्छ ।
फेरि प्रसंगतिरै अबको खजुरा क्षेत्रको भविश्य हो, प्रखर सुशील कोइराला क्यान्सर अस्पताल । स्थानीय लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा बनाइएको योजना आज समग्र खजुरा क्षेत्रको भविश्यका रुपमा स्थापित भएको छ । यसलाई बाँके जिल्लाको मात्र होइन समग्र मध्य तथा सुदूरपश्चिम क्षेत्रको भविश्यका रुपमा स्थापित गर्ने चुनौति छ । आज स्थानीय सरकार स्थापित भएको छ । प्रदेश सरकार बन्ने क्रममा छ । जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । नागरिक समाज, हामीजस्ता स्थानीय बासिन्दा सबैको आ–आफ्नो भागको भूमिका कार्यान्वयनले उक्त चुनौति चिर्न मद्दत पु¥याउने छ ।
श्रद्धेय सुशील कोइरालाको क्यान्सरको उपचार अमेरिकामा भयो । उनी प्रधानमन्त्री थिए । उनको उपचारमा राज्यले लगानी गरेको थियो । तर नेपालमा ५० हजार भन्दा बढी यस्ता क्यान्सर रोगी रहेको अनुमान छ, जो गरिब छन् । विपन्न छन् । न त उनीहरुसंग क्यान्सरको उपचारमा खर्च गर्ने पैसा नै छ न राज्यले उनीहरुको उपचारमा सहयोग गर्न अग्रसरता लिएको छ । उनीहरु मध्ये कतिपय उपचार अभावमा मृत्यु रोजिरहेका छन् त कतिपय रोग पालेर गुपचुप मृत्यु कुरेर बसेका छन् । हो, उनीहरुको उपचार गर्नु पर्नेछ प्रखर सुशील कोइराला क्यान्सर अस्पतालले । उनीहरुलाई स्वस्थ बनाउनु पर्नेछ प्रखर सुशील कोइराला क्यान्सर अस्पतालले ।
यति ठूलो लक्ष्य लिएको क्यान्सर अस्पतालको सञ्चालनार्थ थुप्रै कुराको आवश्यकता पर्छ । कुशल चिकित्सक, व्यवस्थापक र संरक्षक । त्यसका लागि आजैदेखि सम्वद्धहरुको ध्यान जानु आवश्यक छ । त्यति गर्न सकिए नेपालको संविधान २०७२ का नेतृत्वकर्ता स्वर्गीय सुशील कोइरालाको नाममा स्थापित अस्पतालमात्र होइन समग्र खजुरा क्षेत्र गुल्जार हुनेछ । फेरि पनि श्रद्धेय सुशील कोइरालाप्रति हार्दिक नमन ।