समाचारदाता/रविन्द्र ठकुरी
दैनिक नेपालगन्ज
बर्षौदेखि विद्यालयको जग्गा अतिक्रमण भएपनि हटाउनका लागि स्थानीय प्रशासनले सहयोग नगरेको गुनासो विद्यालयले गरेको छ । नेपालगन्ज–२० मनिकापुर स्थित आदर्श माध्यमिक विद्यालयले विद्यालयको जग्गा कब्जा हुँदा पनि कसैले हटाउन सहयोग नगरिदिएको गुनासो गरेको हो । शनिबार विद्यालयले नेपालगन्जमा पत्रकार सम्मेलन गरी जग्गा संरक्षणका लागि सहयोग गर्न आव्हान गरेको हो । पत्रकार सम्मेलनमा विद्यालयको तीन विगाह भन्दा बढी जग्गा अतिक्रमण भएको भन्दै त्यसले विद्यालयलाई भविष्यका लागि योजना बनाउन समेत समस्या भैरहेको वडा नं। २० अध्यक्ष कृष्ण कार्कीले बताए ।
‘हामीले पटकपटक अतिक्रमण हटाउनका लागि पहल गर्यौं तर कसैले सहयोग गरेनन्’, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश बर्माले भने । कोहलपुर नेपालगन्ज सडक खण्डको छेउमै रहेको आदर्शको २ तले भवन रहेको छ । ‘भवन छ तर विद्यार्थीहरुका लागि खेल्नका लागि चौर छैन’, पत्रकार सम्मेलनमा वडाध्यक्ष कार्कीले भने, ‘खेल मैदान बनाउन उपयोग गर्न सकिने जग्गामा अतिक्रमण गरेर संरचना बनाइएका छन् ।’
‘प्रहरी, प्रशासन र उपमहानगरपालिकालाई अनुरोध गर्यौं तर कुनै उपलब्धी हात लागेन’, अध्यक्ष कार्कीले भने, ‘वडा कार्यालयले पुस १७ गते ४५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि वेवास्ता गरियो ।’ पत्रकार सम्मेलनमा द्वन्द्वकालमा संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै जग्गा कब्जा सुरु भएको र केही शक्तिशाली व्यक्तिहरुले समेत जग्गा कब्जा गरि बसेको जानकारी गराइएको थियो । ‘जग्गा कब्जा गर्नेहरुलाई जति अनुरोध गरेपनि छाड्न मान्दैनन्’, वडाध्यक्ष कार्कीले भने, ‘८२ घरले जग्गा अतिक्रमण गरेका छन् जसमा ३२ जनाको अन्त पनि घर छ ।’ सुकुम्बासी बाहेकले पनि जग्गा कब्जा गरेको भएपनि कसैले विद्यालयलाई जग्गा फिर्ता गराउने पहलमा साथ नदिएको अध्यक्ष कार्कीको गुनासो थियो ।
कार्यक्रममा विद्यालयले बहुमुखी क्याम्पस चलाउने अनुमति प्राप्त गरिसकेको छ । र, त्यसका लागि पनि विद्यालयले जग्गा फिर्ता प्राप्त गर्न सबैले सहयोग गर्न आव्हान गरिएको थियो । पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक प्रकाश आचार्य, जिल्ला शिक्षा कार्यालय बाँकेका प्रतिनिधि गोरख बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।