खोइ सिमा सुरक्षा ?

एसएसबीको एकोहोरो पहरा

झलक गैरे/नेपालगन्ज

नेपाल– भारत सिमानाको बाँके खण्डमा नेपाली सुरक्षा उपस्थिति कमजोर देखिएको छ । भारतीय अर्धसैनिक बल, एसएसबीको एकोहोरो पहरा देखिएको सिमानामा नेपाली सुरक्षाकर्मीको कुनै उपस्थिति देखिंदैन् ।
एसएसबीका जवानहरु दशगजामा कुर्ची राखेर घाम तापेका मात्रै होइन, अत्याधुनिक हतियार सहित भुईमै बसेर पनि पहरा दिएका देखिए । उनीहरु स– सानो युनिट देखि समूहमा गस्ती पनि नियमित गर्ने गरेको स्थानीयवासीले जानकारी दिएका छन् ।

 

शनिबार दैनिक नेपालगन्जको रिर्पोटिङ्ग टिम नेपाल–भारत सीमा नाका जमुनाहबाट ५ किलोमिटर पश्चिमतर्फ पुग्दासम्म ६ ठाउँमा एसएसबीका जवानहरु अत्याधुनिक हतियार लैस गस्तीरत् भेटिए । ‘नेपाली सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल यदाकदा मात्र यता देखिन्छन्’, साइगाउँ नजिक भेटिएका एक स्थानीयबासीले दैनिक नेपालगन्जसँग भने, ‘एसएसबीले त दुई दुई जनाको गस्ती पनि गरिरहेको देखिन्छ ।’ प्रत्यक्षदर्शीका अनुसार, एसएसबीले २४ सै घण्टा सीमामा पहरा दिइरहेको छ ।

 

सिमा सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको सिंगो युनिट परिचालन गरेको छ । दैनिक नेपालगन्ज टिम सिमाक्षेत्र पुगेर फर्किदा सशस्त्रका जवानहरु भने जमुनाह र चौलिक्कामा ‘सडक सुरक्षा’ दिइरहेका देखिए । उनीहरु नेपाल प्रहरीका जवानसँगै ‘यात्रु चेकजाँज र राजस्व चुहावट नियन्त्रण’मा सक्रिय देखिन्थे ।

 

उक्त क्षेत्रमा भारत तर्फ सुख्खा बन्दरगाह निर्माणकार्य भइरहेको छ । नेपाली भू–भागलाई डुबान पार्ने गरि दशगजाकै छेउमा बाँध जस्तो सडक निर्माणकार्य पनि धमाधम भइरहेको छ । जमुनाहदेखि पूर्व तर्फ बाँध जस्तो सडक निर्माण कार्य करिब, करिब पूरा भैसकेको छ । पश्चिम तर्फ धमाधम काम भैरहेको देखिएपछि दैनिक नेपालगन्जले सोधेको प्रश्नमा भारतीय अधिकारीहरु कुनै जवाफ दिन चाहेनन् ।

 

‘प्रत्येक एक किलोमिटरमा भारतीय सुरक्षा बलको पहरा देखिन्छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सिमा सुरक्षा बारे दैनिक नेपालगन्जको चासोमा भने, ‘नेपाली सिमा सुरक्षा पोष्टनै ४÷५ किलोमिटर उत्तर छ ।’ प्रजिअ केसीले ‘क्लोज वाच नभएको’ स्वीकार गर्दै भने, ‘६५ किलोमिटर सिमा क्षेत्रमा ५ वटामात्र सिमा सुरक्षा पोष्ट छन् । ’
सडक बनाउने क्रममा विभिन्न ठाउँमा भैरहेको सीमा अतिक्रमणको समाचारलाई मध्यनजर गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी केसीको भनाइ छ । शुक्रबार मात्रै सुरक्षा टोली सहित प्रजिअ केसीले जमुनाहदेखि साइगाउँ सम्मको सीमा क्षेत्र स्थलगत अवलोकन गरेका छन् । ‘दशगजामा त्यस्तो कुनै समस्या छैन’, प्रजिअ केसीले भने । प्रजिअ केसीले सीमा क्षेत्रमा गस्ती बढाउन निर्देशन दिइएको पनि बताए ।

 

‘तपाई कतिबेला त्यता जानु भयो र हाम्रो गस्ती देखा परेन ?’ सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय बाँकेका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक फणिन्द्र पौडेलले हरेक दिन विहान र बेलुका नियमित गस्ती भैरहेको दाबी गर्दै प्रतिप्रश्न गरे । ‘नियमित गस्तीबाट सीमा सुरक्षा कन्ट्रोल गरिरहेका छौं’, पौडेलले दैनिक नेपालगन्ज सँग भने, ‘एसएसबीसँग पनि प्रत्येक १५÷१५ दिनमा नियमित र आवश्यकता अनुसार कुनै पनि बेला संयुक्त गस्ती गर्ने गरेका छौं ।’

 

सशस्त्र प्रहरीका सईको कमाण्डमा सुख्खा बन्दरगाह निर्माणस्थलमा रहेको टोली पनि केही वर्षयता फिर्ता भएको छ । ‘१२ जना मात्रै बसेकाले तराईको आन्दोलनले असुरक्षित महसुस गरेर फर्किए,’ सुरक्षा अधिकारी भन्छन् । प्रजिअ केसीले भने, दैनिक त्यस क्षेत्रमा जान र सुरक्षा अवस्था नियन्त्रणमा राखिरहन निर्देशित गरेको बताउँछन् ।

 

सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय बाँकेका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक पौडेलका अनुसार, सिमा सुरक्षाका लागि राप्तीपारि कटकुइँया र वारी हिरमिनिया कालाबन्जारमा स्थायी पोष्ट तथा गंगापुर र नरैनापुरमा बेसक्याम्प राखिएको छ । बाँकेकै महेन्द्रनगरमा सिमा सुरक्षा कार्यालयको जिल्ला मुख्यालय राखिएको छ । सशस्त्रले सिमा सुरक्षा सँगै अर्काे युनिटले राजस्व चुहावट नियन्त्रणका लागि भन्सार, औद्योगिक सुरक्षा बलका रुपमा पनि जिल्लामा परिचालित छ ।

प्रतिक्रिया

प्रतिक्रिया