घरबारीटोल

हाम्रो नेपालगन्ज–२

टोलको नाम घरबारीटोल । नेपालगन्जका संभ्रान्त व्यक्तिहरुको बासस्थान । घरबारीटोल बाँके किल्लाबाट उत्तर निस्कने मुख्य मार्ग थियो । दक्षिण तर्फ निस्कने मार्ग भने भट्टी टोल जानेबाटो र बागेश्वरी नजिक फिद्दन मिस्त्रीको घर निर थियो । किल्ला बाहिर दुवै तर्फ एक दुई घरहरु थिए । उत्तर तर्फ खाईको पारि तुलसीपुर स्टेटबाट काजियाना र नौनियानाको सनद रुक्का पाएका मुस्लिम परिवार थियो । उनीहरुले किल्ला भित्रका सैनिक र अन्य सेवामा रहेको कर्मचारी परिवारको जायजन्म र विवाह आदी कार्य गर्ने गर्दथे । दक्षिण पट्टीको खाई पारीका जग्गामा किल्ला भित्रको सरसफाई र मृत्युदण्ड पाएकाहरुलाई फाँसी दिने कार्यका लागि खटिएका त्यस बेलाका दलित, जनजाति, भंगीहरु (वाल्मिकी)को दुई चार घरहरु थिए रे । शेषभाग स–साना वैर र सितहनाका झाडी झुडिया थिए र त्यसैबाट गोरेटो र बैलगाडा, घोडा, गधा हिड्ने बाटो थियो । जो दक्षिण हुँदै भारत तुलसीपुर तिर जान्थ्यो ।

 

उत्तर तर्फ किल्लाको छेउ पार गरेपछि त्यस्तै स्थिति थियो । अनि अहिले राष्ट्र बैंक रहेको ठाउँ नेर धम्बोझी बगैंचा र अलि पर धम्बोझी गाउँ थियो रे । धम्बोझी बगैचा तर्फ बिस्तारित हुँदै जुन बस्तीको विकास भयो त्यो थियो अहिलेको घरबारीटोल । यो घरबारीटोलको विकास कसरी भयो त ? यसको नाम घरबारीटोल नै किन रह्यो ? उत्सुकता हुन्छ नै ।
सुब्बा पद्भनाम जोशीले आफ्नो काममा मद्दत पुग्ने गरी काम गर्न आफ्ना सहयोगीहरु लिएर आएका थिए । रुपाखेती थरका तिनै सहयोगी पण्डितहरुले आफ्नो घरबारी समेत हुने गरी, वैर सितहानाका झाडीहरु फाडेर आवाद गरे । उनै पद्भनाम जोशीकै पनि आफ्नै घरबारी समेत त्यहीँ थियो । नेपालगन्जको बस्ती विकाससँगै सरकारी कार्यालयहरु खुले र ती कार्यालयमा काम गर्ने अधिकांस मानिस र बाँकेका गाउँहरुका ठूला जिमिदारहरुले समेत घर र बारीका लागि त्यहीँ ठाउँलाई घरजम गरे । घरबारीटोलमा रुपाखेतीहरुको परिवार ठूलै छ । चुडामणि, रुपाखेती पं. मेघराज देवकोटा, पं. मुक्तिनाथ अर्याल, रामराजाका सोनार स्थित जग्गा जमिनको व्यवस्था गर्न आएका सुब्बा डिल्लीमान श्रेष्ठको परिबारबाट फैलिंदै घरबारीटोल नेपालगन्जको प्रमुख टोल हुन पुग्यो ।

 

घरबारीटोल संभ्रान्त वर्गको टोल भएको हुनाले नेपालगन्जको विकासमा यस्को महत्वपूर्ण स्थान रहेको छ । नेपालगन्जको सामाजिक, सांस्कृतिक नेतृत्व लिने क्षमता घरबारीटोलसँग थियो । घरबारीटोलका ब्राम्ह्णहरुले ब्राम्ह्ण गुठीको व्यवस्था गरी विवाह, ब्रतवन्ध आदि कार्यलाई चाहिने आवश्यक भाँडाकुंडाको प्रबन्ध गर्दथ्यो । सामूहिक श्रावणी कर्म र कर्मकाण्डीय व्रत पर्व, जुठो सुतक आदिको निर्णय पं. मेघराज शर्माले पण्डितहरुलाई छलफल गराई निर्णय दिने गर्दथे ।

 

पंण्डित कालिप्रसाद रुपाखेती, सु. पद्भनाम जोशी सँग आएका थिए । उनकै सन्तानहरुले घरबारीटोल ढाकेका थिए । नेपालगन्जको बिस्तार सँगै घरबारीटोलको बिस्तार पनि हुँदै गयो । नेपालगन्जमा सरकारी कार्यालयहरु खुल्दै जाने क्रममा त्यहाँ आएका कर्मचारीहरुले पनि घरबारीटोलमै बसोबास गर्न मन पराए । त्यही अनुसार घरबारीटोलमा श्रेष्ठ परिवार, कर्माचार्य परिवारहरु थपिंदै गए । पहिला आएका हुनाले कालीप्रसाद रुपाखेतीले बाँके किल्लाको उत्तर निकासीको पुलदेखि अहिले न्यायाधीश दुर्गा प्रसादको घर भएसम्मको जग्गा ओगटेका थिए । त्यसपछि पं. मेघराज देवकोटाले घरबारी थियो । पछिपछि जनघनत्व बढ्दै गएपछि अहिले धम्बोझी जाने घरबारीटोल पश्चिम लाइन बस्दै गयो र अहिलेको घरबारीटोलको बिस्तार भयो ।

 

नेपालगन्जको रैथानेहरुको पहिलो बस्ती भएको हुनाले त्यहाँको सामाजिक, सांस्कृतिक, राजनीतिक, प्रशासनिक सबै क्षेत्रमा वर्चश्व रहेको थियो । यहाँका युवाहरु, जमिन्दार, पटवारी, सुब्बा, खरदारको मानव पदवी पाएर रजगज र सम्मानका साथ बसेका थिए । घरबारीटोलको अर्को विशेषता भनेको यहाँ ब्राम्ह्ण र नेवार परिवारको सहअस्तित्वका साथ घनिष्टता र एकता थियो । बिस्तारित नेपालगन्जमा घरबारीटोलसँगको प्रतिस्पर्धा गर्न खोज्ने अर्को बस्ती गगनगन्ज थियो । तर, घरबारीटोलको युवाहरुको तुलनामा कमजोर नै ठानिन्थ्यो ।

 

पण्डित मुक्तिनाथ अर्यालको घरभन्दा अगाडी मैदान नै थियो । जहाँ राणाकाल, प्रजातन्त्रकालमा समेत फुलपाती समारोह हुन्थ्यो । बिस्तारै त्यो मैदान पनि भरिंदै भरिंदै गयो । अब फुलपाती समारोह बागेश्वरीको प्रांगणमा एउटा औपचारिकताको निर्वाह मात्र हुने गरेको छ । पुरानो समयको त्यो मेला भीडभाड सहितको फुलपाती समारोह अब कहाँ देख्न पाउनु ।
नेपालको जनक्रान्ति र राजनीतिक जागरणको नेतृत्व पनि त घरबारीटोलले नै गरेको थियो । यहाँका युवाहरु गोपाल बहादुर श्रेष्ठ, श्री कृष्ण श्रेष्ठ, गोपाल बहादुर कर्माचार्य, गणेश बहादुर कर्माचार्य, जनक बहादुर कर्माचार्य, शेखर शर्मा आदिले क्रान्तिको कमाण्डर भै सुदूरपश्चिमसम्म राणा विरुद्ध जिल्ला कब्जा गर्न गएको इतिहास रहेको छ ।
नेपालगन्जमा जनचेतना र प्रजातान्त्रिक विचारको बिउ यहीं रोपिएको थियो । बासुदेव शर्माका जुवाई वा भिनाजु तौलिहवाका वामदेव गौतमले घरबारीटोलका युवाहरुलाई प्रजातान्त्रिक चेतनाको मन्त्रदान दिएको कुरा प्रचलित रहेको छ । पूर्णराज उपाध्याय, ज्ञानराज शर्मा, बासुदेव शर्माहरु नेपालगन्ज र बर्दियामा प्रजातान्त्रिक आन्दोलनका लागि संगठन बिस्तारमा प्रमुख भूमिका निर्वाह गरेका थिए ।

 

नेपालगन्जको प्रजातान्त्रिक आन्दोलनमा घरबारीटोलका युवाहरुले सक्रिय सहभागिता जनाएको पाइएको छ । सांस्कृतिक चेनामा पनि घरबारीटोलको महत्वपूर्ण भूमिका रहेको छ । घरबारीटोलका युवाहरु मदन कुमार श्रेष्ठ, नारायण प्रसाद श्रेष्ठ, देवु बहादुर श्रेष्ठ, मोहनलाल श्रेष्ठ, शेखर शर्माहरु भएर नवयुवक सांस्कृतिक मण्डल निर्माण गरेका थिए । यस मण्डलमा गगनगन्जका वि.विकास र पूर्णमान आजादको पनि सहभागिता थियो । यस सांस्कृतिक मण्डलले घरबारीटोल, एमपी स्कुल र गगनगन्जमा नाटकहरु प्रदर्शन गरेका थिए । संगीतकार बब्रुवाहन सिंह, तीर्थमान पटवारी, गायक महेन्द्र बहादुर हमाल आदी यसै मण्डलको उपज हुन् । नेपालगन्जमा रंगमंचको थालनी त भयो तर विकास हुन सकेन । किनभने नेपालगन्ज अवध संस्कृतिको क्षेत्र थियो । यहाँ नौटंकीको प्रभाव थियो । नाटक प्रदर्शन गर्न पनि रामलीला वा विवाह पंचमीको लघु रामलीलामा समावेश हुनुपर्ने बाध्यता थियो ।

 

साहित्यको क्षेत्रमा गगनगन्जको इन्द्रमणि ‘मानव’ र वि.विकासको क्षेत्रमा नेतृत्व लिए पनि त्यसको विकासमा घरबारीटोल नै अग्रणी थियो । ‘स्वराष्ट्र’ को प्रकाशनमा इन्द्रमणि मानव सँगै घरबारीटोलका जगत बहादुर सिंह सहयोगी हुनुहुन्थ्यो भने ‘अनुराधा’ को प्रकाशन पाटन प्रिन्टिङ्ग प्रेसले गरेपनि हिन्दी, नेपालीमा लेख्ने अधिकांश युवाहरु घरबारीटोल मै थिए । मोहनलाल श्रेष्ठ, देवु बहादुर श्रेष्ठ भगवत् जङ्ग राणा, कृष्णजङ्ग राणा, तीर्थमान पटवारी, शान्ति श्रेष्ठ (शान्तनु) श्रवण कुमार श्रेष्ठहरु घरवारीटोल कै थिए ।

 

नेपालगन्जमा कहिलेकाहीँ हिन्दु मुस्लिम तनाव भएको बखत, हिन्दु युवाहरु र मुस्लिम युवाहरु दुवैथरी संरक्षण खोज्न घरबारीटोल पुग्दथे । त्यसको मूल कारण थियो घरबारीटोलको सहअस्तित्व स्वीकार्ने परम्परा र हिन्दु मुस्लिम दुवै वर्गसँग समान व्यवहार गर्ने बानी । त्यसैले यहाँका हिन्दु, मधेसी, समुदाय र मुस्लिम, मधेसी समुदाय घरबारीटोलका युवाहरु आफ्नो संरक्षक मान्दथ्यो । घरबारीटोलको प्रयासले यहाँ धेरै पटक हिन्दु, मुस्लिम दंगा हुने सम्भावना टरेर गएको छ ।

 

जगतबहादुर सिंह, गोपाल बहादुर सिंह, कर्माचार्य बन्धुहरु, खेमराज श्रेष्ठ, मदन कुमार श्रेष्ठ, रणेन्द्र बहादुर हमाल, युवराज शर्माहरुले राजनीतिक रुपमा जिल्लाको नेतृत्व दिएका थिए । साहित्यिक सांस्कृतिक क्षेत्रमा मदन कुमार श्रेष्ठ, शेखर शर्मा, मोहनलाल श्रेष्ठहरु घरबारीटोलका हस्ती मानिन्थ्ये । घरबारीटोलको एकताको एउटा उदाहरण भएका छन्, शेखर शर्मा, क्रान्ति पूर्व उनको नाम थियो विष्णु प्रसाद अधिकारी । सुदूरपश्चिम क्रान्तिका बखत सरकारी खजानाको रकम लुटपाट गरी क्रान्तिपछि सरकारलाई नफर्काएको भनि उनीमाथि मुद्दा कायम गरी पक्राउ पूर्जी जारी गरियो । त्यतिबेला पुरा घरबारीटोलले विष्णु प्रसाद अधिकारीको नयाँ न्वारन गरेर शेखर शर्मा बनाइ दिए र विष्णु प्रसाद अधिकारी भन्ने व्यक्ति घरबारीटोलमा हुँदै नभएको भनेर शेखर शर्माको बचाउ गरेका थिए ।

 

घरबारीटोलका प्रतिभाहरु मध्ये खेमराज श्रेष्ठ (राजनीति र समाजसेवा), पूर्णराज उपाध्याय (राजनीति र समाजसेवा), बासुदेव शर्मा (राजनीति र समाजसेवा), शेखर शर्मा (राजनीति), गोपाल बहादुर श्रेष्ठ (राजनीति), कर्माचार्य बन्धुहरु (राजनीति), महेन्द्र बहादुर हमाल (संस्कृति), कृष्णजंग राणा (साहित्य), मदन कुमार श्रेष्ठ (राजनीति), रणेन्द्र हमाल (समाजसेवा र राजनीति)मा राष्ट्रिय स्तरमै चर्चित व्यक्तित्व हुन् ।

 

घरबारीटोलमा जन्मेर, आफ्नो व्यवहारले नेपालगन्जमै अत्यन्त लोकप्रिय व्यक्तित्वका रुपमा चर्चित रणेन्द्र बहादुर हमाल घरबारीटोलका शान थिए । अल्पाययुमै निधन नभएको भए नेपालगन्जले एउटा लोकप्रिय अभिभावक पाउन सक्ने थियो । हमाल परिवार घरबारीटोलका विशिष्ट परिवार भएको छ । हमाल बन्धुहरु, रणेन्द्र हमाल, महेन्द्र हमाल, वृजेन्द्र हमाल, गजेन्द्र हमाल, सुरेन्द्र हमाल आ–आफ्ना क्षेत्रमा सफल व्यक्तित्व मानिन्छन् । रणेन्द्र हमालको लोकप्रियता, महेन्द्र हमालको गीत, संगीत, सुरेन्द्र हमालको खेल प्रेम, वृजेन्द्र हमालको खेल प्रेमले उनीहरुलाई चर्चित बनाएको हो । महेन्द्र हमालका जेठा छोरा विरेन्द्र हमाल पनि नाटक र रंगमंचका राष्ट्रिय कलाकारका रुपमा ख्याति प्राप्त छन् । घरबारीटोललाई नेपालगन्जमा महत्वपूर्ण स्थान दिलाउनमा हमाल परिवारको पनि महत्वपूर्ण योगदान रहेको छ । ओलम्पियन सुरेन्द्र हमालमा त आफ्ना दाजु रणेन्द्र हमालको गुण छन् । उस्तै मिलनसारिता, अग्रजहरुको सम्मान साथीभाईको सुखदुःखमा साथ दिनेबानी उनमा पनि छ ।

 

 

घरबारीटोल भन्नासाथ गोपाल बहादुर श्रेष्ठ, कर्माचार्य बन्धुहरुको पुरै परिवारको राजनीतिक संघर्ष, हमाल परिवारको नाटक, गीत, संगीत, खेलकुद आदिका साथ त्यस परिवारको लोकप्रियता, घरबारीटोलको बिस्तारमा रुपाखेती परिवारको योगदान एकै पटक झल्कन्छ । पण्डित क्रान्तिपूर्ण उपाध्याय, मुक्तिनाथ अर्याल, गीतराज रेग्मी, पण्डित मेघराज उपाध्यायहरु ब्राम्ह्ण परिवारका प्रतिष्ठित व्यक्तित्व थिए घरबारी टोलका । घरबारी टोलले शम्भु पटवारीलाई पनि बिर्सन सक्दैन । निकै लामो समयसम्म उनले यस टोलको नेतृत्व गरेका थिए । कृष्णलाल गुभाजु (भुरे मास्टर) को घरबारीटोलमा शिक्षाको क्षेत्रमा गरेको योगदान पनि स्मरणीय छ ।

 

प्रारम्भमा, सबैको घरबारीका लागि बसाइएको घरबारीटोल आज आएर घरबारीटोल बजारको रुपमा फैलिंदै छ । सुब्बा डिल्लीमान, भगवतजंग राणा र पण्डित क्रान्तिपूर्ण, मुक्तिनाथहरुका ठूला घरहरु जहाँ चन्द्र समशेरको पाला भन्दा पहिला करियाहरुले भरिपूर्ण हुन्थे अब देखिदैन । बजारले तिनीहरुलाई ओझेल पारिसकेको छ । घरबारीटोलका संभ्रान्त वर्गका शान, शौकत अब इतिहासका कुरा भै सके । नयाँ व्यापारी वर्गले तिनीहरुलाई अल्पसंख्यक रैनाथेमा परिणत गरिसकेको छ । झण्डै १ सय ६० बर्ष पुरानो यो टोल अब घर र बारीको टोल रहेन अब त यो घरबारीटोल बजार भैसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया