नेपालगन्ज उपमहानगर प्रमुखले सुनाए प्रगति र योजना

रविन्द्र सिंह ठकुरी
नेपालगन्ज/समाचारदाता

सात महिना पछि मिडियासँग औपचारिक रुबरु भएको नेपालगन्ज उपमहानगरपालिकाले आफ्ना प्रगति र योजनाहरु सार्वजनिक गरेको छ । बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै डा. धवल समशेर राणाले पदभार सम्हालदेखि नेपालगन्जका लागि जनप्रतिनिधिहरुले बनाएका योजना र त्यसमा भएका प्रगति बारे जानकारी गराएका हुन् ।
स्थानीय तहको निर्वाचन पश्चात गत असार २२ गते औपचारिक रुपमा जनप्रतिनिधिहरुले पद बहाल गरेका थिए । त्यसयता बसेको उपमहानगरपालिकाको १६ वटा बोर्ड बैठकले नगरका विकासका लागि योजना र निर्णय गर्दै अघि बढेको कार्यक्रममा जानकारी गराइएको थियो । ‘बोर्डका अधिकांस निर्णयहरु कार्यान्वयन भैरहेको छ’, पत्रकार सम्मेलनमा डा. राणाले भने ।

 

सरसफाई तथा विकासका विभिन्न योजनाहरु सुनाउँदै डा. राणाले नेपालगन्जको मुहार फेरिन समय नलाग्ने बताए । ‘केही महिनामै नेपालगन्जलाई परिवर्तित सहरका रुपमा पाउनु हुनेछ‘, नगर प्रमुख डा. राणाले भने, ‘त्यसका लागि जनप्रतिनिधिहरु खटिइरहेका छौं ।’ उनले नेपालगन्जमा सडक, बसपार्क, पार्किङ्ग स्थल लगायतका योजनाहरु सुनाउँदै नेपालगन्ज अब फेरिनेमा ढुक्क हुन आग्रह समेत गरे । आगामी बर्षका लागि ६ सय ६३ वटा योजना बनाएको नगर प्रमुख डा. राणाले कार्यक्रममा जानकारी दिएका थिए । ‘नेपालगन्ज बसपार्कलाई अबको चार महिनामा स्तरीय बसपार्कको रुपमा तयार गरिनेछ’, डा. राणाले भने ।

 

नेपालगन्ज उपमहानगरपालिकाले मंगलबार बाटै टोल फ्रि सेवा समेत सुरु गरेको कार्यक्रममा नगर प्रमुख डा. राणाले जानकारी दिए । ‘जनताको समस्या र जनगुनासोलाई सम्बोधन गर्नका निमित्त उक्त सेवाको बिस्तार गरेका हौं’, उनले भने । टोल फ्रि नम्बरबाट नेपालगन्ज उपमहानगरपलिकाबाट प्राप्त हुने सेवाका बारेमा समेत जानकारी गराइने डा. राणाले पत्रकार सम्मेलनमा गराएका थिए ।

 

उपमहानगरपालिका भित्र ९० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रेको योजना सुनाउँदै नगरप्रमुख डा. राणाले नेपालगन्जमा अधुरो सडक, ढल, नालाहरुको पूर्वाधार विकासका लागि एशियाली विकास बैंकबाट क्षेत्रीय सहरी विकास आयोजना मार्फत दोस्रो चरणमा काम सुरु हुन लागेको जानकारी दिए । त्यसका लागि ३ अर्ब ७१ करोड रुपैयाँ बजेट उपलब्ध रहेको उनले जानकारी दिए । पत्रकार भेटघाटमा बर्षात्मा पानी जम्न नदिन ढल, नाली निकासको उचित व्यवस्थापन गरिने जानकारी दिइएको थियो ।

 

पत्रकार सम्मेलनमा उपमहानगरपालिकासँग जनअपेक्षा अत्याधिक रहेपनि क्षेत्राधिकार र जिम्मेवारी हालसम्म स्पष्ट हुन नसकेको बताइएको थियो । जनप्रतिनिधि आएपछि वडा कार्यालय सम्बन्धित स्थानबाट सञ्चालन गरिएको, योजनाका बारेमा जानकारी दिन मोबाइल्स एप्स निर्माण सुरु गरिएको, कर्मचारीहरुको नियमितताका लागि उपमहानगरपालिका विद्युतीय हाजिरीको व्यवस्था गरिएको, सेवाबारे जानकारी दिन डिजिटल नोटिस बोर्ड राखिएको, सामाजिक सुरक्षा, घटना दर्तालाई ई–माध्यमबाट व्यवस्थित गर्ने प्रक्रिया शुरु गरिसकिएको जानकारी दिइको थियो ।

 

कार्यक्रममा नेपाल भारत सीमास्थित प्रवेशद्वार पुनःनिर्माण गरिएको जानकारी दिंदै रानी तलाउ, महेन्द्रपार्क, वाटर पार्क पुनः निर्माणको चरणमा रहेको बताइएको थियो । नेपालगन्जका वडा न १६, २० र २१ लाई जीआइजेडको सहयोगमा नमुना वडाका रुपमा विकास गर्न लागिएको जानकारी कार्यक्रममा दिइएको थियो । ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिका सक्रियतापूर्वक लागेको जानकारी दिंदै निजी इ रिक्साबाहेक नयाँ दर्ता प्रक्रिया राकेर पुरानालाई व्यवस्थित गर्न सुरु गरिएको बताइएको थियो । फोहोर व्यवस्थापनका लागि उपमहानगरपालिकाले दृढतापूर्वक लागिरहेको जानकारी दिंदै कार्यक्रममा फोहर विसर्जनका लागि वडा नं. २३ हिरमिनियामा फोहोर व्यवस्थापन केन्द्र निर्माण जारी जानकारी दिइएको थियो । त्यसक्रममा उपमहानगरपालिकाबाट भैरहेका विभिन्न कामहरु उल्लेखित विवरण समेत सार्वजनिक गरिएको थियो ।

 

नगर उपप्रमुख उमा थापामगरले नयाँ व्यवस्थाका कारण केही अलमल भएको उल्लेख गर्दै अब नियमित रुपमा तीन÷तीन महिनामा छलफल कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाएकी थिइन् । सञ्चारकर्मीहरुको उपस्थिति रहेको कार्यक्रममा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत हरी प्याकुरेलले पनि बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया