कोहलपुर/रविन्द्र ठकुरी
कोहलपुर\निजी क्षेत्रको लगानीको मध्यपश्चिमकै प्रवेशद्वारा कोहलपुर चौराह आकर्षक बनाइने भएको छ । त्यसका लागि नगरपालिकासँग अनुमति लिएको सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिले निर्माण कार्य अगाडी बढाएको छ ।
छ महिना भित्र निर्माण कार्य अगाडी बढाउने गरी काम अगाडी बढाउन सम्झौता भएको हो । चौराह बनाउने सम्झौता लगत्तै सिद्धार्थले काम समेत तिव्र रुपमा अगाडी बढाएको छ । ‘समयमै काम सक्ने गरी माटो पटान कार्य सकिसकेका छौं’, सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटिजका केशव न्यौपानेले भने, ‘अब केही दिनमै कङ्क्रिट ल्याएर थप काम अगाडी बढाउने छौं ।’
५० लाख लागतमा बन्न लागेको कोहलपुर चौराह निर्माण पछि १५ बर्षसम्म सिद्धार्थले नै त्यसको संरक्षण गर्ने कोहलपुर नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिए । ‘चौराह कोहलपुरको नै शोभा बढ्ने गरी बन्नेछ’, उनले भने । कोहलपुर चौराहका लागि आवश्यक पर्ने पानी र विद्युतको ब्यबस्था कोहलपुर नगरपालिकाले गर्ने, कोहलपुर चौराहा एक सय मिटर वरपर कुनै पनि होर्डिङ्ग बोर्ड राख्न नदिने नगर प्रमुख रावतले बताएका छन् ।
‘चौराह निर्माण गर्ने सिद्धार्थ ग्रुपले चौराहको वरीपरि आफ्नो व्यवसायिक प्रवद्र्धनका सामाग्री राख्न पाउनेछ’, नगर प्रमुख रावतले भने, ‘त्यसका लागि हामीले उचित स्थान उपलब्ध गराउने छौं ।’ यस्तै सिद्धार्थले निर्माण सम्पन्न गरेपछि पनि निरन्तर चौराहको संरक्षण गर्नेछ । सिद्धार्थले बत्ति र पानीको फिटिङ्ग, मालिको ब्यबस्था र निर्माणमा लाग्ने खर्च सबै बेहोर्नु पर्नेछ । चौराहमा चौबिसै घण्टा बित्ती र फोहोरा पानीको व्यवस्था गरिने नगरपालिकाले जानकारी दिएको छ ।
चौराहलाई सुन्दर बनाउने अभियान अन्तर्गत कोहलपुर नगरपालिकाले चोकमा जग्गा अतिक्रमण गरी खोलिएका घर, टहरा यसअघि नै हटाइसकेको छ । रावतले बाँकी रहेका फुटपात पसल समेत छिट्टै हटाइने बताएका छन् । त्यसका लागि इलाका प्रहरी कार्यालय र क्षेत्रीय ट्राफिक प्रहरीसँग समन्वय गरिने नगर प्रमुख रावतले जानकारी दिए । चौराह आधुनिक, सुन्दर र आकर्षक पार्कको रुपमा निर्माण हुनेमा विश्वस्त हुँदै नगर प्रमुख रावत भन्छन्, ‘हामी कोहलपुरलाई सुन्दर बनाउन प्रतिबद्ध छौं ।’
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकय अधिकृत प्रेम प्रसाद देवकोटा र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिका प्रवन्धक केशव न्यौपाने बीच कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीको उपस्थितिमा भएको चौराहका लागि सम्झौता भएको थियो ।