आज सोमबार वसन्त पञ्चमी तथा सरस्वती पुजा देशभर धुमधामले मनाइदैछ । खासगरी विद्यार्थी र शिक्षण पेशा संग आवद्धले सरस्वतीको पुजा अर्चना गरी सरस्वती पुजा गरिरहेका छन् । नेपालगन्जका लागि रामलीला मैदानमा रहेको सरस्वती देवीको मूर्ति पुजाका लागि विद्यार्थीहरुको ठूलो भिड लागेको छ । विद्यार्थीहरुले विहानै मन्दिर पुगेर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर हरेकले ज्ञान बृद्धि लागि मनोकामना गर्ने गर्दछन् ।
सरस्वती पुजाको अवसरमा जिल्ला स्थित सरकारी तथा संस्थागत विद्यालयहरुमा पनि सरस्वतीको पुजा गरिएको छ । त्यस्तै, मन्टेश्वरी विद्यालयहरुले बुधबार देखि नया भर्ना समेत सुरु गरेका छन् । श्रीपञ्चमीको अवसरमा बाल–बच्चाहरुलाई अक्षर सिकाउन आरम्भ समेत गरिएको छ । यस दिनलाई सरस्वती पूजा तथा सरस्वती जयन्तीको रुपमा अझै बढी प्रसिद्धि प्राप्त भएको छ ।
सोमबारबाट ऋतुहरुमा सर्वश्रेष्ठ वसन्त ऋतु सुरु भएको छ । श्री अर्थात् लक्ष्मीलाई पनि सरस्वतीको स्वरुप मानिएकोले नै यस पञ्चमीलाई श्रीपञ्चमीको रुपमा समेत मनाइएको पाइन्छ । सरस्वती पूजाको अवसरमा विद्यालयहरुमा विदा दिनुका साथै विहान सरस्वतीको भव्य पुजा गरिएको छ । परम्परागत रुपमा अनेकांै पर्वहरु मनाउँदै आएपनि ऋतुहरुका राजा बसन्तलाई सर्वत्र हर्षोलासपूर्ण वातावरणमा स्वागत गर्दै विविध कार्यहरुको थालनीको शुभ मुहर्तको दिनको रुपमा पनि बसन्त पञ्चमीलाई मानिएको पाइन्छ ।