कसैले नेपालगन्ज उपमहानगरपालिका भित्र कसैले ऐलानी जग्गा कब्जा गरेर बसेको छ भने अब उक्त क्षेत्र खाली गर्नुपर्ने भएछ । नेपालगन्ज उपमहानगर–पालिकाको संयोजनमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले नगर क्षेत्रमा रहेका ऐलानी जग्गा पहिचान गरी संरक्षण गर्ने निर्णय गरेको हो ।
‘पहिचान भएका ऐलानी जग्गा तारबार गरि संरक्षण गरिनेछ’, नेपालगन्ज उपमहानगरपालिकाले भनेको छ, ‘कसैले ऐलानी जग्गा कब्जा गरेर बसेको छ भने त्यसलाई पनि तत्काल खाली गर्न लगाइनेछ ।’ संरक्षण पश्चात उपमहानगरपालिकाले आवश्यक बमोजिम ऐलानी जग्गा प्रयोग गर्ने निर्णय समेत गरेको छ । उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाको अध्यक्षतामा भएको बैठकले नेपालगन्ज–२० मनिकापुरस्थित आदर्श उच्च माविको जग्गामा बस्दै आएकाहरुको तथ्यसहितको वास्तविकता पत्ता लगाउने निर्णय समेत गरेको छ ।
‘विद्यालयको वास्तविक जग्गा कति थियो र हाल कति व्यक्तिले उक्त जग्गा कब्जा गरेर बसिरहेका छन् भन्ने तथ्यांक आगामी बैठकमा प्रस्तुत समेत गरिने भएको छ’, उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषि चौलागाईले भने । बैठकले वडा न २३ हिरमिनीया स्थित ऐलानी, प्रति सरकारी जग्गामा अतिक्रमण गरि बसेका सबैलाई हटाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका निर्णयहरु कार्यान्वयनमा सबै पक्षको साथ र सहयोग लिइने नगरप्रमुख डा. राणाले बताएका छन् । बैठकमा क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य मो इस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, विजय गुप्ता, प्रदेश सभा सदस्य आइपी खरेल, प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी लगायतले सुझाव दिएका थिए ।
बैठकमा काँगे्रसका कपील शर्मा, एमालेका निरक गुरुङ, राजपाका लक्ष्मी नारायण वर्मा, संघीय समाजवादी फारेमका वदरुद्धिन खाँ, सडक डिभिजन कार्यालयका प्रमुख अर्जुन वम, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र अर्याल, उपमहानगरपालिकाका ओविराज आचार्य लगायतको सहभागिता रहेको उपमहानगर–पालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले जानकारी दिए ।