सरकारले प्रदेश नम्बर पाँचको अस्थायी मुकामका रुपमा रुपन्देही लाई घोषणा गरेपछि नेपालगन्जमा आन्दोलन घोषणा गरिएको छ । विहीवार नेपालगन्जमा आयोजित भेलाले शुक्रवारबाट आन्दोलनका शान्तिपूर्ण कार्यक्रम घोषणा गरेको हो ।
पापडको आयोजनामा बिहीबार नेपालगन्जमा सर्वपक्षिय छलफलमा बाँकेबाट निर्वाचित सांसद, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, उद्योगी व्यापारी, कानुन व्यवसायी एवं पेशाकर्मीहरुको सहभागिता रहेको थिए । बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा सबै एकमत भएकाले आन्दोलन घोषणा गरिएको पापडको नेतृत्व गरिरहेको बार नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए ।
अधिवक्ता चन्दका अनुसार, आज शुक्रवार बिहान १० बजे नेपालगन्ज उच्च अदालत बार एसोसियसनको परिसरबाट शान्तिपूर्ण विरोध जुलुस निकालिने छ । छलफलमा प्रतिनिधि सभा सदस्य नन्दलाल रोकाय, मोहम्मद इस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर हमाल, विजयबहादुर यादव, नेपाल बारका केन्द्रीय उपाध्यक्ष शालिकराम सापकोटा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगायतले बाँकेलाई राजधानी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका प्रमुख डा. धवल समशेर राणाले बाँकेलाई राजधानी घोषणा गर्न दबाब दिनको लागि शान्तिपूर्ण आन्दोलनको विकल्प नरहेको बताए ।