भिखारी भन्ने शब्दले परनिर्भरतालाई जनाउँछ । मन्दिर परिसरमा दानपुण्यको आसमा परनिर्भरझंैं देखिने भिखारी उच्चस्तरीय जीवन बाँच्ने गरेको विषय अपत्यारिलो लाग्न सक्छ । तर, वास्तविक यही हो । बर्दिया मगरागाढी ६ बस्ने ७० वर्षिया सावित्री थारु (परिवर्तित नाम)ले आफु असहाय भएको दावी गर्दै मन्दिरमा आउने श्रद्धालुबाटै जीवन चलिरहेको बताइरहँदा उनको झोलामा रहेको मदिराको एउटा उच्चस्तरीय ब्राण्ड देखा पर्यो ।
थारुले आफ्नो जीवनका भावविहलपूर्ण भावनात्मक कथा सुनाइरहँदा संवाददाताले मदिराको बोत्तल तर्फ संकेत गर्दै यो के हो ? भन्ने प्रश्न गरेपछि उनले भनिन्, ‘यही नै जीवनको सहारा हो ।’ गाँजा, चरेस, ब्राउनसुगर सेवनकर्ताहरु पनि भिखारीकै साथसंगतमा मन्दिरमा बसेर रकम माग्ने गरेको तथ्यहरुबीच उनीहरुलाई हटाउने र ब्यवस्थापन गर्ने विषयमा प्रभावकारी पहल अघि बढेको हो ।
१ हजार ६ सय रुपैया प्रतिलिटर पर्ने मदिरा उनको झोलामा देखा परेपछि बाध्यता र कथाहरु त्यहीं मेटिए । बागेश्वरी मन्दिर परिसरमा ७० बढि भिखारी, असहाय र अपांगहरुको जमघटले मन्दिरमा श्रद्धालुहरुलाई विचलित गर्न थालेपछि ब्यवस्थापन समितिले उनीहरुलाई हटाउने अभियान संचालन गर्यो । समितिले निल सागर असहाय असक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र नेपालगन्जलाई जिम्मा लगाउने कुरा अघि सारेपछि ५० जना भिखारी आफै आफ्नो ब्यवस्था गरि घर तर्फ लागेको मन्दिर स्थित कार्यालय इन्चार्ज राजु केसीले बताए ।
‘भारत लगायत छिमेकी जिल्लाबाट पनि भिखारीहरुको संख्या बढ्दै गएपछि यो चुनौती नै बनेको थियो’, केसीले भने, ‘यसैलाई ब्यवस्थापन गर्न निलसागर आश्रमबाट पनि सहयोग मागियो ।’ प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, निमित्त प्रहरी प्रमुख राजेन्द्र आर्यालय, गुठी संस्थानका पदाधिकारी लगायतको समन्वयमा असहायहरुलाई मानवीय हिसाबले ब्यवस्थापन गर्न आश्रममा पठाउने तय भएपछि आश्रम सम्वद्ध एउटा टोली विहिवार असहाय संग परामर्श गरेको छ । ‘मन्दिरमा रहेका भिखारी र असहायहरु बारे ब्यापक अध्ययन पछि उनीहरुलाई ब्यवस्थापन गर्न खोजिएको हो’, आश्रमका उपाध्यक्ष पवन सुवेदीले भने,‘५० जना आफ्नो घर गएपछि अब २० जनालाई मात्रै ब्यवस्थापन गर्ने अवस्था
छ ।’
मन्दिरमा भिख माग्ने, प्राप्त भएको सामाग्री बेच्ने, साँझ बिक्री गरी होहल्ला मच्चाउँदै मन्दिरको शान्ति, धर्म र ब्यवस्थामा खलल पुर्याएको पाइएपछि यसको समुचित ब्यवस्थापनका लागि विषय अघि बढेको हो । आश्रमकी अध्यक्ष सरिता खनालले, मन्दिरमा भिखारीले ब्यवसाय चलाएझैं भएको बताएकी छन् । ‘यो पेट पाल्ने कार्य होइन’, उनले भनिन्, ‘कतिपयका छोरा छोरी खाडीमा राम्रो रकम कमाउने गरेको र बुबा आमा मन्दिरमा मोजमस्ती गर्ने गरेको पाइएको बताइन् ।’
सच्चिकै असहाय अवस्थामा रहेको २० जनालाई उनीहरुकै इच्छा अनुसार पालन पोषण गर्न आश्रम तयार रहेको अध्यक्ष खनालको भनाई छ । आश्रममा अहिले २३ जना बृद्ध, बृद्धा असहाय र जेष्ठ नागरिकहरु रहेको उनले जानकारी दिइन् ।