बागेश्वरी मन्दिरमा अब्यवस्था

बागेश्वरी मन्दिरमा अब्यवस्था

बागेश्वरी मन्दिर संचालन र ब्यवस्थापनको आयश्रोतको रुपमा रहेका परिसर क्षेत्रका सटर कोठाको भाडा मनोमानी हिसाबले उधारो रहन थालेपछि अचेल असूलीका लागि कडाई गर्न थालिएको छ । बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले पौष मसान्त सम्म सबै सटर बहालवालालाई भाडाको रकम बुझाउन म्याद तोकेको थियो । मन्दिरको सटरमा भाडा गरी सन्तोषी कपडा पसल संचालन गर्दै आएका नवीन गुप्ता भन्छन्, ‘ब्यवसाय राम्रो नभएका कारण केहि महिना देखि रकम बुझाउन सकेको छैन ।’

 

कति महिनाको र कति रुपैयाका दरले रकम बाँकी रहेको विषयमा गुप्ताले खुलाउन चाहेनन् । उनले भने, ‘रकम ब्यवस्था हुँदैछ, चाँडै भाडा बुझाउँछु ।’ सस्तो दरमा भाडा रहेका सटर कोठाहरुको रकम पनि ब्यवसायीलाई तिर्न दबाव दिनु परेको मन्दिर बयवस्थापन समितिका एक सदस्यले बताए । ‘भाडा रकम नबुझाउनुको पछि कारण ब्यापार घाटा हुनु हो’, एमएस इन्टर प्राइजेजका संचालक मनीष कुमार श्रीवास्तवले भने,‘मन्दिरको जग्गामा बसेर बेइमानी गर्ने ब्यवसायीको नियत होइन ।’

 

साँघुरो बाटो, सडक अब्यवस्था लगायत कारणबाट बागेश्वरी र घरबारी टोल क्षेत्रमा उपभोक्ताहरु कम आउने गरेको ब्यवसायीको गुनासो छ । संचालक श्रीवास्तव भन्छन्, मैले भर्खरै मात्र भाडा रकम ८४ हजार रुपैया बुझाएको छु ।
भाडा रकम बुझाउन बाँकी रहेका ब्यवसायीले घाटाको प्रसंग उठाउँदै रकम तिर्न नसकेको दावी गरिरहेका बेला ५ हजार रुपैयामा भाडा लिएको एमएस इन्टर प्राइजेजको ठिक सामुन्ने सडक पारि रहेको प्रिया मोबाइल एण्ड इलोट्रोनिक पसलका संचालक प्रिया गुप्ताले १४ हजार रुपैया भाडा तिर्दै आएको बताए । मन्दिरको सटरको ठिक सामान्ने निजी सटर भाडा लिएका गुुप्ताले १४ हजार बुझाउँछन् । उनले कुनैपनि महिनाको रकम बाँकी नरहेको बताउँदै हरेक महिनाको भाडा रकम अग्रिम तिर्नु परेको जानकारी दिए ।

 

मन्दिरलाई तिर्नु पर्ने सस्तो रकममा कञ्जुस्याँई किन, पसलमा नाम नलेखिएको र पसल संचालकले नाम नखुलाएरै भने, ‘रकम समयमा जम्मा नहुनुको पछि अनेक कारण मध्ये फाइदा बेफाइदा पनि पर्छन् ।’उनले मन्दिरका एक जना पुजारीलाई संकेत गर्दै भने, ‘समयमा भाडा नतिर्न र कम दर कायम राख्न ब्यवसायीले लगानी गर्नु पर्छ । उनी (पुजारी) मालामाल छन्’, दैनिक नेपालगन्ज संग पसल संचालकले भने, ‘कथा धेरै छन्, तर हामी भाडा तिर्छौं त्यस्को विकल्प छैन ।’ मन्दिरको सटर नलिएरै पश्चिम गेट छेउमा फुटपाथमा पूजा सामाग्री पसल गर्दै आएकी गुड्डी गुप्ता भन्छिन्, भाडा तिर्नु पर्दैन । उनले भाडाको नाममा मन्दिरमा आवश्यक पर्ने सावुन, सर्फ, धूप, वत्ती, प्रसाद आदि दिनु पर्ने ब्यवस्था रहेको बताइन ।

 

गुड्डीको भनाईको अर्थमा मन्दिरमा पूजा गर्न अलगबाट रकम खर्चिनु पर्दैन । हामीबाटै पुजारी जीले सामाग्री लैजानु हुन्छ, गुड्डीले भनिन्, पसल लगाए वापत सामाग्री दिनु पर्छ । बागेश्वरी मन्दिर ब्यवस्थापन समितिको कार्यालय इन्चार्ज राजु केसीले विस्तारै ब्यवसायीहरुबाट रकम जम्मा हुन थालेको बताएका छन् । ‘यसअघि नै पौष मसान्त सम्म भाडा रकम बुझाउन चेतावनी दिइएको थियो’, दैनिक नेपालगन्ज संग उनले भने, ‘अधिकाँश ब्यवसायीले बुझाएका छन् ।’

 

बुझाउन बाँकी रहेका ब्यवसायीहरुलाई एक महिनाको म्याद थप्दै मन्दिरको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा माघ मसान्त भित्र अनिवार्य रुपमा भाडा रकम जम्मा गर्न म्याद दिइएको इन्चार्ज केसीले बताए । ‘भाडा रकम ३ वर्षअघि नै बढाएर दोब्बर गरेको हो’, इन्चार्ज केसी भन्छन्, ‘२५ सय रुपैया देखि ५ हजार सम्म भाडा तिर्ने पसलहरु संचालित छन् ।’ ‘उनीहरुको भाडा रकम तीन वर्ष अघि झण्डै आधा दर रेटमा थियो’, उनले भने, ‘अब स्थानीय प्रचलित दर रेट अनुसार भाडा बृद्धि गर्ने तयारी रहेको छ ।’

 

बागेश्वरी मन्दिरको दक्षिण, पश्चिम र पूर्वी क्षेत्रमा गरी १८ वटा सटर, १३ वटा फूल प्रसाद पसल र दर्जन बढि विना विवरणका फुटपाथ पसलले कब्जा जमाएका छन् । ‘त्यसलाई ब्यवस्थापन गर्नका लागि पनि नयाँ समिति कस्सिएको छ’, इन्चार्ज केसीले भने, ‘विस्तारै मन्दिरमा सुधारका कार्यहरु भइरहेका छन् ।’ पश्चिम नेपालकै पर्यटकीय उद्गम र आस्थाको केन्द्र मानिएको मन्दिर, फुटपाथ पसल, आर्थिक अब्यवस्था, सरसफाई, अनियन्त्रित भिखारी लगायत कारण कुरुप बनेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया