नेपालगन्ज/विनय दीक्षित
नेपालगन्जको सडक, चौतर्फी रुपमा रिक्सा, ठेला, फुटपाथ कब्जाको चित्र । एक हिसाबले हेर्दा कुनै अस्थायी वा साप्ताहिक बजारझैं लाग्छ नेपालगन्ज । तर, सहरमा फैलिएको सडक अब्यवस्था र अब्यवस्था बनाई राख्न असूली र घूसको नाममा रजाई गर्ने सरकारी अधिकारी माथि केन्द्रित गरियो । नेपालगन्ज, ब्यवस्त बजार मात्रै हैन । अस्तब्यस्त बजारको रुपमा चित्रित छ । नेपालगन्जलाई यसरी कुरुप बनाउने जिम्मेवार पक्षमा ब्यवसायी र नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारी पनि सम्मिलित पाइएका छन् ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त प्रयास गरेर दर्जन पटक फुटपाथ र बाटोबाट ठेला हटाएपनि दोस्रो दिन पुनः त्यही स्थानमा ठेला देखा पर्न थालेपछि प्रहरीले अचेल सडक अतिक्रमण हेर्न छाडिसकेको छ । कारण नेपालगन्ज उपमहा–नगरपालिकाको निरीक्षण कर्मचारीको बद्मासी । सडक अतिक्रमण हटाउन सक्रिय रहेका प्रहरी अधिकृत भन्छन्, नगरपालिकाको काममा हामीले सहयोग गर्न खोज्यौं, तर सकिएन ।
कर्मचारीले ब्यवसायीबाट सेटिंगमा पैसा उठाउँछन्, प्रहरी अधिकृतले भने, कसैले चाहेर फुटपाथ कब्जा हट्दैन जब सम्म नगरपालिकाका कर्मचारी र ब्यवसायीले चाहन्नन् । ट्राफिक प्रहरी प्रमुख होम बहादुर थापा भन्छन्, ‘सडक अतिक्रमणको जिम्मेवारी नगरपालिकाको हो ।’
‘ट्राफिक प्रहरीले सवारी साधन ब्यवस्थापन, आवागमनलाई हेर्दै आएको छ’, ट्राफिक प्रमुख थापाले भने, ‘हामी काम गर्न तयार छौं, तर उपमहानगरपालिकाले कहिले पनि आफै उत्साहित भएर हामीलाई बोलाएको छैन ।’ ‘प्रहरीले खाली गराएपनि पछि पुनः त्यस्तै देखा पर्छ’, थापा भन्छन्, ‘यस्तो किन हुन्छ भन्ने विषय पनि अध्ययन हुन् जरुरी छ । नेपालगन्जमा केहि चिन्हित कर्मचारीले गरेको बद्मासीले पूरै सहर अब्यवस्थित छ ।’
नेपालगन्ज उपमहानगरपालिका निरीक्षण शाखाका कर्मचारीनै फुटपाथ पसल, अनियन्त्रित ठेला, भवन संहिता विपरीत निर्माण गर्ने भवनबाट रकम असूली गर्दै आएको विषयमा पटक पटक गुनासो बाहिर आएपनि उपमहानगरपालिका मौन छ । ठेला ब्यवसायी रसिद कबडियाले भने, ‘एक हजार रुपैया भाडा तिर्नु पर्छ र कर्मचारीलाई पाँच सय रुपैया अलग दिनु पर्छ ।’ भेरी अस्पताल क्षेत्रमा फलफूल बेच्ने गरेका ठेला ब्यवसायी नदीम खाँले कर्मचारीको अनुमति विना सडकमा ठेला राख्नै नसकिने बताएका छन् । हामीले भाडा दिँदैनौ, खाँले भने, चियाखर्च दिनु पर्छ । नगरपालिकाका कर्मचारी आएर रकम लैजाने गरेको खाँले बताए ।
नेपालगन्ज क्षेत्रमा ५० वटा ठेलालाई सडकमा कारोबार गर्न उपमहानगरपालिकाले कानूनी रुपमै स्थान तोकेर भाडा असूल गरिरहेको छ । प्रति ठेला एक हजार रुपैयाका दरले रकम असूली हुँदै सडक अस्तब्यस्त पार्ने काम भएको हो । फुटपाथ पसल पूरै सहरभित्र यत्रतत्र छन् । तर, उपमहानगरपालिकाको अभिलेखमा बागेश्वरी मन्दिर अगाडी चिल्डे«न पार्क क्षेत्रमा मात्रै पसल रहेको देखिएको छ । निरीक्षण शाखाका प्रमुख पवन कनोजिया भन्छन्, ५९ वटा फुटपाथ पसलहरु मात्र नेपालगन्जमा छन् ।
जिल्ला प्रशासन, अदालत, मालपोत अगाडी, सुर्खेत रोड, लगायत नेपालगन्ज क्षेत्र भित्र हजारबढि फुटपाथ पसल रहेको अनुमान विच कर्मचारीले सहरमा मात्र ५९ वटा पसल देखाएर २ हजार ५ रुपैयाका दरले भाडा असूल गर्छन् । नेपालगन्ज उपमहा–नगरपालिकाले सडकमै ब्यापार गर्न अनुमति दिएपछि ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निरीक्षण कर्मचारीले गर्नु पर्ने काम कर्तब्य र अधिकार असूली कर्मचारीको रुपमा मात्रै सीमित छ ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालय राजश्व शाखाका प्रमुख भूपति खत्रीले आधिकारिक रुपमा नगरपालिकाले ठेला र फुटपाथ पसलबाट रकम असूल गर्दै आएको बताए । ‘कारोबार गर्नका लागि अनुमति दिइएको अवस्था छ’, उनले भने, ‘सूची भन्दा बाहिर रहेका पसल र ठेला बारे यकिन भन्न सकिन्न ।’