नेपाल नर्सिङ संघले अघि सारेका माग पूरा नभए नर्सहरुले इमर्जेन्सी, आइसियू र सिसियू छाडेर आन्दोलन गर्ने बताएका छन् ।
एक हप्तादेखि आन्दोलित नर्सहरुका मागलाई गम्भीर रुपमा नलिइए अप्रिय परिस्थिति सिर्जना हुन सक्ने नेपाल नर्सिङ संघकी अध्यक्ष अप्सरा पाण्डेले बताएकी छिन् । मंगलवार ११ बुँदे माग अघि सार्दै उनीहरुले आन्दोलनको तालिका सार्वजनिक गरेका थिए । तालिका अनुसार पुष २६ र २७ गते कालो पट्टी बाँधेर सेवा दिने । पुस २८, २९ र ३० गते सवै अस्पताल र शैक्षिक संस्थामा बिहान १० देखि ११ बजेसम्म ड्युटी छाड्ने ।
उक्त अवधिमा माग पूरा नभए माघ १,२ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने । त्यसैगरी ४, ५ र ६ गते सवै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र त्यसपछि पनि माग पूरा नभए माघ ७ गते देखि २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने तालिकामा जनाएको छ ।
यसै सन्दर्भमा नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर समेतका नर्सहरु आन्दोलनमा उत्रेका छन् । आन्दोलनलाई निरन्तरता दिंदै सातौं दिन पनि बिहान १० बजे देखि दिउँसो १ बजे सम्म शान्तिपूर्ण आन्दोलन गरेका छन् । नेपाल नर्सिङ संघले निम्न ११ बुंदाहरु राखेर आन्दोलनको घोषणा गरिएको हो ।