नेपालमा कहिले कहिले आयो भुकम्प, कति क्षति गर्यो पढ्नुस्

पृष्ठभूमि :

आज माघ २ गते । नेपाल सरकारले सन् १९९९ देखि नेपाली क्यालेण्डर अनुसार वि.सं. १९९० माघ २ गते गएको भूकम्पको सम्झानामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो । समान्यतया सप्ताहव्यापी रुपमा मनाइने यो दिवस अङ्ग्रेजी क्यालेण्डर अनुसार हरेक बर्षको १५ वा १६ जनवरीको दिन पर्दछ ।

वि.सं. १९९० (सन् २०३४) मा मात्र हैन नेपालमा निरन्तर रुपमा भूकम्प आइरहेको इतिहाँस हामी सामु छ । सन् १९८०, सन् १९८८, सन् १९९३, सन् १९९४, सन् १९९७ र सन् २०११ मा नेपालमा ६.५ म्याग्निच्यूड भन्दा माथिमा ठूला–ठूला भूकम्प भएका थिए । सन् १९९० मा गएको भूकम्पले १०,७०० जनाको ज्यान लिएको थियो भने १,२६,३६६ घरहरु पूर्ण रुपमा र ८०,८९३ घरहरु आँशिक रुपमा क्षति भएका थिए । त्यसपछि सन् १९८८ मा गएको को भूकम्पबाट ७२२ जनाको मृत्यु भएको थियो भने ६,५३३ जना घाइते भएका थिए । सो भूकम्पबाट ६५,४३२ घरहरुमा क्षति पुगेको थियो र समग्रमा त्यतिबेलाको ५ बिलियन नेपाली रुपैया बराबरको क्षति भएको तथ्याङ्क छ । हालसालै (सन् २०१५) मा आएको ७.८ म्याग्निच्यूडको भूकम्पले ८,७९० जनाको ज्यान लियो भने २२,३०० लाई घाइते बनायो । ६,०२,५६७ घरहरु पूर्णरुपमा ध्वस्त भए भने २८४,४७९ घरमा आंशिक क्षति पुग्यो । विद्यालयका १८,४३३ कक्षा कोठाहरु पूर्ण रुपमा क्षति भए भने ७,५६१ कक्षा कोठाहरुमा आँशिक क्षति पुग्यो । ३७५ स्वास्थ्य संस्थाहरु पूर्णरुपमा भत्किए भने ६४८ स्वास्थ्य संस्थाको संरचनामा आँशिक क्षति पुग्यो । २७० सरकारी भवन पूर्ण रुपमा भत्के भने ६७३ मा आंशिक क्षति पुग्यो । त्यसैगरी भूकम्पका कारण ५४,४११ पशुपंक्षीको मृत्यु भयो भने थुप्रै पुरातात्विक संरचनामा पनि क्षति पुगेको छ । नेपाल सरकारले भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि ५ बर्षे योजना निर्माण गरेर ६६९ मिलियन अमेरिकन डलर खर्च लाग्ने अनुमान गरेको छ । यसबाट नेपाल भूकम्पका कारण निकै जोखिममा रहेको स्पष्ट हुन्छ । विपद् जोखिमको विश्वव्यापी प्रतिवेदनका अनुसार नेपाल भूकम्पका दृष्टिले विश्वमा ११ औं स्थानमा रहेको छ ।
सरकारले २० बर्ष अघि देखि हरेक बर्ष मनाउँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाण्डौं उपत्यका र केही शहरहरुमा मात्र सीमिति भएको सन्दर्भमा वि.सं. २०७२ को भूकम्प पश्चात यो दिवश कम्तिमा पनि हरेक जिल्लाको जिल्ला सदरमुकाममा विभिन्न गतिविधिहरु गरेर मनाउने गरेको पाइएको छ । सोही परम्परालाई निरन्तरता दिंदै यहि २०१८ जनवरी ४ का दिन गृह सचिव मोहनकृष्ण सापकोटाको अध्यक्षतामा बसेको भूकम्प सुरक्षा दिवस राष्ट्रिय समितिको बैठकले १६ जनवरी २०१८ को दिन विविध कार्यक्रम गरेर २०औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस ७७ वटै जिल्लामा मनाउने निर्णय गरेको छ । साथै जिल्लामा विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत निकायहरुसँगको समन्वयमा सो दिवस मनाउन जिल्ला स्थित विपद् व्यवस्थापन समितिलाई पत्राचार पनि गरेको छ ।

दिवसको उद्देश्य, नारा र दिन खोजेको सन्देशः
खास गरेर भूकम्प उत्थानशील समुदाय निर्माण गर्न सरकार र सम्बद्ध निकायहरुको प्रतिवद्धता दोहोर्याउने तथा भूकम्पको जोखिम न्यूनिकरणका सवालमा गएको १ बर्षसम्म भएका गरेको कामहरु, निर्माण गरिएका नीति तथा रणनीतिहरु र सिकाई बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । त्यसैगरी यो दिवसको अवसर पारेर सरकारी अधिकारी, नागरिक समाज र आम जनतामा भूकम्पको जोखिम न्यूनिकरण गर्ने उपायहरुको बारेमा ज्ञान तथा सीप सिकाउनुको अतिरिक्त नयाँ–नयाँ प्रबिधि प्रयोग गरेर सुरक्षित घर एवम् संरचना निर्माण गर्ने तरिका समेत प्रदर्शन गर्ने गरिन्छ ।

सरकारले आवश्यकता अनुसार हरेक बर्ष दिवसको नारा तय गर्ने गरेको छ । खास गरेर तत्कालिन समयको समसामयिक वस्तुस्थितिको सुक्ष्म अध्ययन तथा सम्बोधन गर्नु पर्ने मुद्दामा केन्द्रित भएर दिवसको नारा तय गर्ने गरेको पाइन्छ । दिवस मनाउन थाले देखि कुन सालका लागि कुन नारा तय गरिएको थियो भन्नेबारे शुरु देखिको सबै अभिलेख नभेट्टिए पनि भेटिएका केही यहाँ उल्लेख गरिएको छ जसबाट दिवसको उपलक्ष्यमा दिन खोजोको सन्देश पनि स्पष्ट हुन्छ ।

अभिलेख भेट्टिए अनुसार २०५७ मा ‘भविष्यमा आउन सक्ने भूकम्पबाट अहिले नै हाम्रो विद्यालयलाई सुरक्षित बनाऔं’ भन्ने मूल नाराकासाथ यो दिवस मनाएको पाइन्छ । त्यसैगरी २०५८ ‘भूकम्पीय जोखिम न्यूनिकरणका लागि सामुदायिक प्रयास’ भन्ने मूल नाराका साथ चौथौ, २०६१ मा ‘भूकम्पबाट सुरक्षित रहन भवन निर्माण संहिताको पालना गरौं’ भन्ने मूल नाराका सात ७औं, २०६२ मा ‘सकिन्न भूकम्पलाई रोक्न, गरे पूर्वतयारी सकिन्छ बच्न र बचाउन’ भन्ने मूल नाराका साथ ८औं, २०६३ मा ‘घटाऔं भूकम्पको खतरा, जागरुक भई युवा’ भन्ने मूल नाराका साथ ९औं र २०६४ मा ‘भूकम्पीय विपद्को भरपर्दो सहारा, सुनिश्चित स्वास्थ्य र सुरक्षा अभिभारा‘ भन्ने मूल नाराका साथ १० औं दिवस मनाएको पाइन्छ । हरेक बर्ष मनाउने क्रममा २०६५ मा ११औं दिवस ‘बलियो आवास सुरक्षित व्यवहार, भूकम्पीय सुरक्षाको दरिलो आधार’ २०६६ मा १२औं दिवस ‘भूकम्पीय सुरक्षाको मूल आधार, सुरक्षित घर, सबल उद्दार क्षमता तथा सुदृढ स्वास्थ्य उपचार’ २०६८ मा १४औं दिवस ‘नसोधी, नबोली आउँछ भूकम्पीय विपदा, जागौं, जुटौं बचाउन सृष्टिको सम्पदा’, २०७० मा १६औं दिवस ‘भूकम्प अनुमान गर्न नसकिने र भयावह किसिमको हुने भएकोले जीवन र सम्पति बचाउन सँगै काम गरौं’ भन्ने मूल नाराका साथ मनाइएको थियो । यसैगरी २०७१ मा १७औं दिवस ‘हरेक व्यक्तिले भूकम्पबाट सुरक्षित हुने उपायहरु अपनाऔं’, २०७२ मा १८ औं दिवस ‘भूकम्प प्रतिरोधी घर–संरचना, सुरक्षित नेपाल–हाम्रो चाहना र १२ बैशाखमा गैहाल्यो भुईचालो, सुरक्षित पुननिर्माणमा जुट्ने हाम्रो पालो’ र २०७३ मा १९औं दिवस ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भूईचालो थेग्ने घर र पूर्वाधार’ भन्ने मूल नाराका साथ मनाइएको थियो । यस बर्षका लागि भने ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुख्य नारा तय भएको छ र नयाँ स्थानीय संरचना अनुसार गाउँ तथा नगरपालिका तहसम्म यो दिवस मनाउन थालिएको छ ।

हुन त दिवसको नाम नै भूकम्प सुरक्षा दिवस । दिवस मनाउन विभिन्न बर्षका लागि तय गरिएका नाराहरुले भूकम्पबाट सुरक्षित हुन अपनाउनु पर्ने साबधानी, पालना गर्नु पर्ने नियम, आफू बाँच्न र अरुलाई बचाउन गर्नु पर्ने काम, घर जस्तै विद्यालय, स्वास्थ्य संस्था र सबै सार्वजनिक संरचनालाई लाई पनि बलियो बनाउनु पर्ने र विपद् नसोधि, नबोली आउने भएकोले पूर्वतयारी र उद्धार क्षमतामा बृद्धि गर्नु पर्ने सन्देश दिएका छन् । यसका साथै हरेक घर र संस्थामा पनि भूकम्पबाट बच्ने योजना, सो अनुरुप गर्नु पर्ने अभ्यास र भूकम्पको जोखिम कम गर्न हरेकले गर्नु पर्ने योगदानका बारेमा पनि सामूहिक प्रतिबद्धता लिनु पर्ने अपेक्षा गरिएको छ ।

दिवस मनाउने क्रममा गरिने क्रियाकलापहरुः
हाम्रो देशमा यो दिवस मनाउन लागेको पनि दुई दशक भै सकेको छ । सामान्यतया यो दिवस मनाउने क्रममा सरकारले समुदाय, गाउँ÷नगरपालिका, जिल्ला, र केन्द्रमा विपद् जोखिम न्यूनिकरण, विपद् व्यवस्थापन, विपद् पछिको राहत तथा उद्दार र पुननिर्माणका क्षेत्रमा कार्य गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था, संयुक्त राष्ट्र संघ र रेडक्रसका निकायहरुसँगको समन्वयमा निम्न क्रियाकलापहरु सञ्चालन गर्ने गरिन्छ ।

–केन्द्र, जिल्ला, गाउँ÷ नगरपालिका र समुदाय तहमा समन्वय बैठक र गएको बर्ष गरेका कार्यहरुको समिक्षा,
–विभिन्न स्थानमा भूकम्पबाट सुरक्षित हुने उपायहरुको बारेमा सञ्चार माध्यमहरुबाट सन्देश प्रशारण,
–विभिन्न व्यनार र प्लेकार्डहरु सहितको र्याली,
–सचेतना अभिबृद्धि गर्ने खालका सूचना, शिक्षा तथा सन्दर्भ सामग्रीहरुको प्रकासन र वितरण,
–भूकम्पबाट हुने क्षति न्यूनिकरण तथा जोखिम व्यवस्थापन बारेको अनुभव आदानप्रदान
–विद्यालय तहमा निबन्ध लेखन, चित्रकला, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगिताहरु
–भूकम्प सम्बन्धी सचेतना शिविर
–भूकम्प प्रतिरोधी घर तथा संरचनाहरुको मोडेल प्रदर्शन,
–जिल्ला तथा समुदाय तहमा माइकिङबाट सन्देश प्रवाह,
–भूकम्प आएको अवस्थाको कृत्रिम घटना अभ्यास,
–मुख्य मुख्य स्थानमा भूकम्पबाट भएको क्षति र अपनाउनु पर्ने सावधानी बारेका चित्र प्रर्दशन,
–समुदाय तथा जिल्ला तहमा सडक नाटक प्रदर्शन,
–सञ्चार माध्यमहरुबाट भूकम्प सम्बन्धी विज्ञहरुसँग लिएका अन्तरवार्ता प्रकासन तथा प्रसारण,
–विभिन्न व्यक्तिहरुले लेखेका लेख तथा रचनाहरु एव्म भूकम्प सम्बन्धी बर्ष भरि गरेका वा नगरेका कार्यहरुको विश्लेष्णात्मक टिप्पणी प्रकासन,
–सुरक्षित घर तथा सार्वजनिक संरचना बनाउन सचेत गराउने खालका पैरवीहरु,
–प्रेस भेटघाट,
–भूकम्पका घाईतेहरुलाई भेटेर फलफूल वितरण,
–भूकम्प सुरक्षाका बारेमा तालिम, अन्तरक्रिया, कार्यशाला,
–भूकम्पबाट भएको अनुभव तथा सिकाईहरुको सँगालोको रुपमा पुस्तकहरुको प्रकासन तथा भिडियो सार्वजनिकीकरण, आदि ।

भूकम्पबाट बच्न भएका केही राम्रा कार्यहरुः
नेपालमा गै रहने भूकम्पका कारण सरकार, विभिन्न गैर सरकारी तथा मानवीय संस्थाहरुको पहलमा भूकम्पबाट बच्न केही राम्रा कार्यहरु भै रहेका छन् । हुन त सरकारले वि.सं. १९९९
देखि नै भूकम्पबाट बच्न सचेतना अभिबृद्धि गर्ने हेतुले दिवस मनाउने घोषणा गरेको थियो जुन आफैमा एउटा राम्रो कार्य हो । त्यसैगरी नेपाल सरकारले (क) प्राकृतिक विपत्ती राहत ऐन १९८२, (ख) स्थानीय स्वायत्त शासन ऐन १९९९, (ग) राष्ट्रिय आवास नाीति १९९६, (घ) राष्ट्रिय भवन संहिता २०६०, (ङ) विपद् व्यवस्थापन ऐन २०६३ (ड्राफ्ट), (च) विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति २०६६, (छ) भवन नियमावली २०६६, (७) बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ र
(८) विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ऐन तथा नीति नियम तयार गरेर लागू गर्नु अर्को महत्वपूर्ण कदम हो ।

धेरै लामो समय देखि प्रतिक्षा गरिएको र हालै लागु भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ ऐनमा केन्द्रीय तहमा प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद र गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति रहने व्यवस्था छ । साथै कार्यकारी समितिले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनको कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न विशेषज्ञहरु रहेको समिति वा प्राधिकरण गठन गर्न सक्ने प्रावधान छ । त्यसैगरी नयाँ संरचना अनुसार मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाका अध्यक्ष तथा नगर कार्यपालिकाका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति रहने प्रावधान छ । त्यसैगरी सोही ऐन अनुसार स्थानीय विपद् व्यवस्थापन समितिले पूर्वतयारी तथा प्रतिकार्यका कार्यलाई व्यवस्थित बनाउन वडा वा समुदाय स्तरमा विपद् पूर्वतयारी तथा प्रतिकार्य समिति गठन गर्ने पर्ने छ । साथै सो ऐनमा उल्लेखिन समतिहरुका अतिरिक्त सुरक्षा निकाय, सार्वजनिक तथा नीजि क्षेत्र, गैरसरकारी निकाय, नागरिक समाज र हरेक व्यक्तिले भूकम्पबाट हुने जोखिम नयूनीकरण गर्न तथा विपद् व्यवस्थापनमा सहयोग गर्नु पर्ने कुरा उल्लेख छ । यो ऐनले भुकम्प लागायतका विपद् व्यवस्थापनका लागि केन्द्रदेखि समुदायसम्मको संरचना स्पष्ट पारेको छ ।

त्यसैगरी ऐनमा व्यवस्था गरिएका समितिहरुले विपद् सम्बन्धी नीति नियम बनाउने, पास गर्ने, बजेट व्यवस्थापन गर्ने, उपयुक्त सथानमा गोदाम घर र बन्दोवस्तीको उचित प्रवन्ध मिलाउने, समितिहरुलाई सक्रिय बनाउन तालिम तथा सिमुलेसन अभ्यासहरु गराउने गरी कर्तव्य तथा जिम्मेवार ितोक्नु आफैमा उपयुक्त छ । त्यतिमात्र हैन हरेक नागरिकलाई विपद् पर्दा सहयोग गर्न एत्प्रेरित गर्नु पनि ऐनको सकारात्मक पक्ष छ । अर्कोतिर केन्द्रीय र जिल्ला तहमा आपत्कालिन कार्य सञ्चालन केन्द्रहरुलाई क्रियाशिल बनाउनु, समय समयमा समितिहरुबाट विपद् पूर्वतयारी तथा व्यवस्थापन योजना माग गर्नुलाई पनि राम्रो कामको रुपमा लिन सकिन्छ ।

उता सरकाले बनाएका ऐन, रणनीति र नियमको प्चार प्रसार गरेर तथा भूकम्प प्रतिरोधि संरचना तयार गर्न संयुक्त राष्ट्र संघीय निकाय, गैरसरकारी संस्था र रेडक्रसका निकायहरुले पुर्याइरहेको योगदान पनि प्रशंसनीय छ ।

हामी चुक्दै गएका केही पाटाहरु ः
१९९० सालमा भूकम्प आउनु भन्दा अघि देखि नै नेपालमा भूकम्प प्रतिरोधी संरचना निर्माण गर्ने कार्य शुरु भएको इतिहाँस रहे पनि पछिल्लो समयमा खास गरेर निर्माण कार्यमा काम गर्ने ठेकेदार र डकर्मीहरुले कम लागतमा छिटो काम सक्ने र धेरै पैसा कमाउने कुरामा मात्र ध्यान दिए । जसका कारण भूकम्पले धक्का दिंदा कमजोर ती सबै संरचनाहरु ढले र सुरक्षित आवास तथा सेवा लिन बनाइएका ती संरचनाभित्र लुकेको कालले हजारौं नेपालीको ज्यान लियो । २२ हजार बढीलाई घाइते बनायो । बिहान बेलुकाको रोजीरोटी खोस्यो । गरिब नेपालीलाई अझ गरिब बनायो ।
अर्को कुरा विगतमा भूकम्प प्रतिरोधी संरचना निर्माणको सीप हाँसिल गरेका व्यक्तिहरुले पछिल्लो पुस्तामा सो सीप हस्तान्रण गरेनन् । कस्ले छिटो घर बनाउने र बाहिरी आवरण मात्र राम्रौ बनाउनेमा धेरैको ध्यान गयो । जमिन मूनिको संरचना र गारो भित्रको संरचना (पिलर) बलियो बनाउनु पर्ने कुरामा ध्यान दिइएन जसका कारण जमिनमूनि नगडेका दिवाल, एउटा दिवाल र अर्को दिवाल जोड्ने जोड्ने बन्धन नभएका र पिलर कमजोर भएका घरहरु गल्र्यामगुर्लुम थले ।

तत्कालिन अवस्थामा गाउँमा भवन निर्माण संहिता लागू गर्न कसैको ध्यान गएन । नगरपालिका क्षेत्रमा भवन निर्माण आचारसंहिता केही रुपमा लागू गरियो । यो पनि कानून मान्नेकालागि मात्र थियो । कडाइकासाथ सबैका लागि लागू भएन । कतिपय सरकारी अधिकारीहरुले त कानूनतः मापदण्ड पुरा नगरेका संरचना पनि लेनदेनको बार्गेनिङ गरेर पास गरि दिए । वास्तवमा भन्ने हो भने ती अधिकारी सो घरपरिवारको काल बने ।

गाउँ नै गाउँले भरिएको हाम्रो देशमा सरकारी नीति नियम शहरी क्षेत्रमा मात्र फलाकिन्छ । तर ८५ प्रतिसत भन्दा बसोबास रहेको गाउँमा यसबारे खासै थाहा दिंइदैन् । यस बारेको जानकारी दिन जागिर खाएकाहरुलाई कसैले पनि सोध्दैन कि कतिजनाले भूकम्प प्रतिरोधि संरचनाको ज्ञान पाए र तिम्रो सेवा क्षेत्रमा कति भूकम्प प्रतिरोधी संरचना बने । न त यस कारेमा जानकारी गराउने, भूकम्प प्रतिरोधि संरचना बनाउन कडाई गर्ने, भूकम्प प्रतिरोधी संरचना बनाउन निरनतर सहजीकरण गर्ने र बनाएको एकिन गर्नेलाई पुरस्कार नै दिइयो ।

केन्द्रीय तहमा कागजमा कानुन, नीति र रणनीति बने । पछिल्लो दशकमा जिल्ला जिल्लामा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजनाहरु पनि परियोजनाको एउटा गतिबिधिको रुपमा बन्यो तर सो योजना कार्यान्वयन गर्ने क्लष्टर संयोजक र सदस्यहरुले यसको मर्म आत्मसात गर्न सकेनन् । न त राज्यले नै यसबारेमा चासो दियो, अनुगमन गर्यो । गर्यो एउटा पत्राचार त्यो पनि बाढी र पहिरो आउने महिना तिर, खाली प्रकृया पुरा गर्नका लागि । गरेका हौ, भन्नका लागि ।

त्यतिमात्र हैन, वि.सं. २०७२ को भूकम्प पश्चात भूकम्प प्रतिरोधि संरचना निर्माणको कुरा अति प्रभावित १४ जिल्लामा केन्द्रित छ । बाँकी ६३ जिल्लामा पनि घरहरु बनिरहेका छन् । त्यहाँ अहिले देखि नै भूकम्प प्रतिरोधि संरचना बनाउने डकर्मी, सिकर्मी र प्राबिधिकहरु तयार गर्ने कुरामा खासै कसैको ध्यान गएको छैन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सन् २०१७ को अक्टोबर २ मा रुकुम मा ४.१ म्याग्निच्यूडको र अक्टोबर २६ मा आछाममा ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । त्यसैगरी सन् २०१७ को नोभेम्बर ६ मा बझाङमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको छ । यी भुकम्पका धक्काहरुले हामीलाई सतर्क बनाइरहेको छ भनेर नबुझ्दा र सो अनुरुप पूर्वतयारी गर्न नसक्दा फेरी वि.सं. १९९० र २०७२ को जस्तै क्षति हुन के बेर ? तसर्थ यी क्षेत्रमा सञ्चालन गरिने सबै कार्यक्रमहरुमा विगतको सिकाइको आधारमा पूर्वतयारी स्वरुप घरघरमा झटपट झोला राख्ने र अस्थायी आवास बनाउने सीप अभिबृद्धि तालिम दिने कि? साथै जनता बस्ने घर र भूकम्प प्रतिरोधी संरचना बनाउन अहिले देखि नै पहल गर्ने कि?

भूकम्प अति प्रभावित जिल्लामा बनेका र बन्दै गरेको नीजि घर र सार्वजनिक संरचना भूकम्म थेग्ने खालका बन्दैछन् तर सतप्रतिसत भूकम्प प्रतिरोध छन वा छैनन् यसको स्वतन्त्र परिक्षण गरिएको छैन् । यहाँ जुन निकायले काम गर्यो उसैले भूकम्प प्रतिरोधि भनिरहेका छन् । उता जनताले भोट दिएको भन्दै जनप्रतिनिधिहरुलाई प्रयोग गरेर वा इन्जिनियरलाई चारो हालेर भए पनि घर पास गराउन उद्धत भएका खबरहरु हामीले सुनेका र भोगेका छौं । यो अभ्यासले गुणस्तर संरचना बनेको कुरामा ढुक्क हुने स्थिति छैन । धेरैजसो बनाएर काम सकौं भन्नेमा जान्छन् र केही बर्षमै चर्किन्छ, भत्किन्छ अनि यो वा त्यो कारण भनेर कसैले पनि जिम्मेवारी लिंदैनन् ।

उपसंहारः
खास गरेर भूकम्प उत्थानशील समुदायको निर्माण गर्न सहयोग गर्ने हेतुले बर्षैपपिच्छे यो दिवस राष्ट्रव्यापी रुपमा बनाउने गरिन्छ । तर कति जिल्ला, गाउँ र नगरपालिकामा के के गरेर मनाइयो र यो दिवस मनाएर दुर दराजमा रहेका व्यक्ति र समुदायले के सिके र तिनको व्यवहारमा के परिवर्तन भयो भन्ने बारे कहि कतै उल्लेख भएको पाइदैन । माथिको सर्कुलर अनुसार दिवस मनाउनका लागि मात्र जिल्ला सदरमुकाम वा शहरी क्षेत्रमा सरकारी अधिकारी, गैरसरकारी संस्थाका कार्यकर्ता, राजनीतिक दलका कार्यकर्ता सहभागी भएर मनाउनु मात्रको कुनै अर्थ छैन । यो दिवस त सथानीय निकाउको अगुवाइमा गाउँ गाउँमा रहेका समुदायको सहभागितामा सामुदायिक विपद् व्यवस्थापन समितिलाई सक्रिय गराएर मनाउन सके प्रौढहरुलाई केही मात्रामा भए पनि भूकम्पबाट सुरक्षित हुने ज्ञान दिन सके राम्रो हुन्छ । विद्यालय विद्यालयमा मनाएर बालबालिकामा भूकम्पबाट सुरक्षित रहने उपायहरु, भूकम्प आउँदा अरुलाई सहयोग गर्ने तरिकाहरु, घरघरमा गर्नु पर्ने तयारी, आदिका बारेमा सिकाउनु राम्रो हुन्छ र यसो गरेमा वास्तवमा दिवसको महत्व रहन्छ र दिवस मनाउनुको अर्थ स्पष्ट हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया