विद्युत कर्मचारीको रिसको झोंकमा लग्दहवा गाउ अध्यारोमा

कुनै काम गलत भयो, समाधानको निकाय छैन भने ब्यक्तिले कानूनी उपचार अदालतबाट पनि खोज्ने गर्दछ । तर, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जले आफ्नो गल्ती लुकाउन एउटा गाउँकै विद्युत लाइन काटि दिएको छ । घटना नेपालगन्ज वडा नं.१८ लग्दहवा गाउँको हो ।

शनिवार दिउँसो ३ बजे हाइभोल्टेज भएर करिब ४० जनाको घरको विद्युतीय सामाग्रीमा क्षति पुगेपछि गाउँलेहरुले तत्कालै विद्युत कर्मचारीलाई घटना बारे जानकारी दिएका थिए । विद्युत कार्यालयको फोन ०८१५२०२४३ मा स्थानीयहरुले तीन फरक फरक नं.बाट फोन गरी भोल्टेज बढेको र त्यसबाट क्षति भएको विषयमा समेत विवरण संकलन गरी आवश्यक कारवाही गर्न आग्रह गरेको स्थानीय बासिन्दा वेद प्रकाश बर्माले बताए । सुर्खेत रोड हुँदै लग्दहवा गाउँको विच चोकको पूर्वी क्षेत्रमा ५ वटा विद्युत पोलको तार लत्रिएको अवस्थाका कारण एकअर्कामा छुन गई दुर्घटना भएको स्थानीयहरुको आरोप छ । हाईभोल्टेजका कारण २५ वटा घरमा करिब १० लाख बराबरको विद्युतीय सामाग्री, मोटर, टिभी, डिस, कम्प्युटर, ल्यापटप, इन्भर्टर र मोबाइल क्षति भएको अनुमान छ ।

फोन सम्पर्कपछि विद्युत कर्मचारी गाउँमा देखा परेनन्, स्थानीय दुर्गेश बर्माले दैनिक नेपालगन्ज संग भने, ‘दोस्रो दिन अर्थात आइतवार विहान ८ः३० बजेको समयमा विद्युत कर्मचारी पवन र थप दुई जना घटनास्थलमा पुगे ।’ एकरात अंध्यारोमा विताएका स्थानीयहरुले कर्मचारी संग क्षतिको विवरण संकलन गर्न अनुरोध गरे । पवन कुमार महतोले यो विषय आफ्नो सरोकारको नभएको टिप्पणी गर्दै गाली गरेपछि स्थानीय बासिन्दा र पवनविच सामान्य भनाभन भयो ।

विद्युत कार्यालयबाट गाउँमा पुगेका अन्य दुईजना कर्मचारी संग कुनै विवाद नभएको स्थानीय राम वरन बर्माले बताए । ‘पवनले तार मर्मतका लागि ५ सय रुपैया घूस मागेको र सो नपाएपछि गाली गर्दा विवाद सुरु भएको हो’, प्रत्यक्षदर्शीले भने, ‘पाँच सय नदिए रुखको हाँगा नकाट्ने र लाइन सुचारु नगर्ने बताएपछि अक्रोस बढेर चर्काचर्की सम्म पुगेको थियो ।’

रुखको हाँगा तारमा छोएपछि बांगिएको तारलाई सोझो पार्न रकम खर्च गर्नु पर्ने विद्युत कर्मचारीले सार्वजनिक स्थलमै घूस मागेपछि विवाद वडा प्रहरी सम्मै पुग्यो । कर्मचारीले आफुलाई दुब्र्यवहार गरेको तथा स्थानीयहरुले घूस माँगेको र क्षति विवरण संकलन नगरेको आरोप सहित वडा प्रहरीमा होम्मिए । यस दौरान शनिवार दिउँसो देखि आइतवार रात्रि समाचार तयार पार्दा सम्म लग्दहवाबासी अंध्यारोमा बस्न बाध्य थिए । आइतवार जिल्ला प्रशासन, राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला प्रहरी कार्यालय बाँके सहित मीडियालाई गुहारेका स्थानीयले विद्युत कर्मचारीको झोंकका कारण अंध्यारोमा बस्नु पर्यो । गाउँमा उत्पन्न भएको समस्या बारे विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेश कुमार झा संग कुरा गरेका राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मुरारी खरेल भन्छन्, ‘यो विद्युत कर्मचारीको नियत नै हो गाउँ अंध्यारोमा पार्ने ।’

कर्मचारी माथि भएको दुब्र्यवहार बारे न्याय प्राप्त गर्ने अन्य कानूनी बाटो भएकै बेला कुन कानूनले गाउँको विद्युत काट्ने अधिकार दियो भन्ने प्रश्नमा विद्युत प्रमुख उमेश झाले मर्मत गर्नु परेकोले विद्युत काटिएको जवाफ फर्काएको खरेलले बताए । ‘मर्मत नै गर्ने भए कति समयको लागि विद्युत के कारण काटिएको हो भन्ने कानून बमोजिम सार्वजनिक सूचना प्रकाशित गरेर मात्र विद्युत काट्नुस् भन्ने अनुरोध गरें, आयोग प्रमुख खरेल भन्छन्’, ‘तर, झाले भने कुनै पनि सूचना सार्वजनिक हुन्न, विद्युत पनि सप्लाई हुन्न ।’ स्थानीयहरुले विद्युत कर्मचारी पवनले गाली गलौज गरेपछि विवाद उत्पन्न भएको बताएका छन् । स्थानीय बासिन्दा तथा पीडित सुमित शर्माले पवनले घूस माँगेको विषयमा विवाद उत्पन्न भएपछि समूहिक गाउँलेलाई गाली गरेकोले विवाद भएको बताए ।

‘विद्युत कर्मचारीले क्षतिको विवरण संकलन गर्न नमानेपछि तार मर्मत गर्न पुगेको विद्युतको गाडी जान नदिने भन्दै गाउलेहरु गाडीका अघि पल्टिएका थिए’, स्थानीय अजय कोरीले भने, ‘विषय यति मात्रै थियो विद्युत कर्मचारीले अनावश्यक गाउँका ब्यक्तिहरुलाई धम्क्याई रकम असूलीको बहाना बनाईरहेका छन् । ’ ‘विद्युत प्रमुख उमेश झाले लाइन सुचारु नगर्ने धम्की दिएका छन्’, स्थानीयले भने, ‘त्यो धम्कीकै कारण मर्मत भएर चुस्त भएको लाइन, विद्युत पोलबाट तार नै चुडालिएको छ । यो कर्मचारीको सनकी पारा हो ।’ प्रमुख झाले भने कर्मचारीहरु भएपछि समस्या सिर्जना भएको बताएका छन् । उनले भने, ‘मर्मत गर्न समय लाग्छ, त्यसमाथि कर्मचारीमाथि हातपात भएपछि तत्कालै काम हुन सकेन ।’

‘जुत्ता हान्ने धम्की’
नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष दिपक बर्मा संग कुराकानीका क्रममा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जका प्रमुख उमेश कुमार झाले लग्दहवाका बासिन्दालाई जुत्ताले हान्ने धम्की दिएका छन् ।

‘गाउँमा विद्युतबाट उत्पन्न भएको समस्या बारे आइतबार कुरा गर्दा, प्रमुख झाले गाउँमा कर्मचारी गएका कारण केहि भएन म भएको भए जुत्ताले हान्थें भन्नु भयो’, दैनिक नेपालगन्ज संग कुरा गर्दै अध्यक्ष बर्माले भने, ‘यो कस्तो किसिमको कर्मचारी तन्त्र र ब्यवहार हो ।’ झाले भने आफुले त्यस्तो कुनै दुव्र्यवहार नगरेको बताएका छन् । लग्दहवा गाउँमा विद्युत कर्मचारी पवन र स्थानीयबासिन्दा संगको घूस सम्बन्धी विवादपछि लाइन काटेको विषयमा बुझन फोन गरेका बर्मालाई झाले, तपाई जस्तो वडा अध्यक्षको म संग कुरा गर्ने हैसियत नै नभएको प्रतिक्रिया दिएका थिए ।

कुनैपनि हालतमा विद्युत लाइन सुचारु नगर्ने अडान लिएका झालाई चुस्त पार्न अब सरोकारवालालाई गाउँलेहरुले गुहार्न थालेका छन् । २४ घण्टा भन्दा बढि समय विद्युत नहुँदा चिसो मौसममा कतिपय बृद्ध र बालबालिकालाई निकै समस्या उत्पन्न भएको पाइएको छ । ‘भएको विद्युतीय सामाग्री हाइ भोल्टेजले नष्ट भयो’, अध्यक्ष बर्माले भने, ‘लाइन सुचारु गर्नुको सट्टा तार नै काटेर विद्युत प्रमुख धम्क्याइरहेका छन् ।’ ‘कर्मचारीले न्युनतम् रुपमा कुरा गर्ने तरिका त थाहा पाउनु पर्छ’, उनले भने, ‘यो कर्मचारीको दादागिरी हो ।’ यसका लागि केन्द्रीयस्तर सम्मै पार्टीमा गुनासो दर्ज गराउने तयारी गरिएको बर्माले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया