पीडकसँगै बसेका पीडितका व्यथा

रुपा गहतराज

बेला बेलामा आफ्नै श्रीमानबाट जलाइएका महिलाहरु यतिबेला के गर्दै होलान् ? जो कसैलाई पनि चासो लाग्न सक्छ । र, विभिन्न अनुमान गर्न सकिन्छ । धेरैको अनुमान विपरित उनीहरु आफ्नो ज्यान लिनेसम्मका घटनामा मुछिएका उनी श्रीमानसँगै भेटिएका छन् । आपसी बिबाद देखि दाइजो सम्मका कारण आगजनीको शिकार बनेका पीडित महिला पीडक भनिएका श्रीमानसँगै भेटिएका हुन् ।

सम्बद्धहरुसँगका संवादबाट प्रष्ट हुन्छ, आफ्नो सिप रोजगार तथा आत्मनिर्भर हुन नसक्दा पीडाबीच पनि फर्किएर उनै श्रीमान सहित पीडक परिवारसंग बस्न बाध्य भएका हुन् । अझ अधिकांश पीडितहरु त थप उपचार नपाउँदा अझैं पीडित बनिरहेका भेटिएका छन् । परिवारमै बस्न बाध्य केहीले डर र त्रासका कारण घटना लुकाएका पनि छन् ।

बाँकेमा २०६४ साल कात्तिक २० गते आफनै श्रीमानबाट जलाइएकी परसपुर गाबिस ७ की ३० बर्षीया हासरुन इद्रीसी श्रीमानसँगै बस्दै आएकी छन । माइतीको आर्थिक अवस्था ठिक नभएपछि श्रीमान संगै बस्दै आउनु परेको उनी बताउछिन । इद्रीसि भन्छिन्, ‘माइतीको बोझ बनिरहँनु भन्दा श्रीमान संग बसें । कहिले सम्म माइतीको बोझ भएर बस्नु ?’

जलेको उनको घाउ निको भएको छैन । दायाँ घाँटीदेखि दायाँ हात जलेका कारण उनको हातले अझै पनि राम्रो संग काम गर्दैन । इद्रीसी भन्छिन्,‘हातको अप्रेसनका लागि पैसाको आवश्यकता छ ।’ तर, पैसाको अभावले अप्रेसन हुन नसकेको दुखेसो उनीसँगै छ । आत्मनिर्भर बन्न सिलाइकटाई गर्न सुरु गरेकी उनको हातले कैची चलाउन नसक्दा पसल नै बन्द गर्नुपर्यो । हास्रुनकै भनाइमा, आर्थिक अभावका कारण उनका छोरा र छोरी स्कुल जान सकेका छैनन् । महिला बिकास कार्यालयको सहयोगमा केही बर्ष निःशुल्क पढेका उनिहरुको अहिले पढाइ समेत रोकिएको छ ।

हास्रुन मात्रेै होइन, बर्दिया मोहम्मदपुर १ गणेशपुरकी ३१ बर्षीया गीता नेपाली शेषले ०७२ साउन १५ गते राति आफैलाई आगो लगाएको समाचार आयो । माइत जाने बिबादका कारण उनले आफंैलाई आगो लगाएको दावी गरिन् । अहिले पनि श्रीमानसँगै भेटिएकी गीता भन्छिन्, ‘गल्ती गरेर आफै पछुताउनु परेको छ । रिसको झाेंकमा आफैलाई जलाइयो अहिले आफैलाई दुःख भइरहेको छ ।’ आफैंलाई किन आफैले आगो लगाउँछ ? कारण बारे खुल्न नचाहेकी गिताले आफनो उपचारका लागि सहयोग गरीदिन आग्रह गरेकी छन् । श्रीमानले नै अहिले उनको उपचार खर्च जुटाउदै आएको बताएका छन् ।

आगोले कम्मर देखि माथिको भाग उनको पुरै जलेको छ । हातले अझै राम्रो संग काम गर्न सकेको छैन । ३ महिना काठमाडौमा उपचार गरेर फर्किएकी गितालाई हातको अप्रेसनका लागि डाक्टरले काठमाडांै बोलाएको छ । जानलाई पैसा छैन । आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा समस्या एकातिर छ भने अर्कोतिर राज्यबाट पाउनु पर्ने ५० हजारको रकम पनि नपाएको उनका श्रीमान नैमुद्यीन शेष बताउँछन् ।

यी त केही उदाहरण मात्र हुन् । सात महिनाकी गर्भवती लक्ष्मणपुर गाविस–८ मियापुरवाकी २१ वर्षीया रिहाना सेख ढफालीलाई २६ वर्षीय श्रीमान फरिद ढपालीले जिउँदै जलाउन खोजेको घटना पनि कहाली लाग्दो छ । २०७० चैत ३ गते पति, सास,ु ससुराले पछाडी हात बाँधेर आगो लगाएको पीडामा रिहाना अझै उपचारार्थ छिन् । अनुहार बाहेक शरिरका सम्पुर्ण अंग जलेका कारण उनको खुट्टा अझै राम्रो संग चल्दैनन् । रिहाना भन्छिन्, ‘बेलाबेला घाउ पाकेकाले हिढ्न सक्दिन । दुखाइले रातमा निंदाउन पनि गार्हो भइरहेको हुन्छ ।’

राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको उनको घटनाले प्रचार पायो तर रिहानाले न्याय भने अझै पाएकी छैनन् । एकातिर जिन्दगीभर पुग्नु घाउ बोकेर बसेकी रिहानालाई आर्थिक अवस्था कमजोरका कारण थप उपचारमा समस्या भएको छ भने आफुलाई पीडा दिनेहरु पक्राउन नपर्दा थप चिन्तित भएकी छन् । रिहाना भन्छिन्, ‘जंगलको बिचमा घर छ सधैं डर लाग्छ । आरोपीलाई प्रहरीले पक्राउ गर्न नसक्दा उनी सधैं आतंकित रहनुपरेको गुनासो पोखिन् ।’
एकतिर महिला जिउँदै जलेका घटनाहरु बढेका छन् भने घटनाको छानबिन प्रभावकारी हुन नसक्दा घटनाको
वास्तविकता समेत ओझेलमा पर्दै आएको यथार्थ अर्काे तिर छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का मध्यपश्चिम क्षेत्रीय संयोजक भोला महत जलाइएका महिलाहरुलाई तत्कालका लागि आवश्यक पर्ने उपचारको कुनै ठोस पहल नभएको बताउँछन । उनी भन्छन्, ‘यसको पहल कुनै सम्बन्धित निकाय तथा राज्यले नै गरेको छैन ।’

राष्ट्रिय मानव अधिकार आयोगका मध्यपश्चिम क्षेत्रीय निर्देशक मुरारी खरेलले पीडित आर्थिक अवस्था कमजोर तथा आत्मनिर्भर नभएका कारण उनीहरु पिडक बिरुद्ध आवाज उठाउन पछि पर्दै आएको बताउँछन् । जलाइएका महिलाहरुका लागि जिविकोपार्जनका लागि राज्यले ब्यबस्था गर्नुपर्ने खरेलको धारणा छ ।

प्रतिक्रिया

प्रतिक्रिया