कोहलपुरमा ‘सिधा अपरेसन’, ९ सुधारगृहमा, दुई कारागार चलान

कोहलपुरमा बढ्दो लागु औषध दुव्र्यसनी रोक्न प्रहरीले ‘एन्टि ड्रग्स अपरेसन’ चलाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार, केही दिनयता सम्पूर्ण सुरक्षा शक्तिलाई ‘एन्टि ड्रग्स अपरेशन’मा केन्द्रित गरिएको हो ।

 

 

‘दुव्र्यसनीका कारण नै युवाहरुको भविष्य देखि सामाजिक सुरक्षाको अवस्था समेत बिग्रेपछि यसखालको अपरेशन चलाइएको हो’, इप्रका कोहलपुरका इन्चार्ज डिएसपी गोपाल चन्द्र भट्टराईले दैनिक नेपालगन्जसग भने । डिएसपी भट्टराईका अनुसार, प्रदेश प्रहरी प्रमुख, एआइजी मधु पुडासैनीले लागु औषध दुव्र्यसनी विरुद्ध अपरेशन चलाउन विशेष जोड दिएका छन् ।

 

 

खोजी कार्यमा तिव्रता दिएको प्रहरीले पक्राउ गरेर सोझै कारवाही प्रक्रिया अगाडी बढाउने यो अपरेशनलाई ‘सिधा अपरेशन’ भनिएको छ । ‘प्रमाण सहित फेला परेकालाई कानुनी कारवाहीको दायरामा तत्काल ल्याउने गरिएको छ’, बिहीबार मात्रै दुई जनालाई अदालतको आदेशबाट कारागार पठाइएको जानकारी दिंदै डिएसपी भट्टराईले भने । भट्टराईका अनुसार, प्रमाण अपुग भएकाहरुलाई अभिभावकका जिम्मा लगाउनेदेखि सुधार गृह पठाउनेसम्मका कारवाही गरिएका छन् ।

 

 

‘बिहीबार मात्रै ९ जनालाई अभिभावक मार्फत विभिन्न सुधार गृह पठाइएको छ’, डिएसपी भट्टराईले दुई जनालाई प्रहरी हिरासतमै राखी थप अनुसन्धान कार्य अगाडी बढाइएको जानकारी दिंदै भने । प्रहरीले बिहीबार गनापुरमा ‘सिधा अपरेशन’ जनाएको थियो ।

 

 

कोहलपुर–१२ का आकाश राना र राप्तीसोनारी–९ का संजय भन्ने टेक बहादुरलाई पुर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेश बमोजिम जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ । उनीहरु ५ ग्राम ब्राउनसुगर सहित रंगेहात पक्राउ परेपछि प्रहरीले उनीहरु विरुद्ध मुद्दा चलाएको थियो । बिहीबार पनि दुई जनालाई ब्राउन सुगर सहित गनापुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया